रौतहट — रौतहटको चन्द्रनिगाहपुर चोकबाट करिब २ किलोमिटर उत्तर लागेपछि आदर्श सामुदायिक वनको नर्सरी आउँछ। यही नर्सरी छेउमा पर्सा राष्ट्रिय निकुञ्जबाट डुल्दै आएको हात्ती ‘यमगज’ अलपत्र छ। ऊ राम्रोसँग हिँड्न सक्दैन। घाइते छ।
यसरी शिथिल भएको यमगजको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। यमगजलाई हेर्न हरिया मकैको घोगा बोकेर पुग्ने मानिसहरूको भीड हुन्छ। त्यसपछि तस्बिर र भिडियो खिचेर फर्कन्छन्। यमगजको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ।
सिकारीको सलबलाउने जंगलमा घाइते हात्ती बस्न थालेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्। २०७० चैतमा यही जंगलमा चितवन राष्ट्रिय निकुञ्जबाट डुल्दै आएको गैँडालाई गोली हानी घाइते बनाइएको थियो। घाइते गैँडा उपचारका क्रममा दुई महिना पछि बित्यो। त्यही घटना यमगज माथि नहोस् भनेर स्थानीय सचेत बन्दै पिर गर्न थालेका छन् ।
उनीहरूले वन र नगरपालिकालाई उपचार र उद्धारका लागि भनिरहेका छन्। तत्कालै उपचार गरेर हात्तीलाई निकुञ्जमा लग्न दबाब दिइरहेका छन्। वडा नम्बर ३ का अध्यक्ष रवि देवकोटाले हात्तीको उपचारमा हेलचेक्र्याइँ गर्न नहुने बताए।
यमगज खुट्टा खोच्याउँदै पानी पिउन चाँदी नदीमा पुग्छ। मानिसको आवागमन र होहल्ला पछि बिस्तारै फेरि नर्सरीमै फर्कन्छ। खुट्टाको घाउको कारणले प्रायः ऊ एकै ठाउँमा बस्ने गरेको छ। रुखको हाँगामा सूँड अड्याउँछ। हात्तीको पीडादायी अवस्था देखेर स्थानीयको दबाब पछि डिभिजन वन कार्यालयले हात्तीको उपचार तथा उद्धार गर्न भनी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौँ र राष्ट्रिय प्रकृति संरक्षण कोष ललितपुरलाई फागुन १५ गते पत्र लेख्दै भन्यो, 'उचित समयमा उपचार गर्न नसके हात्ती मर्ने खतरा छ।'
यसअघि पनि वनले पत्राचार गरेपछि फागुन १ गते चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आएको चिकित्सक टोलीले डार्ट गरेर यमगजको जंगलमै उपचार गरेको थियो। त्यसपछि पनि यमगजको घाउ निको भएको छैन। सिकारीको गोली लागी घाइते भएको अनुमान गरिएको छ। तर, यसको पुष्टि भने हुन सकेको छैन।
हात्तीको दाहिने खुट्टामा गोली हानियो वा धारिलो भाला रोपियो, अझै शङ्कास्पद छ। खुट्टा सुनिन थालेपछि यमगजको गतिविधि शिथिल हुँदै गएको डिभिजन वन प्रमुख हेमन्त साहले बताए। ‘हामीले तत्कालै हात्तीको उपचार हुन सकेन भने मर्ने खतरा छ भनेर सम्बन्धित निकायमा पत्र पठाइसकेका छौँ,’ उनले भने, ‘टोली आउँदै छ। अब फेरि उपचार हुन्छ।’ घाइते हुनुअघि जुडिबेला गाउँमा ५ वटा घर भत्काएको थियो। बालीमा समेत क्षति पुर्याउन थालेपछि स्थानीय आक्रोशित बनेका थिए। पछि घाइते अवस्थामा देखेपछि स्थानीयले डिभिजन वन र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई खबर गरेका थिए।
वन कार्यालयको समन्वयमा राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक अमिर सडौला र वन्यजन्तु प्राविधिक तीर्थ लामासहितको टोलीले घाइते ‘यमगज’ लाई जुडिबेला–२ स्थित हिलेखोला जंगलमा डार्ट गरेर उपचार गरेर छाडेको थियो। चिकित्सक सडौलाले यमगजको दाहिने खुट्टाको तल्लो भागमा गम्भीर चोट लागेको बताए। चिकित्सकको टोलीले यमगजलाई डार्ट गरी एक घण्टा लगाएर उपचार गरेको थियो। ‘खुट्टाको घाउको भित्री भागसम्म पीप जमेकाले त्यसलाई सफा गरेर एन्टिबायोटिक दिएका छौँ,’ सडौलाले भने, ‘घाउ ठीक हुन एक साता जति लाग्छ। त्यसपछि ऊ आफ्नो पुरानो वासस्थानमा फर्कन्छ।’
चिकित्सक सडौलाका अनुसार यमगजलाई सिकारीले गोली हानेको हो वा भाला प्रहार गरेको भन्ने यसै भन्न नसकिने बताए। ‘यसो हेर्दा गोली हानेको जस्तो देखिन्छ,’ उनले भने, ‘यसै भन्न सक्ने अवस्था छैन, तर घाउ निकै गहिरो छ। खुट्टा पनि सुनिँदै गएको छ।’ उपचारपछि यमगजलाई चिकित्सकको टोलीले जंगलमै छाडेको छ। उसलाई तत्कालै उद्धार गर्न सक्ने अवस्था नरहेको र नेपालमा जंगली हात्तीको उद्धार गर्न सम्भव नभएको चिकित्सक सडौलाले सुनाए।
यमगजले एक वर्षअघि मकवानपुर र बाराको कोल्हवीमा स्थानीय माथि आक्रमण गरेको थियो। मानिस देख्नै नहुने स्वभावको यमगज त्यस बेला चर्चामा आयो। उसलाई शान्त पार्न पर्सा निकुञ्जले धेरै प्रयास गर्यो। निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले यमगज तीन वर्षदेखि पर्सा निकुञ्जको जंगलमा बस्दै आएको बताए।
