व्यवस्था बदल्न चाहनेले वंशको शासनको कुरा छोड्नुस्, अग्रगमनतिर आउनुस् : नेपाल

'लुट्ने इतिहास बोकेकाको हातमा देशलाई लगेर बर्बाद पार्ने होइन'

चैत्र २, २०८१

कान्तिपुर संवाददाता

For those who want to change the system, leave the matter of dynasty rule, come to progress: Nepal

काठमाडौँ — राजनीतिक व्यवस्था अग्रगमनका लागि हुनुपर्ने पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । वंशको शासन ल्याउन खोजेर प्रतिगमनतिर मुलुकलाई लैजाने कुरा स्वीकार गर्न नसकिने उनको भनाइ थियो । 

समाजवादी मोर्चा, नेपालले शनिबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री नेपालले देशमा कुनै योगदान नगरेका र वंशको आधारमा शासन गरेकाहरूलाई देशको नेतृत्व गर्न दिन नहुने बताए । 

वर्तमान राजनीतिक व्यवस्था बदल्ने भए समाजवादी व्यवस्था ल्याउन पहल गर्नुपर्ने नेपालको भनाइ थियो । 'अवश्य पनि पुँजीवादी व्यवस्थालाई बदल्नुपर्छ तर सामन्तवादी व्यवस्थामा जाने होइन । दलाल पुँजीवादको वर्चश्व रहेको व्यवस्था, जो वंशको आधारमा पहिले १०४ र २४० वर्षसम्म शासन सञ्चालन गरेर बसेकाहरू पछि सत्ताको आडमा सत्ताको दुरुपयोग गरेर हालिमुहाली चलाएकाहरू हुन्, तिनीहरूबाट मुक्ति चाहियो । त्यसपछि समाजवादी लोकतन्त्रमा जानुपर्छ,' उनले भने । 

नेपालमा आफ्नै मौलिक खालको समाजवादको अवधारणा अगाडि सार्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो । 'नेपाली विशेषताको समाजवादको बारेमा छलफल चलाइरहेका छौं । व्यवस्था बदल्न चाहनेहरू प्रतिगमनतिर हैन अग्रगमनतिर आउनुस् । वंशको शासनको कुरा छोडिदिनु तिनीहरूले न त्याग, न बलिदान, न तपस्या गरेका छन् । देशलाई लुट्न मात्रै जानेका छन्,' उनले भने, 'लुट्ने इतिहास बोकेकाको हातमा देशलाई लगेर बर्बाद पार्ने होइन । देशलाई स्वाभिमान, इज्जत, प्रतिष्ठा, मर्यादालाई माथि उठाउनुछ । त्यसका लागि नयाँ व्यवस्था समाजवादी व्यवस्था हो ।'

संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहिनता, सरकारको मानोमानी, देश एवं जनताको हित विपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्त्व लागिपरेको समाजवादी मोर्चाको ठहर छ । सरकारका क्रियाकलापले जनतामा देखिएको असन्तुष्टिमा खेलेर गणतन्त्रविरुद्ध राजतन्त्र पुनर्स्थापनाको षडयन्त्र भइरहेको मोर्चाले आशंका गरेको हो । त्यस्ता षड्यन्त्रविरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको जिम्मेवारी रहेको भन्दै मोर्चाले चैत १५ मा काठमाडौंमा विरोध प्रदर्शनसहितको जनसभा आयोजना गरेको छ ।  

कान्तिपुर

Link copied successfully