उपकुलपति सिफारिस नभएपछि केयूले डाक्यो विशेष सिनेट

पूर्वउपकुलपति सुरेशराज शर्मा संयोजकत्वको समितिले गत फागुन ३ मा उम्मेदवारसँग अन्तर्वार्ता लिइसके पनि एक महिनासम्म ३ जनाको नाम सिफारिस गर्न सकेको छैन

चैत्र ३, २०८१

सुदीप कैनी

After the vice chancellor did not recommend, KU sent a special senate

काठमाडौँ — उपकुलपति खोज तथा सिफारिस समितिले काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिको नाम सिफारिस गर्न नसकेपछि विशेष सभा (सिनेट) डाकिएको छ । सोमबारका लागि सिनेट बैठक बोलाइएको हो ।

सिनेट बैठकले नै पूर्वउपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिले गत फागुन ३ मा उम्मेदवारसँग अन्तर्वार्ता लिइसके पनि एक महिनासम्म प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई ३ जनाको नाम सिफारिस गर्न सकेको छैन । ‘केयूको सिफारिस समितिलाई उम्मेदवारको प्राप्ताङ्कसहित कुलपतिसमक्ष प्रतिवेदन ल्याउन दिएको समय सकियो । समितिभित्र समझदारी नभएर ल्याउन नसकेको बुझिएको छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘अब के गर्ने भनेर सिनेटमा नै छलफल गर्न लागिएको हो ।’ 

प्रधानमन्त्री कार्यालयले फागुन तेस्रो साताभित्र नाम सिफारिस गर्न समयसीमा दिए पनि उम्मेदवारको नामावली प्राप्त हुन नसकेको जनाएको छ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीसँग सिनेट बैठक डाक्ने विषयमा छलफल भएको केयूका निमित्त उपकुलपति अच्युत वाग्लेले बताए । ‘सकभर सिफारिस समितिबाट टुंगो लगाउने प्रयास गरौं । नभए सिनेट बैठकबाट एउटा निर्णयमा पुगौं भन्ने कुराकानी प्रधानमन्त्रीसँग भएको छ,’ उनले भने ।

माघ पहिलो सातादेखि उपकुलपति नहुँदा केयूमा कार्यकारी परिषद्समेत पूर्ण छैन । कार्यकारी परिषद्ले पूर्णता नपाएका कारण विशेष सिनेटमा अन्य एजेन्डा हुने सम्भावनासमेत नरहेको वाग्लेले जनाए । प्रधानमन्त्री कार्यालयमा सोमबारका लागि डाकिएको बैठकमा उपकुलपति सिफारिस किन हुन सकेन र छनोट समिति रद्द गरेर अर्को समिति गठन गरी अघि बढ्न सकिने सम्भावना लगायत विषयमा सिनेटरबीच छलफल हुनेछ । 

उपकुलपतिमा आवेदन दिएका उम्मेदवारसहित केयूका प्राध्यापकले शीघ्र नाम सिफारिस गर्न आग्रह गर्दै आएका छन् । उपकुलपति खोज तथा सिफारिसका लागि जारी कार्यविधिमा उच्च अंक प्राप्त गर्ने ३ जनाको नाम सिफारिस गर्ने र तीमध्ये १ जनालाई कुलपतिले नियुक्ति गर्ने व्यवस्था छ । कार्यविधिअनुसार समितिले दरखास्त आह्वान गरी उपकुलपतिको खोज र सिफारिसको प्रक्रिया अघि बढाएको थियो । जसमा २० जना प्राध्यापकले आवेदन दिएका थिए । 

