केएसएलका निर्देशक संग्रौलामाथि दुर्व्यवहारको आरोप : छानबिन समिति गठन

एक छात्राले कलेजका कार्यकारी निर्देशक युवराज संग्रौलाले दुर्व्यवहार गरेको आरोप लगाएपछि अन्य ३२ जना विद्यार्थीले पनि आफूमाथि दुर्व्यवहार भएको बताएका छन् ।

चैत्र ३, २०८१

कान्तिपुर संवाददाता

Allegations of misconduct against KSL director Sangraula: Inquiry committee formed

काठमाडौँ — काठमाडौं स्कुल अफ ल (केएसएल) मा अध्ययनरत विधार्थीले आफूमाथि दुर्व्यवहार भएको, मौखिक दुर्व्यवहार गरिएको र यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरूप्रति कलेज अनुदार रहेको आरोप लगाएका छन् । २४ फागुनमा केएसएलकी एक विद्यार्थीले तीन महिनाअघि आफूले कलेजमा यौन दुर्व्यवहार गरिएको घटनाबारे उजुरी दर्ता गराएकी थिइन् ।

तर उक्त घटनाबारे कलेजले मौनता साधेको भन्दै उनले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरिन् । त्यसपछि केएसएलका अरु विद्यार्थीले पनि आफूहरू पनि त्यस्तै खालको दुर्व्यवहारका पीडित भएको भन्दै सार्वजनिक गर्न थालेका छन् ।

दुर्व्यवहारमा परेकी ती छात्राले ५ डिसेम्बर २०२४ मा आफूले कलेजमा निवेदन दिएको बताएकी छिन् । उनले महिला र लैंगिक अल्पसंख्यकमाथि कलेजमा दुर्व्यवहार हुने गरेको खुलाउँदै कार्यकारी निर्देशक तथा पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौला नै यसमा जिम्मेवार रहेकोसमेत बताएकी छिन् । उनले स्टाटस लेखेपछि त्यहीँ पढेका विद्यार्थीहरूले पनि त्यस्तैखालको दुर्व्यवहारको सामना गरेको बताएका हुन् ।

फागुन २७ मा केएसएलले विज्ञप्ति जारी गर्दै कुनै पनि खालका भेदभाव, उत्पीडन तथा दुर्व्यवहारका विषयमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आइरहेको बताएको थियो । कलेजको आन्तरिक उजुरी तथा गुनासा समितिका सदस्य सचिव लक्ष्मी सापकोटाको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ,  'यस विषयमा हेर्न स्वतन्त्र छानबिन समिति गठन गर्ने प्रक्रियासमेत अघि बढिसकेको छ ।' आइतबार काठमाडौं पोस्टसँगको कुराकानीमा भने संग्रौलाले आफू मिडियामा स्पष्ट रूपमा बोल्ने मान्छे भएको र आफ्नो कुराले कसैलाई केही भएकै कारण बदला लिन यस्तो आरोप लगाइएको बताएका प्रतिक्रिया दिएका थिए ।

कानुनका विद्यार्थीले चलाउने फेसबुक पेज लयर्स रुम रिलोडेड (एलआरआर) ले केएसलमा पढेका र त्यहाँ पढ्दा भोगेको उत्पीडन, दुर्व्यवहार र अन्य प्रकारका गलत व्यवहारबारे अनुभव साझा गर्नका निम्ति गुगल फर्म नै सार्वजनिक गरेको छ । जसमा आफ्नो परिचय गोप्य राखेर आफूले भोगेको दुर्व्यवहारहरूको कथा बताउन सकिनेछ । जसमा ३२ जनाले केएसएल पढ्दा आफूले भोगेको दुर्व्यवहार र हिंसाका घटना उल्लेख गरेका छन् । 

यस घटनाबारे ऐक्यबद्धता जनाउँदै सन् २००५ यता त्यहाँ पढेका १०३ जना पूर्वविद्यार्थीले आफ्नो परिचयसहित र ४७ जनाले परिचय गोप्य राख्ने सर्तमा हस्ताक्षरसहितको विज्ञप्ति जारी गरेका छन् । जसमा उनीहरूले हालै एक विद्यार्थीले कलेजभित्र हुने दुर्व्यवहार, यौन उत्पीडनबारे खुलेर आवाज उठाउने साहस देखाएको भन्दै उनले अघि सारेका मुद्दाहरू ऐक्यबद्धता जनाउने बताएका छन् । उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अपमानजन्य, हेपाइजन्य र यौनजन्य टिप्पणीका अलवा यौन तथा लैंगिक अल्पसंख्यकविरुद्धका अभिव्यक्ति र व्यवहारहरू कुनै पनि संस्थामा स्वीकार्य हुन सक्दैन । ती छात्राले उठाएको आवाज व्यक्तिगत प्रतिरोध मात्रै नभएर न्याय, समानता र पारदर्शीतामा विश्वास राख्ने सबैको आह्वान हो ।'

एक विद्यार्थीले आफूले पनि लैंगिक अल्पसंख्यकमाथि संग्रौलाको दृष्टिकोण अनुदार भएको बताएकी छिन् । यस घटनाले केएसएलमा पहिलो वर्ष पढ्दाको १० दिने आवासीय क्याम्पको सम्झना गराइदियो भन्दै फेसबुकमा उनले लेखेकी छिन्, 'त्यो कक्षामा युवराज सरले सोध्नुभयो- तपाईंहरूमध्ये कतिले लैंगिक तथा यौनिक अल्पसंख्यको अधिकारलाई सर्मथन गर्नुहुन्छ ?' विद्यार्थीहरूले लैंगिक अल्पसंख्यकहरूको मुद्दामा समर्थन गर्ने बताए । त्यसपछि संग्रौलाले अनुदार र घृणित उत्तर दिएको पनि ती विद्यार्थीको भनाइ छ । 

आइतबार केएसएलले पत्रकार सम्मेलन गर्दै घटना अनुसन्धान गर्नका लागि 'स्वतन्त्र' छानबिन समिति गठन गरेको जनाएको छ । १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी पूर्व जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको अध्यक्षतामा पत्रकार तीर्थ कोइराला र लैंगिक विभेद विज्ञ सीमा धामीसम्मिलित ३ सदस्यीय छानबिन समिति गठन गरिएको हो । छानबिन चलुन्जेल निर्देशक संग्रौला कलेजको प्रशासनिक र अन्य कामबाट निष्क्रिय रहने पनि केएसएले जनाएको छ । 

केएसएल एलुम्नाईमा आबद्ध एक विद्यार्थीले छानबिन समिति बनेर मात्रै न्याय पाइनेमा आफूहरू ढुक्क नभएको प्रतिक्रिया दिएका छन् । विगतमा कलेजभित्र रहेको आन्तरिक छानबिन समितिले काम गर्न नसकेको र र यस्तै नयाँ घटना आयो भने कलेजले कसरी हेर्छ ? पीडितले कति दिनभित्र न्याय पाउँछ ?  यस्ता घटनामा कलेजको नीति के हो ? भन्नेमा कलेजले प्रस्ट पार्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘मुख्य आरोपितलाई निलम्बन नगरिकन सुरु गरिएको अनुसन्धानले कसरी न्याय दिने बाटो खोल्ला ?’

कान्तिपुर

Link copied successfully