अहिलेसम्मका भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरौँ  : महामन्त्री थापा

फाल्गुन २८, २०८१

नवीन पौडेल

Let's form a high-level investigation committee to investigate the corruption so far: Mahamantri Thapa

पश्चिम नवलपरासी — कांग्रेस महामन्त्री गगन थापाले अहिलेसम्म चर्चामा रहेका भ्रष्टाचार नेताका सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।

कांग्रेस पश्चिम नवलपरासी क्षेत्र नम्बर २ ‘क’ को क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले अख्तियार र सरकारले गरेका अनुसन्धानमा चित्त नबुझेको भए संसद्‍बाट उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्न सकिने बताए ।

‘एकले अर्कालाई आरोपप्रत्यारोप गर्नुभन्दा अवकाश प्राप्त कुनै प्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरौँ,’ उनले भने,‘ समितिले दोषी देखाएका सबैलाई मामा, काका, दाइ नभनी सबैलाई कारबाही गरौँ ।’ 

पछिल्लो समयमा नागरिकहरूमा असन्तुष्टि बढेकाले यसलाई सरकार र नेताले गम्भीर भएर सोच्नुपर्ने बताए । राजावादीप्रति लक्षित गर्दै महामन्त्री थापाले जनताको आक्रोशलाई एकथरी मानिसले घ्यू थप्ने प्रयास गरेकाले सरकार र दलका नेताहरूले जनभावना बुझेर अगाडि बढ्नुपर्ने बताए ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully