ताप्लेजुङदेखि दार्चुलासम्मको १७ सय किलोमिटर लामो यो पदमार्ग विकटता, उचाइ, मौसमलगायत कारणले चुनौतीपूर्ण मानिन्छ
काठमाडौँ — निकै कठिन तर विश्वभर चर्चित ट्रेकिङ रुट ग्रेट हिमालयन ट्रेल (जीएचटी) को सयदिने पदयात्राका लागि १२ नेपाली महिला शुक्रबार काठमाडौंमा जम्मा भएर ताप्लेजुङतर्फ लागेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर सिन्धुपाल्चोक पाँचपोखरी थाङपालकी पर्वतारोही माया गुरुङको नेतृत्वमा १२ महिलालाई उनीहरूका परिवारजनले शुक्रबार बौद्ध स्तूपाबाट बिदाइ गरेका हुन् ।
‘पर्यटन क्षेत्रमा नेपाली महिलाको संख्या अझै बढाउन र नेपाललाई फेरि एक पटक महिलाको सामूहिक साहसको माध्यमले चिनाउन १७ हिमाली जिल्लामा फैलिएको ग्रेट हिमालयन ट्रेलको पदयात्रा थालेका हौं,’ ४५ वर्षीया आरोही गुरुङले भनिन्, ‘शनिबार ताप्लेजुङमा गाडीबाट ओर्लिएर पाथीभरा मन्दिरबाट हाम्रो पदयात्रा सुरु गरेका छौं ।’ यो टोलीमा पर्यटन क्षेत्रमा केही वर्षदेखि गाइड, भरियालगायतको भूमिकामा आबद्ध १९ वर्षदेखि ४५ वर्षसम्मका महिला छन् । ताप्लेजुङदेखि दार्चुलासम्म फैलिएको कम्तीमा १७ सय किलोमिटर लामो यो पदमार्ग विकटता, उचाइ, मौसमलगायतका कारण निकै चुनौतीपूर्ण मानिन्छ ।
पदयात्राको नेतृत्व गरेकी गुरुङ सन् २००८ मा आयोजित पहिलो समावेशी महिला सगरमाथा आरोहण दलकी सदस्य हुन् । पदयात्रामा सिन्धुपाल्चोककै संगीता विश्वकर्मा, दिपा लामिछाने, शान्ति थिङ तामाङ, सरस्वती तामाङ, रञ्जिता लामा, वर्षा विक, संगीता तामाङ, प्रमिता सापकोटा, सृष्टि तामाङ, मनमायामा तामाङ र अनिशा श्रेष्ठ छन् ।
यीमध्ये शान्ति मात्र एक सन्तानकी आमा हुन् । पछिल्ला वर्ष मायाले एकल महिला, विपन्न, बेचबिखनमा परेका, सीमान्तकृत समुदायका महिलालाई सिन्धुपाल्चोक र काठमाडौंमा जम्मा गरेर पर्यटन क्षेत्रमा लगाउन सीपमूलक तालिम, भाषा, कम्प्युटर, स्टोरी टेलिङलगायतका तालिम दिँदै आएकी छन् । अहिलेको पदयात्रामा निस्किएका महिला पनि उनैले तालिम दिएका र पर्यटन क्षेत्रमा काम गरिरहेका हुन् ।
सगरमाथा, कञ्चनजंघा, मकालु, मनास्लु, अन्नपूर्ण, धौलागिरीलगायत ८ हजार मिटर अग्ला हिमालको आधार शिविरभन्दा मुनि भएर बनाइएको ग्रेट हिमालयन ट्रेलमा मुख्य दुई रुट विदेशीमाझ प्रख्यात छन् । एउटा ६१ सय मिटर हाराहारी उचाइको माथिल्लो कठिन भेग । दोस्रो दुर्गम गाउँबस्ती भएको तल्लो रुट । यो समूहले ६१ सय मिटर उचाइमा पर्ने उच्च हिमाली पास छिचोल्दै हिमाली जिल्लाका अन्तिम बस्ती हुँदै पदयात्रा गर्ने जनाएको छ । यसरी हिँड्दा १७ देखि २० जिल्ला यो रुटमा पर्नेछन् ।
‘हामीले धेरै साहसिक यात्रा गर्नुपर्नेछ । साथै स्थानीयसँग अन्तर्क्रिया गर्दै नेपाली महिलाको सामर्थ्यबारे पनि बुझाउनुपर्नेछ,’ मायाले भनिन्, ‘यत्रो समूहमा र महिलाको यो खाले पदयात्रा यो रुटमा पहिलो पटक हुँदै छ । विश्वलाई नेपालको पर्यटन र यो उद्योगमा महिला गाइड, भरियालगायत प्राविधिक जनशक्तिको उपलब्धताबारे पनि सन्देश दिनु छ ।’
यो यात्रामा महिला पदयात्रीलाई सघाउन २० जना हाराहारी पुरुष भरिया रहनेछन् । अत्यन्तै दुर्गम ट्रेल, भन्ज्याङ, हिमनदी हुँदै उच्चमार्ग भएर सुरु हुने पदयात्राका लागि जनही १२ देखि १५ लाख रुपैयाँ खर्च लाग्नेछ । नेपाल पर्यटन बोर्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायत पर्यटनसँग सम्बन्धित नेपाली संस्थाले आर्थिक सहायता नगरेको मायाले बताइन् । ‘हामी पर्यटनमै काम गर्दै आएका महिलाले आफैं खर्च जोहो गरेर निस्किएका हौं । यो यात्रा सम्पन्न हुँदासम्म डेढ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरेका छौं । नेपाल मन पराउने विदेशी संस्थासँग अनलाइनमार्फत सहायता मागेका छौं,’ उनले भनिन् ।
यो यात्रामा उनीहरू होमस्टेमा बस्नेछन् । बस्ती नभएका ठाउँमा टेन्ट लगाएर बस्नेछन् ।
यो रुटलाई १० खण्डमा विभाजन गरिएको छ । हरेक खण्डमा पालैपालो नेतृत्व फेरबदल हुनेछ । ‘विदेशी पर्यटकलाई हिमाल आरोहण तथा पदयात्रामा नेपाली महिला गाइडले पनि कुशलतापूर्वक यात्रा गराउन सक्छन् भन्ने सन्देश दिन यो पदयात्रा हामी सबैका लागि सिकाइ हुनेछ,’ पदयात्राकी सदस्य संगीता विश्वकर्माले भनिन्, ‘विदेशीलाई हामीले नेपाली महिला पर्वतहरू जस्तै बलिया छन् भनेर देखाउनु छ ।’
पछिल्ला वर्ष संसारभर महिला पर्यटकको संख्या बढ्दै गएको र नेपाल भ्रमणमा आउने विदेशी महिलाको संख्या पनि बढेकाले महिलाहरू मिलेर आयोजना गरेको यो पदयात्रा उदाहरणीय हुने ट्रेकिङ व्यवसायीको साझा संस्था टानका अध्यक्ष सागर पाण्डेले बताए ।
