काठमाडौँ — प्रवेशद्वारमै विद्यार्थी संगठनले ताल्चा लगाएपछि त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन नहुने भएको छ । नेविसंघले क्याम्पस छिर्ने ढोकामै ताल्चा लगाएपछि मंगलबारका लागि तय भएको निर्वाचन स्थगित भएको हो ।
निर्वाचन अधिकृत अंगदमणि गौतमले एक सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएका छन् । '...सम्पूर्ण तयारी पूरा भएर पनि क्याम्पस प्रवेश गर्ने मुख्यद्वारमै तालाबन्दी भएर प्रतिकूल परिस्थिति सिर्जना भएकाले सबै उम्मेदवार प्रतिनिधिहरूसँगको छलफल र परामर्शमा अर्को मिति तय गर्नेगरी २०८१/१२/०५ गतेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरिएको व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,' सूचनामा भनिएको छ । स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा त्रिचन्द्र क्याम्पसको प्रवेश ढोकामा नै नेविसंघले ताला लगाएको हो ।
ताला लगाउने नेविसंघबाट स्ववियुका उम्मेदवार रहेका छन् । नेविसंघबाट स्ववियु सभापति पदका उम्मेदवार विवेक बानियाँ समूहले क्याम्पसमा ताला लगाएको हो । स्ववियु निर्वाचन समितिले आफ्ना माग नजरअन्दाज गरेको र बैठकमा सहभागी नगराएको आरोप ताला लगाउने पक्षको छ ।
