राजेन्द्र लिङदेनले भने– ‘हामीसँग कुनै सरसल्लाह भएको छैन’
काठमाडौँ — राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्न भनेर सोमबार पञ्चायतका पुराना नेता नवराज सुवेदीको नेतृत्वमा घोषणा गरिएको जनआन्दोलन समिति प्रारम्भमै विवादित बनेको छ ।
सबै राजावादीलाई एक ठाउँमा ल्याएर आन्दोलन गर्ने उद्देश्यले सुवेदीको नेतृत्वमा समिति गठन गरिएको हो । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले त्यसप्रति असहमति प्रकट गरेका छन् ।
‘संयुक्त जनआन्दोलन समिति घोषणा भएको मैले पनि समाचारबाट थाहा पाएको छु, म त्यहाँ उपस्थित छैन । हामीसँग त्यसबारे सरसल्लाह पनि गरिएको छैन,’ कान्तिपुरसँग लिङदेनले भने, ‘राजसंस्था मान्नेहरूको बैठक गरौं भन्ने खबर आएपछि प्रतिनिधि पठाएका थियौं । तर, हाम्रा प्रतिनिधिसँग पनि सरसल्लाह नगरी समिति घोषणा गरिएछ । सोधिएन, एकैचोटि घोषणा भयो ।’
आफूलाई थाह नभएको समितिमा बस्ने कुरा नहुने उनले बताए । पूर्वपञ्च सुवेदी नेतृत्वको समितिमा लिङदेनलाई पनि सदस्य राखिएको छ ।
