गणतन्त्रको पक्षमा सभा गर्दै समाजवादी मोर्चा

राजावादीले गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न उठाइरहेका बेला त्यसको प्रतिवाद गर्न लागिएको मोर्चाको भनाइ

चैत्र २, २०८१

गंगा बीसी

Samajwadi Front rallying in favor of the Republic

काठमाडौँ — समाजवादी मोर्चाको शुक्रबार बसेको बैठकले गणतन्त्रात्मक व्यवस्थाको पक्षमा अन्तर्क्रिया र सभा गर्ने निर्णय गरेको छ । राजावादीहरूले गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न उठाइरहेका बेला त्यसको प्रतिवादस्वरूप अन्तर्क्रिया र प्रदर्शन गर्न लागेको मोर्चाले जनाएको हो।

मोर्चाले शनिबार बुद्धिजीवी र नागरिक समाजसँग अन्तर्क्रिया गर्ने भएको छ । अन्तर्क्रियामा नागरिक समाजका अगुवा, लोकतान्त्रिक गणतन्त्रमा योगदान दिएका वरिष्ठ व्यक्ति सहभागी हुने मोर्चाले जनाएको छ । मोर्चाका संयोजक एवं नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले मुलुकलाई पश्चगमनतिर ढल्काउने प्रयास भइरहेकाले अग्रगमनको पक्षमा अन्तर्क्रिया र प्रदर्शन गर्ने निर्णय गरेको बताए ।

‘देशमा अहिले अस्थिर राजनीतिक अवस्था छ । यसबारे मोर्चाको तर्फबाट दृष्टिकोण राख्नेछौं । आन्दोलन किन गर्नुपर्‍यो भनेर हाम्रो दृष्टिकोण स्पष्ट गर्ने हो,’ उनले भने, ‘देशलाई पश्चगमनतिर लैजाने जुन खेल भइरहेको छ, यसका विरुद्ध बोल्नुपर्ने बेला आएको छ ।’ उनले यो राजनीतिक प्रणालीले जनतालाई सन्तुष्टि दिन नसकेकोबारे छलफल गर्ने पनि बताए । ‘अग्रगमनका लागि नेपाली विशेषताको समाजवादबारे धारणा राख्नेछौं,’ उनले भने ।

मोर्चाले कांग्रेस र एमालेको गठबन्धन सरकारले सर्वसाधारणसँग जोडिएका विषय सम्बोधन गर्न नसक्दा असन्तुष्टि बढ्दै गएको निष्कर्ष पनि निकालेको छ । नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठले गणतन्त्र अभिसाप जस्तो गरी भ्रम सिर्जना गरिएकाले त्यसलाई चिर्न कार्ययोजना बनाएको बताए । 

एसद्वारा आन्दोलन घोषणा एकीकृत समाजवादीले जनसरोकारका सवाल उठाउँदै आन्दोलन घोषणा गरेको छ । उक्त पार्टीले चैत २० मा सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ । चैत मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक  संवाद तथा सुझाव संकलन, वैशाख ५ मा प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा  ज्ञापनपत्र पेस गर्ने, वैशाख १५ सम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा  सुझाव संकलन, वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयमा ज्ञापनपत्र पेस  गर्ने, वैशाख २५ मा दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको पार्टीका महासचिव घनश्याम भुसालले बताए ।

‘मुलुक राजनीतिक अग्रगमनतिर जान्छ, पश्चगमनतिर होइन’  : नेत्रविक्रम चन्द

Samajwadi Front rallying in favor of the Republicसमाजवादी मोर्चा संयोजक एवं नेकपा महासचिव

समाजवादी मोर्चाले केके निर्णय गर्‍यो ?

मुख्यगरी तीन वटा विषयमा निर्णय गरेको छ । शनिबार मोर्चाले बुद्धिजीवीसँग आफ्नो धारणा स्पष्ट गर्न अन्तर्क्रिया गर्ने कुरा भएको छ । नेपालको राज्य प्रणालीबारे सुझाव सल्लाह लिइनेछ । त्यसपछि पत्रकारहरूसँग भेटघाट गर्ने र चैत १५ मा जनसभामा गर्ने निर्णय भएको छ ।

यति नै बेला जनसभा गर्नुको मुख्य उद्देश्य के हो ?

