बीपी राजमार्गको सिन्धुली खण्डमा स्थायी निर्माणका लागि ठेक्का आह्वान

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

Tender invitation for permanent construction of Sindhuli section of BP Highway

काठमाडौँ — गत असोजमा आएको बाढीका कारण क्षति पुगेको बीपी राजमार्ग अन्तर्गत सिन्धुली खण्डमा स्थायी निर्माणका लागि ठेक्का आह्वान गरिएको छ।

सडक डिभिजन खुर्कोट, खाल्टेमार्फत नेपालथोक-बर्खेखोला खण्डको ठेक्का गरिएको हो। सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार ३० दिनको समय तोकेर सूचना निकालिएको हो। काभ्रे खण्डको पनि छिट्टै ठेक्का गर्ने गरी तयारी भइरहेको उनले बताए।

बीपी राजमार्गको स्थायी निर्माण र अस्थायी मर्मतका लागि ८ अर्ब ५० करोड रुपैयाँ माग गरिएको थियो। उक्त राजमार्ग स्थायी रूपमा निर्माण र मर्मत गर्नलाई सडक डिभिजन भक्तपुर र खुर्कोटमार्फत रकम माग गरिएको थियो। यसअनुसार भक्तपुर खण्डमा ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँको स्रोत सहमति प्राप्त भएको हो। त्यहीअनुसार सिन्धुली खण्डको ठेक्का गरिएको हो।

काभ्रे भञ्ज्याङ–नेपालथोक खण्डको १२ किलोमिटर सडकमा बाढीपहिरोले बढी क्षति गरेको छ। यसको ८.७ किमि सडक खण्ड रोशी खोलाले बगाएको छ। क्षति भएको सबै खण्ड गरेर २८ किमि सडकलाई चार वटा प्याकेजमा विभाजन गरेर ठेक्का गर्न लागिएको छ । जसमा काभ्रेमा तीन र सिन्धुलीमा एउटा प्याकेज पर्नेछ। सिन्धुली खण्ड साढे २ किलोमिटर रहेको छ।

कान्तिपुर

Link copied successfully