काठमाडौँ — नेकपा (माओवादी केन्द्र) की सांसद विमला सुवेदीले सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु असफल सिद्ध भइसकेको टिप्पणी गरेकी छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवेदीले सरकार आफैंले गरेको मूल्याङ्कनमा असफल भएको टिप्पणी गरेकी हुन् । उनले सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएको आरोप समेत लगाइन् ।
उनले सरकार विद्युत प्राधिकरणको कर्मचारीको पछिपछि दौडिरहेको र केबलकार निर्माणका विषयमा आन्दोलन गरिरहेका पक्षलाई दमन गरेर मानव अधिकारको धज्जी उडाइरहेको तथा व्यापारीको पक्षपोषण गरिरहेको आरोपसमेत लगाइन् ।
सरकारमा रहेका नेता र तिनका परिवार जोडिएका काण्डहरुमा छानबिन नगरी सत्ताको चरम दुरुपयोग गरिएको उनको भनाइ छ । आफ्नालाई छानि छानि जोगाउन र विपक्षीलाई तानितानि फसाउने सरकारको हर्कतका कारण नागरिकहरुमा निराशा छाएको टिप्पणी गरिन् ।
उनले भनिन्, ‘रातारात गठन गरेर मुलुकलाई रामराज्य बनाउन लागेको सरकार आफैंले गरेको मूल्याङ्कनमा फेल भएको छ । प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरु असफल सिद्ध भएका छन् । सरकार आफ्नो जिम्मेवारीबाट च्यूत भएको छ । आफ्नालाई छानि छानि जोगाउन र विपक्षीलाई तानि तानि फसाउने हर्कतका कारण नागरिकहरुमा निराशा छाएको छ ।’
उनले सरकारले उत्पन्न गरेको निराशामै टेकेर राजावादीहरु व्यवस्थाको विरुद्धमा लागेका आरोप लगाइन् ।
