नागरिक अगुवासँग समाजवादी मोर्चाको संवाद : दलहरूलाई सच्चिन सुझाव

प्रमुख राजनीतिक दलका कारण असन्तोष बढेको भन्दै दलहरू सच्चिएर राम्रो काम गरे गणतन्त्र संस्थागत हुने विज्ञको भनाइ

चैत्र ३, २०८१

कान्तिपुर संवाददाता

Dialogue of the Samajwadi Morcha with the civic leader: A sincere suggestion to the parties

काठमाडौँ — संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन पहिले दलहरू सच्चिनुपर्ने विज्ञले सुझाव दिएका छन् । समाजवादी मोर्चाले शनिबार ललितपुरमा बुद्धिजीवी र नागरिक समाजसँग गरेको अन्तर्क्रियामा उनीहरूले सर्वसाधारणको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने गरी भूमिका निर्वाह गर्न सुझाव दिएका हुन् ।

माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी र नेपाल कम्युनिस्ट पार्टीको साझा मोर्चाले चैत १५ मा सरकार र राजावादीको गतिविधिको विरोध कार्यक्रम गर्नुअघि अन्तर्क्रिया गरी सुझाव लिएको हो । अन्तर्क्रियामा पूर्वआयुक्त, कानुनविद्, पूर्वराजदूत र नागरिक समाजका प्रतिनिधि सहभागी थिए । 

लोकतन्त्र ल्याउन भूमिका निर्वाह गरेका दलहरू पटकपटक सरकारमा गए पनि आम मानिसको जीवनस्तरमा सकारात्मक प्रभाव पार्न चुकेको विज्ञहरूको भनाइ थियो, जसका कारण जनतामा निराशा र आक्रोश बढ्दै गएको जनाएका थिए । राजनीतिक दलकै कारण राजावादीको गतिविधि बढ्दै गएको उल्लेख गर्दै विज्ञले त्यसको प्रतिक्रिया दिनुभन्दा सरकार र बाहिर रहेर राम्रो काम गर्न सुझाव दिएका हुन् । 

निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले राजावादीलाई गाली गर्नुभन्दा आफैं सच्चिन सुझाव दिए । प्रमुख राजनीतिक दलको कारण असन्तोष र आक्रोश बढेको भन्दै दलहरू सच्चिएर राम्रो काम गरे गणतन्त्र संस्थागत हुने बताए । ‘राजावादीलाई गाली गर्नुभन्दा गणतन्त्रवादी आफू सच्चिनुपर्‍यो,’ उनले भने, ‘नेपालमा प्रत्येक १० वर्षमा आन्दोलन हुने गरेको छ । पटकपटक सरकारका गएका दलहरूले राम्रो काम गर्न सकेको भए यो असन्तुष्टि बढ्ने थिएन ।’ 

उनले अब मुलुकलाई पछाडि फर्कनबाट रोक्न प्रमुख नेताको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै युवा पुस्तालाई नेतृत्वका लागि अघि सार्न सुझाव दिए ।

Dialogue of the Samajwadi Morcha with the civic leader: A sincere suggestion to the parties

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले विश्वभरि नै दक्षिणपन्थीको लहर आएका बेला त्यसको केही प्रभाव पर्नु स्वाभाविक भएको उल्लेख गर्दै आवश्यक परे प्रमुख दलबीच सहमति हुनुपर्ने सुझाव दिए । अर्का पूर्वराजदूत महेश मास्केले राजनीतिक दल पटकपटक सरकारमा जाने तर कार्यसम्पादनमा कमजोर भएकाले त्यसको प्रभाव समाजमा परेको उल्लेख गरे । ‘जुलुसविरुद्ध जुलुस निकालेर केही हुन्न । वामपन्थी मिलेर अघि बढे परिस्थिति आफ्नो अनुकूलतामा आउँछ,’ उनले भने । 

कानुनविद् गोविन्द बन्दीले राजनीतिक उपलब्धिलाई संस्थागत गर्न दलहरू चुकेकाले यो व्यवस्थाविरुद्ध प्रश्न उठ्ने अवस्था आएको बताए । अर्का कानुनविद् चन्द्रकान्त ज्ञवालीले आत्मनिर्भर हुने समाजवादी कार्यक्रम ल्याउन दलहरूले श्वेतपत्र जारी गर्नुपर्ने बताए । संघीयताविज्ञ खिमलाल देवकोटाले राजनीतिक दलले आफ्नो काम गर्न छाडेर पूर्वराजावादीलाई महत्त्व दिएको बताए । ‘राजावादीको प्रदर्शनलाई महत्त्व दिन जरुरी थियो र ? राजनीतिक दलले हालसम्म के गरे ? आत्मसमीक्षा गरेर सच्चिनुपर्छ,’ उनले थपे, ‘समाजवादको पक्षमा गर्न सकिने काम इमानपूर्वक गर्नुपर्छ ।’ पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक दलले सत्ताका लागि आफ्ना प्रतिबद्धताहरू भुलेकाले राजावादी शक्ति सलबलाएको बताए ।

आर्थिक विश्लेषक चन्द्रमणि अधिकारीले सरकार राम्रो काम गर्न चुकेका कारण निराशा बढ्नु स्वाभाविक भएको टिप्पणी गरे । ‘युवा पुस्ताले राजाको शासन देखेकै थिएन । त्यसबेला कस्तो थियो पढाउने काम पनि भएन,’ उनले भने, ‘पछिल्लो पुस्तासँग काम र दाम छैन । त्यसैले राजतन्त्र ठीक थियो कि भन्ने भयो । नयाँ पुस्तालाई तथ्यमा आधारित भएर पढाउनुपर्‍यो ।’ राष्ट्रिय मानवअधिकार आयोगका पूर्वआयुक्त मोहना अन्सारीले प्रतिपक्षको भूमिका कमजोर देखिएको उल्लेख गर्दै प्रतिपक्षले आफ्ना कार्यक्रम सत्ताको भर्‍याङका लागि नबनाउन आग्रह गरिन् ।

सुझावपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा र आफ्नो पार्टी विगतको समीक्षा गरेर सच्चिने बताएका थिए । ‘मोर्चा र माओवादीले आत्मसमीक्षा गरिरहेका छौं । विगतमा कमजोरी भयो भनेर जनताका बीचमा भन्दै आएका छौं,’ उनले भनाइ थियो, ‘आगामी कार्यभारबारे जनतालाई भन्नुपर्छ भनेर प्रदर्शन राखेका हौं । गणतन्त्रवादीहरू मैदानमा पनि छन् भन्ने सन्देश दिन खोजेको हो ।’ उनले कहिले कांग्रेस, कहिले एमालेसँग गठबन्धन गर्नु कमजोरी भएको उल्लेख गर्दै अब त्यतातिर नलाग्ने दाबी गरे । संविधान जारी भएको १० वर्ष पूरा भएकाले त्यसको समीक्षा गर्नुपर्ने बेला भएको बताए । 

नेपालमा मौलिक खालको समाजवादको अवधारणा अगाडि सार्नुपर्ने एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको भनाइ थियो । ‘नेपाली विशेषताको समाजवादका बारेमा छलफल चलाइरहेका छौं । व्यवस्था बदल्न चाहनेहरू प्रतिगमनतिर हैन अग्रगमनतिर आउनुस् । वंशको शासनको कुरा छोडिदिनु तिनीहरूले न त्याग, न बलिदान, न तपस्या गरेका छन् । देशलाई लुट्न मात्रै जानेका छन्,’ उनले भने ।

मोर्चाले अन्तर्क्रियापछि विज्ञप्ति जारी गरी गणतन्त्रको रक्षाका लागि अघि बढ्ने निर्णय गरेको जनाएको छ । ‘गणतन्त्रका विरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्त्वहरू लागिपरेका छन्,’ मोर्चाले भनेको छ, ‘यसको सशक्त प्रतिवाद गर्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ ।’ विज्ञप्तिमा सरकारका कारण आम मानिसमा निराशा बढेको आरोप लगाउँदै मोर्चाले आन्दोलनको आवश्यकता भएको उल्लेख गरेको छ ।

कान्तिपुर

Link copied successfully