सगरमाथा चढ्ने बाटो बनाउन ‘आइसफल डाक्टर’ आधारशिविरतिर

चैत्र १, २०८१

भानुभक्त निरौला

”Icefall Doctor” to the base camp to make the way to climb Mt

सोलुखुम्बु — हिमाल आरोहणको मुख्य सिजन वसन्त ऋतु सुरु भएसँगै सगरमाथा चढ्ने बाटो बनाउन ‘आइसफल डाक्टर’को टोली आधार शिविरतर्फ प्रस्थान गरेको छ । बाटो बनाउने जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले खुम्बु आइसफल मार्ग निर्माण तथा मर्मत गर्न टोली सगरमाथा आधार शिविर पठाएको हो ।

हिमाल आरोहणको उपयुक्त मौसम वसन्त ऋतुका लागि अनुभवी बाटो बनाउने टोली नाम्चे बजारबाट बन्दोबस्तीका सामानसहित आधारशिविर पठाइएको एसपीसीसी अध्यक्ष लामाकाजी शेर्पाले बताए ।टोलीमा आधारशिविर व्यवस्थापक छिरिङ तेन्जिङ शेर्पासहित ८ जना ‘आइसफल डाक्टर’ समावेश छन् ।

दुई वटा टोलीको आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले नेतृत्व गरेका छन् । टोलीमा दाबा नुरु शेर्पा, निम तेन्जी शेर्पा, मिङ्मा ग्याल्जेन शेर्पा, दाबा छिरी शेर्पा, लाक्पा सोना शेर्पा र तेन्डु शेर्पा छन् । सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले समितिलाई खुम्बु आइसफलको आरोहण मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ ।

उक्त टोलीले बौद्ध परम्पराअनुसार हिमालको प्रार्थना र पूजा गरेर मात्रै बाटो बनाउने काम सुरु गर्छ । ‘लामालाई साइत हेराएपश्चात बाटो बनाउने काम सुरु हुन्छ,’ अध्यक्ष शेर्पाले भने । हिमालमा बाटो बनाउने कामलाई अत्यन्तै जोखिमपूर्ण मानिन्छ । उनीहरुको टोलीले दोस्रो आधारशिविरसम्म डोरी टाँग्ने र अप्ठ्यारो ठाउँमा भर्‍याङ हाल्ने काम गर्छन् । सोही बाटोमा आरोहीले सहजताका साथ आरोहण गर्ने गर्छन् । सगरमाथाको दोस्रो आधारशिविरसम्म बाटो बनाउन २० दिन लाग्ने एससिसिसिले जनाएको छ ।

सगरमाथा क्षेत्रमा बाटो बनाउने र सरसफाइको काम सगरमाथा प्रदूषण नियन्त्रण समितिले गर्दै आएको छ । उक्त काम गरे बापत समितिले आरोहण दलमा आउने प्रत्येक विदेशी नागरिकसँग ६ सय अमेरिकी डलर लिँदै आएको छ । ‘हामीले बाटो बनाउने र सरसफाई गर्ने सबै काम गर्छौं,’ अध्यक्ष शेर्पाले भने, ‘हामीले पर्यटन मन्त्रालयसँगको सम्झौतामा सबै काम गरेका हौं, हाम्रो आम्दानीको मुख्य स्रोत नै यही शुल्क हो ।’

समितिले नेपाली आरोहीबाट भने कुनै शुल्क लिने गरेको छैन । एसपीसीसीले आरोहण दलको अनुमति जाँचका अतिरिक्त आधारशिविर क्षेत्रमा वातावरण संरक्षण सम्बन्धी काम गर्दै आएको छ ।

भानुभक्त

Link copied successfully