पुरुष फुटबलमा महिला प्रशिक्षक

महिला राष्ट्रिय फुटबल टिमकी पूर्वसदस्य चन्द्राको काँधमा नेपालकै पुरानोमध्येको एक क्लब ब्वाइज युनियनको प्रशिक्षक जिम्मेवारी

चैत्र १, २०८१

हिमेश

Women's coach in men's soccer

काठमाडौँ — चन्द्रा भण्डारीले चालेको एउटा सानो पाइला । तर तिनलाई थाहा नहुन सक्छ, नेपाली फुटबलमा यसको महत्त्व कति धेरै हुने हो भनेर । नेपालमै मात्र कहाँ हो र ? विश्व फुटबलमै प्रशिक्षकमा पुरुषको दबदबा छ । पुरुष फुटबलमा महिला प्रशिक्षक ? यो त सोच्नै गाह्रो कुरा भयो । चन्द्राले यही काम गरेकी छन् । पुरुष फुटबलमा चन्द्राले एक प्रकारले हस्तक्षेप गरेकी छन् र यो असाध्यै सुखद छ । सहिद स्मारक लिग ‘बी’ डिभिजनमा ब्वाइज युनियनको प्रशिक्षक हुन्, चन्द्रा ।

भर्खरै ब्वाइज युनियनले पहिलो खेल खेलेको छ र त्यो नयाँ बस्तीविरुद्ध गोलरहित बराबरी रह्यो । त्यही खेलसँगै नेपाली फुटबल इतिहासमै माथिल्लो स्तरमा पुरुष टिम सम्हाल्ने चन्द्रा पहिलो महिला प्रशिक्षक बनेकी छन् । पछिल्लो समय त्यसै पनि नेपाली फुटबलको चर्चा जताततै छ । त्यसमै एउटा फरक पाटोका रूपमा चन्द्रा जोडिएकी छन् । अब भन्न सुरु हुनेछ, महिला प्रशिक्षक कहाँ कमका छन् र ? उनको एउटा सानो पाइला, तर त्यसले गर्ने ठूलो प्रभावका लागि चन्द्राको बहादुरीलाई बधाई दिनैपर्छ ।

साँच्चै चन्द्रा को हुन् त ? उनी फुटबल क्षेत्रमा एकाएक प्रवेश गरेकी भने होइनन् । सन् २०१० पछि अन्तर्राष्ट्रिय फुटबल खेलेको पुस्तालाई ‘गोल्डेन जेनेरेसन’ मान्ने हो भने त्यसको एक महत्त्वपूर्ण सदस्य हुन्, उनी । डिफेन्डर थिइन्, चाहिएका बेला मिडफिल्डमा पनि खेल्न सक्थिन् । दस वर्षको लामो अन्तरालपछि सन् २०१० मा नेपालले महिला फुटबलका दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । दुवै बंगलादेशमा भएका थिए । 

त्यसमध्ये एक थियो, ११ औं दक्षिण एसियाली खेलकुद (साग) । सागमा महिला फुटबलले प्रवेश पाएको यो नै पहिलो पटक थियो । पहिलो खेल फेब्रुअरीमा ढाकामा र अर्को डिसेम्बरमा भएको थियो, कक्स बजारमा । कक्स बजारमा भएको प्रतियोगिता वुमेन्स साफ च्याम्पियनसिपकै पहिलो संस्करण थियो । दुवै प्रतियोगितामा उनी टिमकी पहिलो रोजाइकी खेलाडी थिइन् । त्यसपछि सन् २०१२ मा उनले कोलम्बोमा भएको दोस्रो वुमेन्स साफ च्याम्पिनयसिप पनि खेलिन् । सँगै कुवेत र कतारविरुद्धका मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल पनि । त्यसमध्ये कुवेत सिटीमा भएको एक मात्र खेलमा चन्द्रा नेपालकी कप्तान पनि थिइन् । यसरी उनी नेपाली महिला राष्ट्रिय टिमकी पाँचौं कप्तान भइन्, रमा सिंह, कमला हिराचन, मीरा चौधरी र जमुना गुरुङ पछि । कुवेत सिटीमा उनलाई कप्तानको ‘आर्म ब्यान्ड’ लगाउने प्रशिक्षक थिए, कुमार कटुवाल । चन्द्राको पछिल्लो उपलब्धिमा खुसी हुने धेरैमध्ये कटुवाल पनि एक हुन् । उनी भन्छन्, ‘चन्द्रलाई ब्वाइज युनियनको प्रशिक्षक भएको देख्दा म त असाध्यै खुसी भएँ ।’

उनी खुसी हुनुको अर्को कारण पनि छ । खेलाडी हुँदा कटुवाल आफैं ब्वाइज युनियनबाट खेल्थे । अहिले चन्द्रा त्यही ऐतिहासिक क्लबको प्रशिक्षक बनेकी छन् । चन्द्राको खेल जीवन यस्तो रह्यो, नेपालका लागि कुल २३ क्याप । दुई गोल । अनि तीन फाइनल । घुँडाको चोटका कारण उनको खेल जीवन लामो भने रहेन । सन् २०१६ मा भारतमा १२ औं साग हुँदा उनी करिब करिब मैदानबाट टाढिइसकेकी थिइन् । 

हाल ‘बी’ डिभिजनमा रहे पनि नेपालकै पुरानो फुटबल क्लबमध्येमा पर्छ ब्वाइज युनियन । २०३२ सालमा राष्ट्रिय लिग च्याम्पियन नै बनेको थियो । नेपाली राष्ट्रिय पुरुष टिमका पूर्वकप्तान रुपकराज शर्मा र भारतका चर्चित खेलाडी श्याम थापाले समेत ब्वाइज युनियन टिमबाट खेलेका छन् । यति पुरानो क्लबकको प्रशिक्षकका रूपमा नयाँ अवतारपछि उनी फेरि एक पटक चर्चामा छिन् । भन्छिन्, ‘पहिलो महिला प्रशिक्षकका रूपमा पुरुष टिम सम्हाल्न पाउँदा मलाई गर्व लागेको छ । मेरा लागि यो ठूलो अवसर हो । अबको दिनमा अझ बढी मिहिनेत गर्नेछु ।’ डीएभी स्कुलमा फुटबल प्रशिक्षक नै रहेकी चन्द्राको ब्वाइज युनियनलाई लिएर ठूलै लक्ष्य पनि छ र त्यो हो, ‘ए’ डिभिजनमा बढुवा । उनको भनाइ रहेको छ, ‘ब्वाइज युनियन जत्तिको क्लब हुनुपर्ने ‘ए’ डिभिजनमै हो ।’

त्यसो त उनको प्रशिक्षकको जीवन सुरु भएको लगभग एक दशक छुन लागिसकेको छ । संयोग कस्तो भने अघिल्लो महिना मात्रै उनले प्रशिक्षकको ‘बी’ लाइसेन्स पाएकी थिइन् । अबको लक्ष्य त ‘ए’ नै होला । भनिन्छ, कुनै पनि देशको फुटबल विकासका लागि प्रशिक्षक जति बढी भयो, त्यति राम्रो । स्तरीय प्रशिक्षक भए, झन् राम्रो । चन्द्राले नेपाली फुटबलमा साँच्चै एउटा नयाँ अध्याय सुरु गरेकी छन् र मज्जाले आशावादी हुन पाइन्छ, उनलाई अब अरू धेरै महिलाले पछ्याउनेछन् ।

हिमेश

Link copied successfully