सालझन्डी-ढोरपाटन सडक स्तरोन्नति : कञ्चन खोला-खुर्सानी खण्डको प्रगति साढे चार वर्षमा ३५ प्रतिशत मात्र

– निर्माण व्यवसायीलाई तोकिएकै समयमा काम सक्न पटक–पटक मौखिक र लिखित जानकारी गराउँदासमेत भएन काम

चैत्र १, २०८१

विमल खतिवडा

Saljhandi-Dhorpatan Road Upgradation: The progress of Kanchan Khola-Khursani section is only 35 percent in four and a half years.

काठमाडौँ — सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाअन्तर्गत पाल्पा खण्डको कञ्चन खोला–खुर्सानी सडकको ठेक्का भएको साढे चार वर्ष भयो, अझै प्रगति सोचेअनुसार छैन । १३ किलोमिटर सडक कालोपत्र तहमा स्तरोन्नति गर्नुपर्नेमा अहिलेसम्म प्रगति ३५ प्रतिशत मात्र छ । यो सडक रूपन्देहीको सालझन्डीबाट सुरु भई पाल्पा, अर्खाखाँची, गुल्मी हुँदै बागलुङको ढोरपाटन पुग्छ । यसको कुल दूरी १ सय ९७ किलोमिटर छ ।

सबैभन्दा बढी समस्या कञ्चन खोला–खुर्सानी खण्डमा रहेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना कार्यालयका प्रमुख गागलबहादुर भण्डारीले जनाए । यस क्षेत्रका सामाजिक अगुवा, जनप्रतिनिधिलगायत सबैका लागि यो सडक खण्ड टाउको दुखाइको विषय बनेको छ । वर्षौंसम्म सडक नबन्दा स्थानीयमा निराशा छाएको भण्डारी बताउँछन् ।

१ सय ९७ मध्ये १८ किमि सडक कालोपत्र भइसकेको छ । ७० किमिमा कालोपत्र गर्ने गरी ठेक्का लागेर काम भइरहेको भण्डारीको भनाइ छ । ‘सबैभन्दा समस्याग्रस्त क्षेत्र नै कञ्चन खोला–खुर्सानी खण्ड हो,’ प्रमुख भण्डारीले भने, ‘म सरुवा भएर आउनुअघि काम सक्न धेरै पहल भए, म आएको पाँच महिना भयो, यस अवधिमा महिनाको एक पटक अनिवार्य प्रगति बढाउन ताकेता गरिरहें,’ उनले भने, ‘तर केही सीप लागेन, ठेकेदारले कामको प्रगति बढाएनन् ।’

२०७७ पुस २७ मा यस सडक खण्डको ठेक्का सम्झौता भएको हो । सुरु सम्झौताअनुसार २०८० जेठ २० भित्र काम सक्नुपर्ने थियो । पहिलो पटक २०८० फागुन ३० सम्म म्याद थप भयो । दोस्रो पटक २०८१ चैत ५ सम्म म्याद थपियो । थपिएको म्यादअनुसार चैत ५ भित्र काम सक्नुपर्ने हो । ‘कामगराइ हेर्दा प्रगति बढेको छैन, समग्र सडक आयोजनामा यही खण्डले गर्दा समस्या भएको छ,’ भण्डारीले भने, ‘निर्माणस्थलमा कामदार र निर्माण उपकरण पनि छन् । तर निर्माण व्यवसायीले नगद प्रवाहको समस्या भएको भन्दै कामको गति बढाएका छैनन् ।’

रमण–ओम–सुगम जेभीले यस सडक खण्डको ठेक्का लिएको हो । संयुक्त ठेक्का भए पनि काम रमण कन्स्ट्रक्सनले गरिरहेको छ । भ्याटसहित ठेक्का रकम २४ करोड ५४ लाख रुपैयाँ हो । अहिलेसम्म काम गरेअनुसार भुक्तानी भइरहेको भण्डारीले बताए । ‘कामै नगरेर साइट छाडेकै भने होइन तर काममा कुनै प्रगति छैन,’ उनले भने, ‘ठेक्का भएका अन्य खण्डमा प्रगति छ ।’

Saljhandi-Dhorpatan Road Upgradation: The progress of Kanchan Khola-Khursani section is only 35 percent in four and a half years.