देशमा अहिले अस्थिर राजनीतिक अवस्था छ । यसबारे मोर्चाका तर्फबाट आफ्नो दृष्टिकोण राख्न सभा आयोजना गर्न लागेका हौं ।

राजावादीले गरेको प्रदर्शनको काउन्टर सभा गर्न लाग्नुभएको हो ?

मुख्य गरी दुई विषय छन् । आन्दोलन किन गर्नुपर्‍यो भनेर हाम्रो दृष्टिकोण स्पष्ट गर्ने हो । देशलाई पश्चगमनतिर लैजाने जो खेल भइरहेको छ, यसका विरुद्ध बोल्नुपर्ने बेला आएको छ । हामीले जनतालाई भन्नुपर्नेछ, अग्रगमन किन आवश्यक छ ? साथै अहिले भइरहेको राजनीतिक प्रणालीले जनतालाई सन्तुष्टि दिन सकेको छैन । सक्दैन । यसको निकासका लागि नेपाली विशेषताको समाजवादको बारेमा आफ्नो धारणा राख्नेछौं ।

मुलुकलाई पुनः राजतन्त्रतिर फर्काउने प्रयास सम्भव देख्नुहुन्छ ?

त्यो सम्भव छैन । यद्यपि हरेक वर्ग, प्रवृत्तिलाई आफ्नो कुरा राख्ने अधिकार छ । अहिलेको अवस्थाबाट पछाडि फर्काउने सम्भावना हामी देख्दैनौं । मुलुक अग्रगमनतिर जानुपर्छ, पश्चगमनतिर होइन । मुलुकलाई अग्रगमनतिर लैजाने हाम्रो उद्देश्य हो ।

व्यवस्थाविरुद्ध किन चलखेल भइरहेको छ ?

राज्यमा स्थिरताको अभाव भयो । राज्यले स्पष्ट मार्गचित्र दिन सकेन । त्यसको अलमल अकर्मण्यताको अभिव्यक्ति पनि हो । जनता सन्तुष्ट छैनन् । मुलुकमा राजनीतिक अस्थिरता, आर्थिक संकट, सांस्कृतिक समस्या, विदेशीको चलखेलबाट आम जनता नै असन्तुष्ट छन् । म गतसाता जुम्ला, कालीकोट पुग्दा, त्यहाँका जनता पनि अहिले चलिरहेको अवस्थाप्रति सन्तुष्ट छैनन् । त्यसको अभिव्यक्ति बाहिर आएको हो ।

राजतन्त्र फर्काउने कोसिस भए, प्रतिवाद गर्ने मोर्चाको तयारी हो ?

जनताको चाहना अग्रगमन हो । राजतन्त्रभन्दा गणतन्त्र नै प्रगतिशील भइहाल्यो । यसले पनि जनताको अपेक्षा पूरा गर्न नसकेको स्थितिमा फेरि ०६२, ०४७, ०१७ सालतिर फर्कन सम्भव छैन । राजतन्त्रले निकास दिँदैन, झन् ठूलो अस्थिरता ल्याउँछ । जनताको चाहना अग्रगमन प्रणालीतिर प्रवेश हो । रूपान्तरण हो । त्यस अर्थमा बुझेर हामी अघि जान्छौं ।

आम मानिसमा निराशा र आक्रोश छ, यसको समाधान के हुन सक्छ ?

युवाको आकांक्षा सम्बोधन नहुने, शिक्षा, स्वास्थ्य, रोजगारीका समस्याहरू बढ्दै जाने अवस्था छ । यी सबैको निकासका लागि अग्रगामी व्यवस्थातिर जानुपर्छ । त्यो भनेको नेपाली विशेषताको समाजवाद हो ।

गंगा बीसी

Link copied successfully