‘बसाइँ सरे’ लीलबहादुर

‘बसाइँ’, ‘अतृप्त’ र ‘ब्रह्मपुत्रको छेउछाउ’ उपन्यासबाट उनले कालजयी स्रष्टाको पहिचान बनाएका थिए

चैत्र २, २०८१

पर्वत पोर्तेल

”Move” Leal Bahadur

झापा — कालजयी उपन्यास ‘बसाइँ’ का सर्जक लीलबहादुर क्षेत्री ९२ वर्षको उमेरमा यस धर्तीबाटै ‘बसाइँ सरेका’ छन् । पायल्स र दम रोगले लामो समयदेखि अस्वस्थ रहेका उपन्यासकार क्षेत्रीको बिहीबार राति साढे १० बजे भारतको असम गुवाहटी नजिकै मोराखलीस्थित आफ्नै निवासमा निधन भएको हो ।

‘बसाइँ’, ‘अतृप्त’ र ‘ब्रह्मपुत्रको छेउछाउ’ उपन्यासले उनलाई नेपाली साहित्य र भारतीय नेपालीभाषीबीच कालजयी स्रष्टाको पहिचान दिलाएको छ । यी कृतिमा विस्थापित हुनुपर्ने बाध्यता, नेपाली आप्रवासनको पीडा र पहिचानका विषय उनले निकै सशक्त रूपमा पस्किएका छन् ।

‘बसाइँ’ उपन्यास पूर्वी नेपालको पहाडी गाउँमा व्याप्त भोक, अभाव र थिचोमिचोको पीडाले गाउँ छाडेर बाँच्नकै लागि पूर्वोत्तर भारत पुगेका नेपालीको कथा हो । विस्थापित भएर भारतको असम, मणिपुरलगायत ब्रह्मपुत्र नदी आसपासका क्षेत्रमा पुगेका हजारौं नेपालीले गर्नुपरेको संघर्षको कथालाई उनले ‘ब्रह्मपुत्रको छेउछाउ’ मा छर्लङ्ग पारेका छन् । ‘अतृप्त’ भने उनको मनोवैज्ञानिक उपन्यास हो ।

उनका ‘कहिल्यै नफुक्ने गाँठो’, ‘लीलबहादुर क्षेत्रीका कथाहरू’, ‘तीन दशक बीस अभिव्यक्ति’ लगायतका कृति पनि लोकप्रिय छन् ।विसं १९८९ मा गुवाहाटीमा जन्मिएका क्षेत्री बाल्यकालमै अभिभावकसँगै विस्थापित हुनुपरेको थियो । उनका बुबा मेघालय राज्यको सिलोङ प्रहरीमा कार्यरत थिए ।

दोस्रो विश्वयुद्धका बेला असमलगायत भारतका विभिन्न स्थानमा बमबारी सुरु भएपछि परिवार नेपाल फर्कियो । बालक लीलबहादुरसहितको परिवार पुर्ख्यौली गाउँ तेह्रथुम पुगेको थियो । त्यही एक वर्षको बसाइँमा प्रत्यक्ष अनुभूत गरेका घटनाले नै पछि गएर ‘बसाइँ’ उपन्यास जन्माइदियो । ‘बसाइँ तेह्रथुमकै त्यो गाउँको कथा हो,’ उनले एक अन्तर्वार्तामा कान्तिपुरसँग भनेका थिए । 

लामो समयसम्म अध्यापन गरेका क्षेत्री करिब तीन दशकअघि अवकाश भएका थिए । त्यसपछिको जीवन उनले लेखन र साहित्य सेवामै समर्पित गरे । उनी असम गोर्खा सम्मेलनलगायतका सामाजिक संघसंस्थामा आबद्ध रहँदै भारतीय नेपालीभाषीको हक अधिकारका लागि सक्रिय थिए । ‘मलाई निरन्तर पढ्न र लेख्नुपर्छ, पढ्न–लेख्न नसकेका दिन मेरो अन्त्य हुनेछ,’ उनले गत कात्तिकमा कान्तिपुरसँग भनेका थिए । 

गुवाहटीका सर्जक नव सापकोटा भन्छन्, ‘उहाँ नेपाली भाषा साहित्यका अमूल्य रत्न हुनुहुन्थ्यो, उहाँको निधनले सिंगो नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको छ ।’ क्षेत्री भारतको प्रतिष्ठित साहित्य एकाडेमी पुरस्कार विजेता पनि हुन् । सन् १९८७ को दशकमा उनले तेस्रो उपन्यास ‘ब्रह्मपुत्रको छेउछाउ’ का लागि यो पुरस्कार प्राप्त गरेका थिए । 

सन् २०१६ मा नेपालको प्रतिष्ठित जगदम्बाश्रीबाट विभूषित पनि भए । उनलाई साहित्य र शिक्षामा सेवा गरेबापत सन् २०२० मा भारतको चौथो सर्वोच्च पद्म श्री पुरस्कार प्रदान गरिएको थियो । 

गुवाहाटी विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेका क्षेत्री आकाशवाणी रेडियो गुवाहाटी जस्ता सञ्चारमाध्यममा पनि क्रियाशील थिए । उनलाई पूर्वोत्तर भारतमा नेपाली साहित्यको मजबुत भविष्यको आशा थियो, तर विखण्डनप्रति चिन्ता पनि थियो । ‘पूर्वोत्तर भारतमा नेपाली साहित्यले जुन स्तरमा फड्को मार्नुपर्ने हो, त्यो चाहिँ छैन,’ उनी सधैं चिन्ता व्यक्त गर्थे । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । क्षेत्रीको शुक्रबार गुवाहाटीमा अन्त्येष्टि भएको छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully