दुई दल मिले प्रतिनिधिसमा १० सिटको राष्ट्रिय पार्टी बन्ने
काठमाडौँ — गत आमनिर्वाचनमा मधेश र पश्चिम तराईमा उदाएका नयाँ राजनीतिक शक्ति जनमत र नागरिक उन्मुक्तिबीच एकता हुने करिब निश्चित भएको छ । मधेश केन्द्रित दलबीच सहकार्यको प्रयास भइरहेका बेला मधेश र पश्चिम तराईबाट प्रतिनिधित्व गर्ने जनमत र उन्मुक्तिबीच एकता हुन लागेको हो ।
दुई दलका नेताले एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । आगामी निर्वाचनमा मधेश तराईमा पहिचानवादीको ‘निर्णायक’ शक्ति बन्ने उद्देश्यले पार्टी एकता गर्न लागेको उनीहरूको दाबी छ । प्रतिनिधिसभामा जनमतले ६ र उन्मुक्तिले ४ सिट जितेर प्रतिनिधित्व गर्दै आएका छन् । प्रत्यक्ष एक र समानुपातिकमा पाँच सिट जितेर जनमत राष्ट्रिय पार्टी बनेको थियो । दुई दलबीच एकता हुँदा प्रतिनिधिसभामा १० सिट भएको राष्ट्रिय पार्टी बन्ने र त्यसले मधेश र तराईमा नयाँ राजनीतिक तरङ्ग ल्याउने दुई दलका नेताको भनाइ छ ।
जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहित विचार र सिद्धान्त मिल्ने अन्य पार्टीसँग पनि एकीकरण गर्न कार्यदल गठन गर्ने निर्णय गरिसकेको छ । विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्ने उद्देश्यले अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य रहेको कार्यदल बनाएको हो ।
नागरिक उन्मुक्तिका संस्थापक अध्यक्ष रेशमलाल चौधरीले दुई दलबीच एकताको प्रयास अन्तिम चरणमा पुगेको जानकारी दिए । राजनीतिक दस्तावेज, पार्टीको नाम र चुनाव चिह्नबारे छलफल टुंग्याएर छिट्टै एकता गर्ने उनले बताए ।
‘पार्टी एकताको राजनीतिक ड्राफ्ट तयार भइसकेको छछ । अब छिट्टै पार्टी एकता गर्ने तयारीमा छौं,’ उनले भने, ‘तराई मधेशमा बसोबास गर्ने, रहनसहन, कार्यशैली मिल्ने, तराईमा बसेर हामीजस्तै पहिचानको मुद्दा अघि बढाइरहेका शक्ति मिलेर नेतृत्व लिनुपर्छ भन्ने अवधारणा नै पार्टी एकताको आधार हो ।’ उनले ‘पहिचानवादीको ठूलो शक्ति बन्न मुद्दा मिल्ने पार्टीसँग सहकार्य गर्नुको विकल्प नभएको’ पनि बताए ।
जनमतका महासचिव चन्दन सिंहले पनि पहिचानको मुद्दा लिएर मधेश तराईमा ‘निर्णायक’ शक्ति बन्ने मुख्य उद्देश्यका साथ पार्टी एकतामा जुटेको बताए । ‘पहिचानवादी शक्तिहरू एक हुनुपर्छ भन्ने पार्टी एकताको मुख्य आधार हो । पहिचानवादी, परिवर्तनकामी शक्तिहरूबीच एकता गरेपछि मात्र मुद्दा अघि बढाउन सकिन्छ,’ उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीको मूल उद्देश्य पनि पहिचानको मुद्दालाई मूर्त रूपमा अघि बढाएकाले एकताका लागि आधार तयार भएको हो ।’
थरुहट र मधेश एक भए भने पहिचानवादी शक्तिलाई आगामी निर्वाचनमा आफ्नो मुद्दा लागू गर्न सहज हुने निष्कर्ष केन्द्रीय कमिटी बैठकले निकालेको उनले बताए । जनमत अध्यक्ष सीके राउत र नागरिक उन्मुक्तिका संस्थापक चौधरीले एकताका लागि गृहकार्य गरिरहेको सिंहले जानकारी दिए ।
पार्टी एकताका लागि मधेश, लुम्बिनी र सुदूरपश्चिमका जिल्ला तहमा पनि छलफल सुरु भएको छ । उन्मुक्तिका केन्द्रीय सदस्य गणेश चौधरीले जिल्ला तहमा एकतापछि बन्ने पार्टीको संरचनाबारे छलफल चलिरहेको बताए । ‘कसरी जाने भन्ने छलफल चलिरहेको छ । स्थानीय तहमा पनि चर्चा सुरु भइसकेको छ,’ उनले भने ।
२०७९ पुसमा यी दुई पार्टीबीच एकताका लागि प्रयास भए पनि अघि बढ्न सकेको थिएन । गत निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभामा नाउपाका ७ सांसद निर्वाचित छन् । त्यस्तै लुम्बिनीमा ४ र मधेशमा १ सांसद रहेका छन् । त्यस्तै मधेशमा जनमतका १३ र लुम्बिनीमा ३ सांसद रहेका छन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा १४ सांसदसहित एकीकरणपछि पनि चौथो दलका रूपमा रहनेछ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ५ औं र ६औं स्थानमा रहेका नाउपा र जनमत एक भए चौथो स्थानमा पुग्नेछ ।