तीमध्ये ३० पूर्णाङ्कमा मूल्यांकन गरेर १० जनाको सस्टलिस्ट गरिएको थियो । १० जनाको सूचीमा पूर्वउपकुलपति भोला थापा, निमित्त उपकुलपति अच्युत वाग्ले, पूर्वरजिस्ट्रार सुबोध शर्मा, पूर्वडिन राजेन्द्र कोजू, पूर्वडिन कन्हैया झा, डिन जनार्दन लामिछाने, डिन बालचन्द्र लुइँटेल, प्राध्यापक वेदमणि दाहाल, श्यामनारायण लाभ र विभूतिरञ्जन झा छनोट भएका थिए । उनीहरूसँग ७० पूर्णाङ्कमा कार्ययोजना, सोचपत्रको मूल्यांकनसहित अन्तर्वार्ता लिइएको थियो ।

कार्यविधिअनुसार अन्तर्वार्तामा समेत उत्कृष्ट अंक प्राप्त गर्ने ३ जनाको नाम सिफारिस हुनुपर्ने प्रावधान छ । ‘मेरिटका आधारमा उच्च अंक ल्याउने ३ जनाको नाम सिफारिस गर्नुपर्ने हो तर समितिले अलमल गरिरहेको छ,’ एक प्रतिस्पर्धीले भने, ‘बढी अंक ल्याउने ३ जनाको नाम सिफारिस गर्न किन रोकिएको आश्चर्यजनक छ, अंक दिने बेलैमा समितिभित्र चलखेल भएकाले विमति भएको पनि सुनिन्छ ।’ केही प्रतिस्पर्धीले भने संयोजकले ३ जनाभित्र नपरेका उम्मेदवारलाई समेत सिफारिसमा पार्न चलखेल गरेको आरोप लगाएका छन् । उनीहरूले यसअघि पनि समितिका संयोजक शर्माको निष्पक्षताको विषयमा प्रश्न उठाउँदै कुलपतिलाई पत्र लेखेका थिए ।

स्रोतका अनुसार संयोजक शर्माले पूर्वउपकुलपति थापा तथा सदस्यहरू पूर्वसचिव जनार्दन नेपाल र चिकित्सक अर्जुन कार्कीले सुरुदेखि नै निमित्त उपकुलपति वाग्लेलाई पहिलो नम्बरमा सिफारिस गर्न चाहेकाले समिति अनिर्णीत हुन पुगेको हो । सिफारिसका लागि समितिका सदस्यहरू पटक/पटक बैठक बस्दै आएका छन् । तर मतभेद समाधान हुन नसकेकाले शर्माले समेत सिनेट बैठक डाकेर निर्णयमा पुग्न प्रधानमन्त्रीलाई आग्रह गरेको उनी निकट स्रोतले जनायो । 

कांग्रेस, एमाले गठबन्धनको सरकार बनेपछि कृषि तथा वन विज्ञान, पोखरा, संस्कृत र काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु भएको थियो । सत्ता गठबन्धनमा कृषि तथा वन विज्ञान र पोखरा एमाले तथा संस्कृत र काठमाडौं विश्वविद्यालय कांग्रेसको भागमा परेको छ । कांग्रेसले वाग्लेलाई अघि सारे पनि केयूका बोर्ड अफ टस्ट्रीका अध्यक्षसमेत रहेका शर्माले थापाको नाममा अडान लिएका कारण सहमति जुट्न नसकेको सत्तारूढ दलका एक नेताले बताए । 

शर्माले उच्च प्राज्ञिक क्षमता भएको, विश्वविद्यालय सञ्चालन गर्न आर्थिक स्रोत जुटाउन सक्ने, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा विश्वविद्यालयको समस्या बुझेको र समाधान गर्न सक्ने उपकुलपति केयूमा चाहिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । केयू प्राध्यापक संघले पनि यथाशीघ्र उपकुलपति नियुक्ति गर्न विज्ञप्ति जारी गरेर अपिल गरेको छ । उपकुलपति नहुँदा विश्वविद्यालयमा दूरगामी प्रभाव पर्न सक्ने भन्दै संघले सचेत समेत गराएको छ ।

सुदीप कैनी कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully