राजतन्त्र पुन:स्थापना हुनुपर्छ भन्नेलाई सांसद पन्तको प्रश्न : किन शाह वंशकै राजतन्त्र चाहियो ? योभन्दा अघिको मल्ल वंश नल्याउने, तिनको पनि हक लाग्ला । त्योभन्दा अगाडिका लिच्छवी र किरात किन नल्याउने ? त्योभन्दा अघिका गोपालवंशी र महिशपाल वंशले किन पुनःस्थापनाको कुरा नगर्ने ?
काठमाडौँ — एमाले सांसद रघुजी पन्तले संसद्भित्र राजतन्त्रका विषयमा छलफल गर्न नपाइने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद पन्तले वर्तमान संविधानले गणतन्त्रलाई आत्मसात गरेकाले राजतन्त्र नचिन्ने बताएका हुन्।
नेपालको इतिहासमा मल्ल, किरात, लिच्छवी वंशलगायतको राजतन्त्र भएको भन्दै अहिले पुनःस्थापनाका लागि किन शाह वंशको कुरा गरेको भन्दै उनले प्रश्नसमेत गरे ।
सांसद पन्तले जनभावनाअनुसार अगाडि बढ्ने व्यवस्था नै लोकतन्त्र भएकाले सरकारले जनताको चासो र भावनालाई तत्काल सम्बोधन गर्नुपर्नेसमेत बताए ।
के भने सांसद पन्तले ?
अहिलेको संविधानले राजतन्त्र चिन्दैन, त्यसैले त्यो विषयमा संसद्भित्र छलफल गर्न पाइँदैन, त्यसले गणतन्त्र मात्रै चिन्छ । राजतन्त्र इतिहासको विषय भइसक्यो । संसारमा धेरै राजतन्त्र इतिहासको विषय हुन्छन् किनभने राजतन्त्र भनेको विशेष अधिकार हो । त्यसैले संसारको राजनीतिको प्रवाह गणतन्त्र हो । नेपालमा गणतन्त्र आउनु पर्थ्यो आयो, अब पुनःस्थापना भन्नेहरूलाई सोधौँ न, किन शाह वंशकै राजतन्त्र चाहियो ? योभन्दा अघिको मल्ल वंश नल्याउने तिनको पनि हक लाग्ला । त्योभन्दा अगाडिका लिच्छवी र किरात किन नल्याउने ? त्योभन्दा अघिका गोपालवंशी र महिशपाल वंशले किन पुनःस्थापनाको कुरा नगर्ने ? कुन राजतन्त्रको कुरा ? संसारको इतिहासमा थुप्रै राजतन्त्र आउँछन् जान्छन् यो समयको प्रवाह हो । गणतन्त्र आजको युगको सत्य हो ।
