अब विधेयकको अग्रिम सूची संसद्लाई बुझाउनुपर्ने

विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्का दुवै सदनबाट पारित

चैत्र १, २०८१

राजेश मिश्र

Now the advance list of the bill should be submitted to the Parliament

काठमाडौँ — सरकारलाई विधेयकको सूची अग्रिम रूपमै संघीय संसद्‌मा पठाउनुपर्ने भएको छ । एक वर्षभरि पारित गराइनुपर्ने विधेयक प्राथमिकता निर्धारणसहित कार्यतालिका बनाएर प्रत्येक वर्ष असारभित्र संसद्लाई उपलब्ध गराउनुपर्ने भएको हो ।

संघीय संसद्ले पारित गरेको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कानुन बनाउन आवश्यक प्रक्रिया, मापदण्ड व्यवस्था गरिएको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनबाट पारित भएको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको छ । प्रमाणीकरण भएपछि विधेयक ऐनका रूपमा कार्यान्वयनमा जानेछ । कानुन, न्याय तथा संसदीय ममिला मन्त्रालयले यो विधेयक राष्ट्रिय सभामा दर्ता गराएको थियो । 

कानुन मन्त्रालयका प्रवक्ता सहसचिव कोमलबहादुर खत्रीले संसद्बाट पारित विधेयकमा विधेयकको चरण, त्यसमा कसको जिम्मेवारी के रहने, कुन विधेयकलाई पहिलो प्राथमिकतामा अगाडि बढाउने, संसद्लाई त्यहीअनुसार पूर्वजानकारी दिनेलगायत विषय समेटिएको बताए । ‘कानुन निर्माण प्रक्रियाका सम्बन्धमा कानुनको अभाव थियो । नयाँ कानुनले विधायनको प्रक्रियामा एकरूपता तथा सहजता प्रदान गर्नेछ,’ उनले भने ।

प्रवक्ता खत्रीका अनुसार आवश्यकता पहिचान भएअनुसार सम्बन्धित मन्त्रालयले प्रत्येक वर्षको जेठभित्र विधेयकको प्राथमिकताक्रम खुलाई कानुन मन्त्रालयमा पठाउनुपर्नेछ । सबै मन्त्रालयबाट प्राप्त भएको विधेयकको सूचीलाई कानुन मन्त्रालयले एकीकृत गरी प्राथमिकता निर्धारण गरेर संघीय संसद्मा पेस गर्नेछ । मन्त्रालयले तयार गरेको वार्षिक कार्यतालिकाअनुसार सरकारले विधेयक पठाउने र त्यहीअनुसार संसद्ले त्यसमाथि काम गर्ने उद्देश्य राखिएको छ । ‘जहिले पनि विधेयक ल्याउने चलनलाई नयाँ कानुनले व्यवस्थित गर्नेछ,’ प्रवक्ता खत्रीले भने । 

नयाँ कानुन कार्यान्वयनमा आएपछि विधेयकको मस्यौदा तर्जुमाका लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति प्रदान गरेको अवधारणापत्र सम्बन्धित मन्त्रालयले आफ्नो वेबसाइटमा प्रकाशन गर्नुपर्नेछ । विषयगत मन्त्रालयले विधेयकको प्रारम्भिक मस्यौदा तयार गरेपछि विषयविज्ञ र त्यस्तो विधेयकबाट प्रत्यक्ष रूपमा प्रभावित हुने सरोकारवालाको राय सुझाव लिनुपर्नेछ । त्यसरी तयार गरिएको विधेयकको मस्यौदामाथि सर्वसाधारणको रायसमेत लिनुपर्ने व्यवस्था गरिएको छ । त्यसका लागि सात दिनदेखि ३० दिनको समय दिएर विधेयक मस्यौदालाई मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ । अहिले मन्त्रालयहरूले विधेयकको मस्यौदा निर्माणमा गोपनीयता अपनाउँदै आएका छन् । त्यसले गर्दा संसद्मा पेस भइसकेपछि मात्रै सरोकारवाला वा सर्वसाधारणले विधेयक पढ्न पाउँछन् । 

नियमावली, आदेश, गठन आदेश, विनियमावली, निर्देशिका, कार्यविधि वा मापदण्डलगायतमा समेट्नुपर्ने विषय पनि आउन लागेको नयाँ कानुनले स्पष्ट पारेको छ । कोष स्थापना र सञ्चालन गर्ने, सञ्चित कोष वा अन्य सरकारी कोषबाट आर्थिक दायित्व पर्ने विषय नियमावलीलगायतका प्रत्यायोजित विधायनमा समेट्न नहुने स्पष्ट मापदण्ड तोकिएको छ । त्यस्तै, कर लगाउने वा उठाउने, करको दर घटाउने, बढाउने वा खारेज वा मुलतबी राख्ने विषयलाई पनि नियमावलीलगायतका प्रत्यायोजित विधायनमा राख्न पाइने छैन । न्यायिक वा अर्धन्यायिक निकाय गठन गर्ने तथा त्यस्तो निकायको क्षेत्राधिकार सिर्जना गर्ने विषयलाई प्रत्यायोजित विधायनमा समावेश गर्न नहुने व्यवस्था पनि गरिएको छ । नियुक्ति, अवकाश वा योग्यता निर्धारण गर्ने विषयलाई पनि नियमावली, विनियमावलीलगायतका प्रत्यायोजित विधायनमा राख्न पाइने छैन ।

राजेश मिश्र दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully