नेकपा एसले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

चैत्र १, २०८१

कान्तिपुर संवाददाता

CPN S announced the program of the movement

काठमाडौँ — नेकपा एसले जनसरोकारका सवालमा चैत २ गते ६ सम्म मातहतका कमिटीहरूमा छलफल गर्ने भएको छ । आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन भएको पार्टीका महासचिव घनश्याम भूसालले बताए ।

महासचिव भूसालले चैत ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरूसँग संवाद तथा सुझाव संकलन गर्ने बताए । उनले चैत २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने, चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने, वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेस गर्ने कार्यक्रम रहेको बताए ।

नेकपा एसले वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन गर्ने र वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापनपत्र पेस गर्ने र वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक आन्दोलनको कार्यक्रम गर्ने घोषणा गरेको छ ।

यो अभियान बेरोजगारी र कुशासनविरुद्ध एउटा क्रान्तिकारी पहलकदमी भएको र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरूका बीच सहकार्य र एकताको अभियान भएको जिकिर गरेको महासचिव भूसालले बताए । 

नेकपा एसले वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक समस्या समाधान गर्न नसक्ने आरोपसमेत लगाएको छ । त्यस्तै पार्टीले  सत्ता गठबन्धनले नालायकीपन देखाएको आरोप लगाउँदै यसबारेमा जनतालाई सूचित गर्न जरुरी भइसकेको ठहर गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully