काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक निशा डाँगीले सरकारले डिजिटल कारोबारलाई नि:शुल्क बनाउने प्रतिबद्धता पूरा नगरेको बताएकी छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिकरुपमै प्रतिबद्धता जनाएपनि त्यसको कार्यान्वयन नगरेको बताइन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, 'डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा मैले यसअघि ३ पटक सदनमा उठाएँ, आज चौँथो पटक हुँदैछ, यस विषयमा अर्थमन्त्रीज्यूलाई ध्यानाकर्षण पत्र बुझाएँ, तर कुनै जवाफ आएको छैन ।'
उनले सात महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नै सामाजिक सञ्जालमार्फत डिजिटल कारोबारलाई निःशुल्क बनाउने भनेर लेखेको, तर अहिलेसम्म पनि त्यसको कार्यान्वयन नगरेको बताइन्।
'सरकार आफ्नै वचनको मूल्य बुझ्दैन ? संसद्मा बारम्बार उठाइएको विषयलाई वेवास्ता गरिन्छ ? सरकारको आश्वासनलाई जनताले गम्भीर रूपमा लिन्छन्, तर सरकारले सुन्दै नसुनेझेँ गर्छ। प्रधानमन्त्रीज्यूले फेसबुकमा लेखेको कुरा केवल लाइक, शेयर र कमेन्ट कमाउनका लागि थियो कि वास्तवमै कार्यान्वयन गर्ने प्रतिबद्धता थियो ?,' सांसद् डाँगीको प्रश्न छ।
