तारकेश्वर लोकतान्त्रिक चोकको जग्गाबारे रास्वपा र कांग्रेसबीच संसद्मा भनाभन

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

Talking about the land of Tarakeshwar Democratic Chowk between RSVP and Congress in Parliament

काठमाडौँ — काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताले मिचेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा ध्यानाकर्षण गराएका छन्। कांग्रेसका सांसदले भने उक्त विषय उठाएकामा आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा रास्वपाका सांसद शिशिर खनाल र सुमना श्रेष्ठले तारकेश्वर लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताले मिचेको विषय उठान गरेका थिए। 'काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ को लोकतान्त्रिक चोकमा रहेको मचागाः (नेवार समुदायको चिहान) नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ - नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीय बासीहरूको गुनासो र उजुरीका बाबजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ,' खनालले भने।

त्यसपछि कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आपत्ति जनाएका थिए। उनले सभामुख देवराज घिमिरेसँग आपत्ति जनाउनका लागि समय मागेका थिए तर पाएनन्।

त्यसपछि शून्य समयमा नै रास्वपा सांसद सुमना श्रेष्ठले उक्त जग्गाबारे विषय उठान गरेकी थिइन्। 'लोकतान्त्रिक चोकको मचागाः कांग्रेस नेताले कब्जा गरेका छन्,' उनले भनिन्, ‘काठमाडौं क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर– ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं ६२/६३ नेपाली कांग्रसका नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीको वाबजुद स्थानीय निकायले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको आम गुनासो छ ।'

त्यसपछि कांग्रेसका सांसदहरू राजेन्द्र बजगाईं, राजन केसी, सचेतक सुशीला थिङ, कान्तिका सेजुवाल आफ्नो सिटबाट उभिएर विरोध जनाएका थिए। सांसद केसीले नियमापत्ति जनाउन खोज्दा सभामुखले समय दिएनन्।

सांसद बजगाईंले कांग्रेसले जग्गा कब्जाको कार्य नगर्ने भन्दै प्रतिवाद गर्न खोजेका थिए।

कान्तिपुर

Link copied successfully