सहकारी सञ्चालक जेलमै राखिए बचत फिर्ता हुन्न : थापा

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

Savings will not be returned if cooperative operators are kept in jail: Thapa

काठमाडौँ — सहकारी संचालकलाई जेल, हिरासत, थुना र पूर्पक्षमा राखेर बचतकर्ताको रकम फिर्ता गर्न कठिन हुने एमाले सांसद सूर्य थापाले बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद थापाले विभिन्न शर्त राखेर सञ्चालकहरूलाई सहकारी चलाउने वातावरण बनाउनुपर्ने प्रस्ताव राखेका हुन् । 

सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै थापाले सहकारी सञ्चालकलाई ऋण असुली गर्ने र बचत फिर्ता गराउनका लागि थुनामुक्त गराउनुपर्ने धारणा राखेका हुन् । ‘अहिले मुद्दा मामलामा जेलमा, थुनामा, पूर्वपक्षमा रहेका व्यक्तिहरूलाई यही स्थितिमा राखेर बचतकर्ताको बचत फिर्ता हुन्न,' थापाले भने ।

सहकारी ठगीको छानबिन गर्न गठित प्रतिनिधिसभाको संसदीय समितिका संयोजकसमेत रहेका थापाले राम्रो प्राणाली बनाउन खोज्दाखोज्दै संसदीय समितिले गरेको सिफारिसलाई जायज रुपमा आत्मसाथ नगरिएको हो कि भन्ने अनुभूति भएको बताए ।  

जेल, थुना वा हिरासतमा रहेका सहकारी संचालकलाई बचत फिर्ता गर्नका लागि समय दिनुपर्ने र त्यसका लागि थुनामुक्त गर्नुपर्ने थापाको भनाइ थियो । त्यसका लागि सहकारीका सञ्चालकको राहदानी रोक्नुपर्ने,  एकाघरका सदस्यसमेतको नाममा रहेको अचल सम्पत्ति र बैंक खाता रोक्का गर्नुपर्ने, यात्रा अनुमती रोक्का राख्नुपर्ने, सहकारीको मुख्य कार्यालय रहेको सहर बाहिर जानुपर्दा  अनुमति लिनुपर्ने लगायतका कानुनी व्यवस्था राख्नुपर्ने उनले बताए ।

सहकारीको कार्यालय नियमित खोल्नुपर्ने र हरेक तीन महिनामा बचतकर्ताको बचर्त फिर्ता विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था गर्नका लागि उनले सुझाए । त्यस्तो अवस्थामा अदालतमा मुद्दा विचाराधीन भए धरौटी लिई वा नलिई थुनामुक्त गर्ने र सहकारी संचालन गर्न दिनुपर्ने थापाको भनाइ थियो ।  

कान्तिपुर

Link copied successfully