सहिद लखन पालिकाका सबै सामुदायिक विद्यालयमा च्याउ खेती
गोरखा — सहिद लखन गाउँपालिका–६ स्थित हिमालय माध्यमिक विद्यालयले दिउँसोको खाजामा च्याउ खुवाउँछ । त्यो च्याउ विद्यार्थीकै सहभागितामा विद्यालयमै उत्पादन गरिन्छ ।
‘बालविकासदेखि ५ कक्षासम्मका १ सयभन्दा बढी विद्यार्थीलाई सातामा तीन दिन खाजासँग तरकारी च्याउ दिन्छौं,’ प्रधानाध्यापक रामचन्द्र भट्टराईले भने, ‘एक दिन बिराएर च्याउ खुवाउँदा विद्यार्थीले निकै मीठो मानेका छन् ।’
हिमालय माविले ४० पोका च्याउ लगाएको छ । खाजाका लागि आवश्यकताभन्दा बढी उत्पादन हुने च्याउ विद्यालयले बिक्री गर्छ । बिक्रीबाट प्राप्त रकमले च्याउको बीउ किन्ने गरिन्छ । विद्यालयमा उत्पादित च्याउ प्रतिकेजी २ सय ५० रुपैयाँमा बिक्री भएको प्रधानाध्यापक भट्टराईले जानकारी दिए । विद्यार्थीलाई सहभागी गराएर च्याउ खेती गरेका कारण केही विद्यार्थीले अभिभावकलाई सिकाएर घरमै खेतीको तयारी थालेको पनि उनले बताए ।
गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा च्याउ खेती गर्ने नीति ल्याएपछि हिमालय मावि त्यसमा अग्रसर भएको हो । पालिकाका अनुसार सहिद लखन गाउँपालिकाभरिका ४६ सामुदायिक विद्यालयमा लगाइएको च्याउले पहिलो चरणमा उत्पादन दिन सुरु गरेको छ । उत्पादित च्याउ अधिकांश विद्यालयले खाजामा प्रयोग गरेका छन् । ‘च्याउ उत्पादन सुरु भएसँगै दिवा खाजाको मेनुमा च्याउ पनि राख्ने तयारी गरिरहेका छौं,’ सहिद लखन–३ स्थित त्रिवेणी आधारभूत विद्यालयकी प्रधानाध्यापक सुकमाया गुरुङले भनिन् ।
३ कक्षासम्म सञ्चालित त्रिवेणी आविमा २३ विद्यार्थी छन् । विद्यालयले खाजाका लागि १५ पोका च्याउ लगाएको छ । ‘दिनहुँ खाँदा मीठो नहुन सक्छ, सातामा कम्तीमा पनि दुई पटक विद्यालयमा उत्पादित च्याउको तरकारी खुवाउने योजना छ,’ प्रधानाध्यापक गुरुङले भनिन् । शिक्षक र अभिभावकले च्याउको रेखदेख गरिरहेको उनले बताइन् ।
वडा नं. ७ स्थित सहिद स्मृति माविले १ सय ८० पोका च्याउ रोपेको छ । पराल काट्ने, पानीमा पकाउने, सुकाउने, च्याउ रोप्ने काममा विद्यार्थीलाई नै सहभागी गराइएको छ । ‘ठूला कक्षाका विद्यार्थी आफैं काममा खटिएका थिए, साना कक्षाका विद्यार्थीले हेरेर रोप्ने तरिका सिके,’ प्रधानाध्यापक रोहिणी खनालले भने । विद्यालयका सबै विद्यार्थीले च्याउ खेतीको तरिका सिकेको उनको दाबी छ । उनका अनुसार च्याउ रोप्ने बेला चाहिने केही पराल विद्यार्थी आफैंले र केही विद्यालयले व्यवस्थापन गरेका थिए ।
पालिकाभरिका सामुदायिक विद्यालयमा च्याउ खेतीका लागि विद्यार्थी संख्याका आधारमा १० देखि १ सय पोकासम्म कन्ये च्याउको बीउ उपलब्ध गराइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए । केही विद्यालयले आफैं बीउ थपेर च्याउ लगाएका छन् । गत वर्ष नमुनाका रूपमा आठ विद्यालयमा च्याउ खेती भएको थियो । ‘गत वर्ष नमुनाका रूपमा च्याउ खेती गर्दा सकारात्मक प्रतिक्रिया पायौं,’ खनालले भने, ‘त्यही आधारमा यो वर्ष पालिकाको कार्यक्रमअनुसार नै सबै विद्यालयमा खेती गरिएको हो ।’ सहिद लखनमा ११ मावि र ३५ आधारभूत विद्यालय छन् ।
गाउँपालिकाले विद्यालयमा च्याउ खेतीका लागि चालु आर्थिक वर्षमा १ लाख रुपैयाँ बजेट छुट्याएको थियो । प्रत्येक विद्यालयका १ शिक्षकलाई च्याउ खेतीबारे अभिमुखीकरण तालिम दिइएको थियो । सामान्यतया २१ दिनमा च्याउ उत्पादन हुन्छ । ‘व्यावसायिक खेतीबारे विद्यार्थीले सिकेर अभिभावकलाई पनि सिकाऊन् भनेर यो कार्यक्रम राखिएको हो,’ शिक्षा शाखा प्रमुख खनालले भने ।