निर्माण व्यवसायीलाई तोकिएकै समयमा काम सक्न पटक–पटक मौखिक र लिखित रूपमा जानकारी गराउँदासमेत लामो समयदेखि काम सक्ने विषयमा व्यवसायीको ध्यान नगएको भन्दै योजना कार्यालयले सार्वजनिक सूचना निकालेर छिटो काम सक्न ताकेता गरेको छ । निर्माणस्थलमा निर्माण उपकरण, कामदार परिचालन गरेर ७ दिनभित्र कामको प्रगति बढाउन भनिएको थियो । काम नगरे कारबाही नगर्नुपर्ने कुनै जायज कारण भए ७ दिनभित्र स्पष्टीकरण पेस गर्न योजना कार्यालयले गत फागुन २० मा सूचना प्रकाशन गरेरै सतर्क गराएको थियो ।

‘सूचना प्रकाशन भएपछि निर्माण सामग्रीको समस्या भयो, काम गर्न पाइएन, काम गर्छौं भनेर जवाफ आएको छ,’ भण्डारीले भने, ‘कामको गति बढाउँछौं भनेर जवाफ आए पनि अहिलेसम्म कुनै प्रगति छैन ।’ पटक–पटक अवसर दिँदा पनि प्रगति नबढेकाले ठेक्का तोड्नुको विकल्प नभएको उनले बताए ।

यता रमण कन्स्ट्रक्सनका वित्त निर्देशक रमण महतो भने काम गरेको भुक्तानी समयमै नपाउँदा समस्या भएको दाबी गर्छन् । ‘साइटमा कोही कर्मचारी बस्दैनन् । काम गरेको भुक्तानी लिन चार–पाँच महिना कुर्नुपर्छ,’ उनले भने, ‘सडकमा प्राविधिक समस्या धेरै छ, सडक ठाडो छ, असोजमा आएको बाढीका कारण आधाभन्दा बढी क्षति भएको छ । यसबारे केही निर्णय अहिलेसम्म गरिएको छैन ।’

योजना कार्यालयले सूचना निकालेअनुसार त्यसको जवाफ दिएर काम गरिरहेको महतोले जनाए । ‘समयमै भुक्तानी नपाउँदा काममा समस्या भएको हो,’ उनले भने । तर आयोजना प्रमुख भण्डारीले बिल पेस गर्नासाथ भुक्तानी दिइएको दाबी गरे । ‘यो सबै काम नगर्ने ठेकेदारको बहानाबाजी मात्र हो,’ उनले भने, ‘हामीले कुनै पनि भुक्तानी रोकेका छैनौं ।’

अन्तिम अवसर दिँदा पनि कामको प्रगति नबढाएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलको भनाइ छ । ‘निर्माणस्थल हेरेर आएँ, काममा प्रगति छैन, योभन्दा पछि गरिएको अर्को ठेक्कामा समेत प्रगति छ,’ उनले भने, ‘यस खण्डमा भने बिजोग देखियो, अब ठेक्का तोड्ने प्रक्रियामा जानुको विकल्प छैन ।’ सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाअन्तर्गत नै भएको बुर्तिबाङ–फल्लेघर सडक खण्डको प्रगति नभएको भन्दै गत फागुन २० मै कारबाही किन नगर्ने भनी सात दिनभित्र जवाफ दिन भनिएको थियो ।

उक्त खण्डको ठेक्का स्वच्छन्द–ओमबुद्ध जेभीले लिएको हो । यस खण्डको दूरी २२ किमि छ । २०७८ असोज ५ मा गरिएको ठेक्काअनुसार २०८१ वैशाख ४ भित्र निर्माणको काम सकिसक्नुपर्ने हो ।

२५ करोड ६१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो । २०८२ वैशाख २३ सम्म म्याद थपिए पनि प्रगति ४२ प्रतिशतभन्दा बढी नभएपछि पटक–पटक मौखिक/लिखित रूपमा योजना कार्यालयले स्पष्टीकरण सोधेको थियो । ‘अहिले यस खण्डमा कामको गति बढेको छ,’ योजना प्रमुख भण्डारीले भने, ‘संयुक्त ठेक्का भएकाले पार्टनरबीच विवाद थियो, सूचना प्रकाशन गरेपछि व्यवसायी सम्पर्कमा आएर काम गरिरहेका छन् ।’

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully