कपिलवस्तु — पुतली गणना र त्यसको विविधता पत्ता लगाउन २९ दिने 'बिग बटरफ्लाई काउन्ट' अभियान देशभर जारी छ । बटरफ्लाई वाचर्स नेपाल, भक्तपुरले ३ मार्चदेखि सुरु गरेको अभियान ३१ मार्चसम्म चल्ने बताइएको छ ।
नेपालमा कुन कुन प्रजातिका पुतली पाइन्छ ? कहाँ पाइन्छ ? कत्तिको संख्यामा पाइन्छ र पुतलीको फोटो खिच्ने उद्देश्यले गणना अभियान चलाइएको बटरफ्लाई वाचर्स नेपालका संस्थापक तथा पुतलीविद् सनेजप्रसाद सुवालले बताए । यो तेस्रो अभियान हो उनले भने यसको थिम बटरफ्लाई म्याराथुन राखिएको छ । गणनामा सहभागी हुनेले धेरैभन्दा धेरै पुतली गणना गरोस् भने अभियानको थिम बटरफ्लाई म्याराथुन राखिएको उनले बताए । अभियानमा सबैभन्दा धेरै पुतलीको तस्बिर खिच्नेलाई आकर्षक पुरस्कार पनि दिइने बताइएको छ ।
बटरफ्लाई वाचर्स नेपाल सोसल साइन्स बेस्ड सोसल मिडिया प्लेटफर्म हो । यसले पुतलीको अध्ययन अनुसन्धान, संरक्षण, सचेतना र शिक्षामूलक काम गरिरहेको छ । मौसमका हिसाबले पुतली बढी देखिने समयमा अभियान चलाएर बढीभन्दा बढी सूचना संकलन गर्न अहिले अभियान थालिएको हो । अहिले वन क्षेत्रमा पाइने पुतली र दुर्लभ पुतली मार्च, अप्रिल, जुन र जुलाईतिर बढी देखिन्छ । पोखरा, धरान, इटहरी, हटौंडा, लुम्बिनी, बर्दिया, सुर्खेत, झापा र कञ्चनपुर लगायतका २५ ठाउँमा गणना भइरहेको छ ।
दोस्रो पुतली गणनामा २ सय ५० बढी प्रजातिका पुतली मुलुकभर गणना गरिएको थियो भने ३ सय पुतली गणक सहभागी थिए । गणनामा विज्ञान, प्राणीशास्त्र र व्यवस्थापन संकाय अध्ययरत स्नातक र स्नाकोत्तर अध्ययरत विद्यार्थी सहभागी छन् । त्यस्तै, पुतली प्रेमी फोटोग्राफर पनि सहभागी छन् । नेपालमा ६ सय ९२ प्रजातिका पुतली पाइएको रेकर्ड छ । तराईको एक सय मिटरदेखि हिमालको ७ हजार मिटरसम्म पुतली पाइएको रेकर्ड छ ।
वातावरणलाई मनमोहक बनाउने पुतली समाजपयोगी काम पनि गर्छ । धेरैलाई थाहा नभए पनि अप्रत्यक्ष रुपमा यसले उत्पादन बढाउन सहयोग गर्छ । अन्नबाली, तेलहन र फलफूलमा परागसेचन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । फुलमा रस चुस्दा चुस्दै भाले पोथी फूलबीच परागसेचन भइ उत्पादनमा राम्रो योगदान गर्छ । पुतलीले जलवायु परिवर्तनको सूचकको रुपमा पनि काम गर्छ । स्वस्थ्य वनको सूचक पनि हो । आकर्षक देखिने पुतलीले पर्यापर्यटनका लागि समेत भूमिका खेल्ने वन्यजन्तु विशेषज्ञ डा. हेमसागर बरालले बताए ।
