काठमाडौँ — सोमबार कान्तिपुरमा पूर्वविशिष्टलाई सुविधा बढाउने विधेयकबाट गृह मन्त्रालय पछि हटेकोदेखि अमेरिकी आक्रमणमा यमनमा ५ बालबालिकासहित ५३ जना मारिएको समाचार प्रकाशित भएको छ । पूर्वविशिष्ट पदाधिकारीलाई सेवा र सुविधा बढाउने गरी विधेयक ल्याउन लागेको गृह मन्त्रालय सर्वत्र विरोधपछि रोकिएको छ ।
पूर्वविशिष्ट पदाधिकारीमध्ये पूर्वराष्ट्रपति, उपराष्ट्रपति र पूर्वप्रधानमन्त्रीको हकमा केही आर्थिक सुविधा बढाउने गरी विधेयक ल्याउन गृह मन्त्राय आन्तरिक तयारीमा जुटेको थियो । विधेयक अघि बढाउने विषयमा मन्त्रिपरिषद्बाट स्वीकृति लिइसके पनि कति सेवा र सुविधा दिने भन्नेबारे आन्तरिक छलफलमै रहेका समाचार सार्वजनिक हुन थालेपछि राजनीतिक दल र नागरिक समाजबाट तीव्र विरोध भएको थियो ।
त्यसैगरी संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई वटा आयोगका पदाधिकारी नियुक्तिमा कांग्रेस, एमाले र माओवादीबीच भागबन्डाको तयारी गरिएको छ । संक्रमणकालीन न्यायको अवरुद्ध प्रक्रियालाई तत्काल अघि बढाउन सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी आयोगमा तीन दलबीच भागबन्डा गरिएको हो । कांग्रेस र एमालेबीच समझदारी भइसकेको यस विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहमत हुनसाथ नियुक्ति प्रक्रिया अघि बढाइने बालुवाटार स्रोतले बतायो ।
'नो केबलकार' समूह र सरकारी वार्ता टोलीबीच उच्चस्तरको छलफलका लागि पहल गर्ने सहमति गर्दै आज काठमाडौंमा भएको वार्ता सकिएको छ । सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आफूहरुले पनि उच्चस्तरको लागि पहल गर्ने र आन्दोलनरत समूहले पनि उच्चस्तरको समिति बनाउने सहमति भएको बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकनका लागि समिति गठन गर्न भन्दै इच्छुक चार्टर्ड एकाउन्टेन्टबाट आशयपत्र दर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ । स्मार्टको अनुमतिपत्र २०८० वैशाखमै खारेज भए पनि प्राधिकरणले दुई वर्ष भइसक्दा पनि यसको सम्पत्ति व्यवस्थापन तथा मूल्यांकन प्रक्रिया अघि बढाउन सकेको छैन । आवश्यक योग्यता पुगेका विशेषज्ञहरू प्राप्त नभएको भन्दै प्राधिकरणले पटक–पटक आवेदन आह्वान गर्दै आएको छ ।
त्यस्तै अमेरिकाले लाल सागरमा पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको यमनस्थित हुथीविरूद्धको कारबाही तीव्र पारेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार आफ्ना सेनाले हुथी विद्रोही समूहका अल जौफ र हुदैदाह क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ । अमेरिकाले आइतबार र सोमबार गरेका आक्रमणमा ५३ जनाको ज्यान गएको छ ।
