'परिवर्तनकारी शक्तिले देशलाई अगाडि बढाउन नसक्दा प्रतिगमनकारी शक्ति सडकमा बलियो गरी आउन थाले'
काठमाडौँ — कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले परिवर्तनकारी शक्तिले देशलाई अगाडि बढाउन साझा नीति बनाएर काम गर्न नसक्दाको परिणाम पुनर्उत्थानवादी र प्रतिगमनकारी शक्ति सडकमा बलियो गरी आउन थालेको बताएका छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले सबै मिलेर ल्याएको संविधान र शासकीय संचनालाई प्रभावकारी ढंगले कार्यन्वयनमा लैजानमा कहाँ चुक भयो भन्ने सन्दर्भमा गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए ।
‘सबै मिलेर संविधान बनायौं । तर, त्यसयताका समयमा राजनीतिक दल अलमलिएको जस्तो भयो । मिलेर देशलाई अगाडि बढाउन चुक्यौं । मिलेर जानुको अर्थ सबै सत्तामै बस्नुपर्छ भन्ने होइन,’ उनले भने, ‘राष्ट्रलाई अगाडि बढाउन मुलभूत एजेन्डामा सहमति हो । जसको नेतृत्वमा सरकार भए पनि तय भएको साझा एजेन्डालाई नछाड्ने हो ।’ परराष्ट्र नीति, जनताको शिक्षा र स्वास्थ्यका नीतिमा दलहरू एकमत हुन नसकेको उनको भनाइ थियो ।
परिवर्तनका पक्षधर राजनीतिक दलहरू दृढ संकल्पका साथ जनताको अधिकारको पक्षमा एक भएर उभिने बेला आएको सिटौलाले बताए । ‘राजनीतिमा नयाँ तरंग उठ्न खोजेको छ । राजा आउँछ भन्ने सन्देश दिएर सर्वसाधारण जनतालाई भड्काउने काम भइरहेको छ,’ उनले भने, ‘त्यसविरुद्ध हामी परिवर्तनकारी दलको जुन दृढता देखिुनपर्ने हो, त्यो देखिराख्या छैन ।’ संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था ल्याउने सबै शक्ति अब एक ठाउँमा आउनुपर्नेमा उनले जोड दिए ।
‘प्रधानमन्त्रीको प्रतिनिधि भएर म स्वयंसमेतले तत्कालीन राजासँग एक घण्टा वार्ता गरेर निवास र सुरक्षाको ग्यारेन्टी गरेर सम्मानसाथ नारायणहिटीबाट बिदा गरेका हौं,’ सिटौलाले भने, ‘अहिले आएर मैले केही गर्छु भन्नु र गाडीमा ताली खाँदै हिँड्ने व्यवहार शोभनीय भएन । बाहिर पठाएर राजालाई जुन सम्मान दिएका छौं, त्यो सम्मानलाई उहाँले ग्रहण गरिराख्नु उचित हुन्छ ।’ त्यो भन्दा फरक चाहना भए अन्य राजनीतिक दलजस्तै आफ्नो नीति कार्यक्रम लिएर राजनीतिक खेलाडीका रूपमा जनतासमक्ष प्रस्तुत हुन सक्नुपर्ने उनको भनाइ थियो ।
संविधान निर्माणपछि आलोपालो भएर सरकारको नेतृत्व गरेको कांग्रेस, एमाले र माओवादीले संविधानको कार्यान्वयनबाट जनतालाई के कति उपलब्धि दिन सकेर भनेर समीक्षा गर्नुपर्ने उनले बताए । ‘जनता किन लाभान्वित हुन सकेनन् ? राज्य सञ्चालनको त्रुटिका कारणले हो वा संविधानमै केही कमजोरी छ, त्यसको गम्भीर निर्मम समीक्षा गर्नुबेला आएको छ,’ उनले भने, ‘जनताको हितमा आवश्यक छ भने संविधान संशोधन गर्न पनि तयार हुनुपर्छ ।’
संविधानले धेरै विषयको व्यवस्था गरे पनि आज ‘पपुलिस्ट’ कुरा बढी हुन थालेको भन्दै उनले त्यस्ता कुरा गरेर ताली खान सजिलो भएको उनले टिप्पणी गरे ।
शान्ति प्रक्रियाको काम नटुंगिएकामा पनि उनले रोष प्रकट गरे । ‘१० वर्ष युद्ध भयो । त्योभन्दा बढी अवधि भइसक्यो मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेको,’ उनले भने, ‘अझ कति लम्ब्याउने ? टार्दैटार्दै लग्यो भने क्रोनिक हुन पुग्छ । सत्तापक्ष र विपक्षी माओवादीलाई आग्रह गर्न चाहन्छु- द्वन्द्वपीडितलाई छिटो न्याय दिलाऔं ।’
