नेपालको भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता

चैत्र १, २०८१

नुमा थाम्सुहाङ

International recognition of Bhote dog of Nepal

काठमाडौँ — नेपालको उच्च हिमाली भेगमा पाइने भोटे कुकुरले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । अन्तर्राष्ट्रिय केनेल क्लब (आईकेसी)ले भोटे कुकुरलाई आधिकारिक रूपमा कुकुर जातिको रूपमा मान्यता दिएको हो ।

नेपालमै उत्पत्ति र विकास भएको भोटे कुकुरलाई उक्त मान्यता दिइएको भोटे कुकुर क्लब अफ नेपालका प्रेसिडेन्ट विजय पौडेलले जानकारी दिए । ‘आईकेसी नै पहिलो अन्तर्राष्ट्रिय संस्था हो जसले भोटे कुकुरलाई आधिकारिक मान्यता दियो,’ उनले भने, ‘योसँगै हामीले अन्य अन्तर्राष्ट्रिय केनेल क्लबहरू जस्तैः वर्ल्ड केनेल युनियन, फेडेरेसन साइनोलोजिक इन्टरनेसनललगायतका संस्थाबाट मान्यता दिलाउने प्रकृया अगाडी बढीरहेको छ । 

उच्च हिमाली भेगतिर पाइने भोटे कुकुर विशेषगरी गोठको साथीको रूपमा पाल्ने गरिन्छ । यसबाहेक अहिले तराई र पाहाडतिर समेत मानिसहरूले पाल्ने गरेको उनले बताए ।

नेपालको भोटे कुकुर तिब्बतमा पाइने तिब्बतीयन म्याटिस्फ जस्तै देखिन्छ । तर यी दुई फरक हुन् । त्यसैले भोटे कुकुर नेपालमै उत्पत्ति र विकास भएको भनी मान्यता दिलाउन २०७९ सालमा उक्त क्लब स्थापना भयो ।

International recognition of Bhote dog of Nepal

‘नेपाललाई आधार मानेर कुकुरको कुनै पनि अध्ययन भएको थिएन । १३औं शताब्दीमा विदेशीले मंगोलियामा र तिब्बतमा पाइने कुकुरलाई तिब्बतीयन म्याटिस्फ नाम राखिदिए । तर यो नेपालमा पाइने भोटे कुकुरभन्दा अलग ब्रीड हो,’ उनले भने, ‘तिब्बतीयन कुकुरको शरीर, आकार र टाउको अनि हेर्दै ठूलो हुन्छ । हामीले यी दुई फरक भनेर अन्तर्राष्ट्रिय फोरममा कुरा राख्यौं । तर व्यक्तिले नभई संस्थामार्फत कुरा पुर्‍याउनु पर्ने भएकाले क्लब गठन गर्‍यौं ।’

पौडेलका अनुसार भोटे कुकुरको एउटै बाउ र आमाबाट जन्मेको छाउराछाउरी समेत फरक हुन्छ । त्यसैले छाउराको मूल्य ४० हजार र छाउरीको ३० हजार रुपैयाँ पर्दछ । जन्मेको ६ हप्तापछि आमाबाट अलग गरेर पाल्न सकिने उनले बताए ।

‘हिमाली भेगमा भोटे कुकुर घरमा भएन भने गोठमा काम गर्ने नै हुँदैन,’ उनले भने, ‘यो बिना उच्च हिमाली क्षेत्रको जनजीवन कष्टकर हुन्छ । हाम्रो पशुपालन आधुनिक छैन त्यसैले घुम्ती गोठ चल्दैन । हेर्ने भएन भने बाघले खाइदिन्छ ।’

International recognition of Bhote dog of Nepal

भाले र पोथी अनुसार भोटे कुकुरको उचाई र तौल फरक हुने पौडेल बताउँछन् । पौडेलका अनुसार भाले कुकुरको उचाई २४–२८ र पोथीको उचाई २३–२७ इन्च हुन्छ । यसैगरी औसतमा भालेको तौल ३०–४० र पोथीको तौल २५–३५ किलोग्राम हुन्छ । 

नुमा थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully