आधा बाटो नहिँड्दै किन थाक्यो माओवादी ?

'अब अभियानको मोडेल परिवर्तन गरी कार्यक्रम बनाउने तयारी'

फाल्गुन २७, २०८१

गंगा बीसी

Why did the Maoist get tired without walking halfway?

काठमाडौँ — पूर्वी नेपालको झापाबाट माओवादी केन्द्रको ‘जनतासँग माओवादी : तराई मधेश जागरण अभियान’ बारा पुगेर शनिबार अचानक स्थगित भयो । चैत १२ मा कञ्चनपुर पुगेर समापन गर्ने कार्यतालिका भएपनि शनिबार बारामा घरदैलो र सभापछि अनिश्चितकालका लागि अभियान रोकियो ।

शनिबार सर्लाहीमा उपलब्ध पदाधिकारीको बैठकले यो राजनीतिक अभियान प्रत्यक्ष जनतासँग जोडिने काम भए पनि एउटै जिल्लामा बढी समय खर्चिनुपर्ने, कार्यक्रम सुरक्षा व्यवस्थाको विश्लेषण गर्नुपर्ने, कार्यक्रमको उस्तै प्रकृति भएकाले स्थानीयका आकर्षण घट्दै गएकाले केही समय स्थगित गर्ने निर्णय गर्‍यो ।

नेपाल भारत सीक्षाक्षेत्र सप्तरी, सर्लाहीको हुलाकी राजमार्गमा माओवादीले अभियान गरिरहेका बेला पूर्वराजा समर्थकले वीरगञ्जमा प्रदर्शन गरेका थिए । माओवादीको अभियान हुने तराईका जिल्लामा थप प्रदर्शन गर्ने तयारी गरेको सूचना माओवादी नेताहरुले पाएका थिए । त्यसले माओवादीलाई झस्काएको थियो । माओवादी अभियानमा स्थानीय सुरक्षा व्यवस्था भए पनि पर्याप्त नभएको उनीहरुको बुझाइ थियो ।

झापाबाट महोत्तरीसम्म कार्यक्रम गरेपछि तीन दिन ब्रेक लिएर फेरि सुरु गरे पनि दुई दिनपछि बारा पुगेर पुनः स्थगित भएको छ । त्यसपछि स्थगित भएको अभियान रोकेर शीर्ष नेताहरु काठमाडौं फर्किए । तराई मधेशका जिल्लाका दक्षिणी भेगको हुलाकी राजमार्ग केन्द्रित अभियानमा अध्यक्ष पुष्पकमल दाहाल बिहानी हिँडाइदेखि अबेर बेलुका बास बस्ने बेलासम्म निरन्तर खटेकाले लखतरान देखिन्थे ।

Why did the Maoist get tired without walking halfway?

बारा आइपुग्दासम्म दाहालको स्वर भासिएको थियो भने घाम, धुलोमैलोले नेताहरुलाई प्रभाव पार्न थालेको एक नेताले बताए । पार्टी समर्थक र शुभेच्छुकको घरमा खाने बस्ने, दिउँसो सामूहिक भोजनलाई काठमाडौंमा सुकिला र मीठो मसिनो बानी लागिसकेका नेतालाई पचाउन कठिन भइसकेको थियो । एक महिने ‘लङ मार्च’लाई निरन्तर अघि बढाउने निर्णय गरेको माओवादीलाई अचानक स्थगित गर्न सकस परिरहेका बेला राजावादीका गतिविधि एउटा बहाना बन्यो । शान्ति प्रक्रियामा आइसकेपछि माओवादी नेताहरु चुनावबाहेक अरु बेला यसरी जमिनमा निरन्तर हिँडेर घरदैलो गरेका थिएनन् । हुलाकी राजमार्गको करिब एक हजार ८ सय ५० किलोमिटर राजनीतिक यात्रा माओवादीका लागि एउटा परीक्षा थियो । उसले यो राजनीतिक परीक्षा पास गर्न अर्को कसरत गर्ने तयारी गरेको छ ।

माओवादीको मधेश समिति र सबै आठ जिल्लामा चर्को विवादका कारण सम्मेलन हुन सकेको छैन । पार्टी विवाद कायम रहेकै बेला दाहाल आफैंले नेतृत्व गरेको अभियानमा मधेशका सबै नेता तथा कार्यकर्ता पूरा सक्रियतापूर्वक लागेका थिएनन् । जसका कारण माओवादीको सभामा अपेक्षित उपस्थित हुन नसकेको पार्टी नेतृत्वले महसुस गर्दै केही समय स्थगित गरी गर्ने निर्णय गर्‍यो ।

Why did the Maoist get tired without walking halfway?

सर्लाहीमा बसेको उपलब्ध पदाधिकारी बैठकले सबै नेतृत्व अभियानमा लाग्दा काठमाडौंमा संसद् प्रभावकारी हुन नसकेको, पूर्व राजावादीहरुका गतिविधि बढेको भन्दै 'लङ मार्च'मा ब्रेक लगाउने निर्णय गर्‍यो ।

‘बिहानदेखि बेलुकासम्म मधेशका गाउँ टोलमा निरन्तर हिँड्दा अध्यक्ष प्रचण्डलगायत नेताहरु लखतरान भइसकेका थिए,’ अभियानमा हिँडेका एक नेताले भने, ‘शान्ति प्रक्रियामा आइसकेपछि नेताहरुको बानी बिग्रिइसकेको थियो । त्यसैले धुलोमैलोमा हिँड्नु, जनताको घरमा जे छ, त्यही खाना मिठो नलाग्नु स्वभाविक थियो । त्यसैले आधा बाटो हिँडेपछि अभियान स्थगित भएको छ ।

सोमबार अध्यक्ष दाहाल निवास ललितपुर खुमलटारमा बसेको पदाधिकारी बैठकले घरदैलो अभियान प्रत्यक्ष जनतासँग जोडिन प्रभावकारी भए पनि समयको चापका कारण यसको ढाँचा परिवर्तन गर्ने निर्णय गरेको छ । बैठकले अभियानको ढाँचा परिवर्तन गरी चैत दोस्रो सातादेखि बाराबाट अभियान सुरु गर्ने निष्कर्ष निकालेको छ ।

Why did the Maoist get tired without walking halfway?

‘अहिलेको अनुभव र शिक्षालाई ध्यानमा राखेर गुणात्मक बनाएर अभियानमा जान्छौं । जहाँबाट स्थगित भएको हो, त्यहीँबाट सुरु गर्छौं,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘अभियान अहिले असाध्यै घनिभूत ढंगले भयो । घरघर टोलटोलमा लाग्यौं । समयको चाप भयो । अबचाहिँ गुणात्मक कार्यक्रम, विशेष खालका गोष्ठी गरी गुणात्मक रुपमा जाने सोच्दैछौं ।’

उनले सारमा जनताका विश्वासका कुरा सुन्ने र सुझाव लिने काम भएको उल्लेख गर्दै अब संख्यामा भन्दा गुणात्मकरुपमा सभा, गोष्ठी गर्ने बताए । ‘अब बढीभन्दा बढी जनतालाई जागृत गर्ने कुरा हुन्छ, व्यवस्थित गरेर जान्छौं,’ उनले भने ।

अभियानका क्रममा दाहालले विगतमा पार्टी जनतातर्फ नफर्कनु कमजोरी भएको उल्लेख गर्दै अब गल्ती नगर्ने प्रतिवद्धता व्यक्त गर्दै हिँडेका थिए ।

‘विगतमा जनतालाई बेवास्ता भाएकै हो । अब हामी जनतासँग फर्किन अभियानमा आएका छौं,’ दाहालले सभामा भन्दै आएका थिए । अभियानका क्रमा दाहालले आक्रोश, प्रश्न र गुनासोको सामना गर्दै हिँड्नु परेको थियो ।

उपहासचिव एवं मधेश प्रदेश इञ्चार्ज मातृका यादवले अभियानको मोडल फेरेर अघि बढ्ने निधो भएको बताए । ‘अब खण्डित रुपमा अभियान गर्ने, तीन चार जिल्ला सकेपछि, फेरि काठमाडौं फर्केर सदन तताइने छ,’ उनले भने, ‘अभियानका क्रममा अध्यक्ष बोलेको बोल्यै गर्ने, अरु ताली मात्र बजाउने भयो । अब अभियानका लागि नेताहरुको जिम्मेवारी तोकेर जिल्ला खटाइने छ ।’

पार्टीको अभियान सकिएपछि मधेश प्रदेश र जिल्ला सम्मेलन गरी नेतृत्व चयन गर्ने उनको भनाइ छ । ‘सकेसम्म सहमति भएन भने चुनाव गरेर नेतृत्व चयन गरिनेछ,’ उनले भने ।

मधेश प्रदेशमा उपमहासचिवद्वय यादव र गिरिराजमणि पोखरेल पक्षबीच अन्तरसंघर्ष छ । जसका कारण मधेश प्रदेश र जिल्ला समितिहरु पूर्णरुपमा सक्रिय हुन सकेका छैनन् ।

Why did the Maoist get tired without walking halfway?

स्थायी समिति सदस्य एवं मधेश सहइञ्चार्ज प्रल्हाद बुढाथोकीले अभियानका क्रममा कोर मधेशमा माओवादी पुग्ने अवसर प्राप्त भए पनि एउटै जिल्लामा धेरै समय खर्चिनु परेको बताए । अब समयलाई ध्यानमा राखेर अभियानको मोडेल परिवर्तन गरी कार्यक्रम बनाउने तयारी भइरहेको उनको भनाइ छ ।

‘माओवादीले अभियानमा राम्रो रेस्पोन्स पाइयो । तर धेरै दौडधुप भयो । मूल नेतृत्व (अध्यक्ष) जताततै जानुपर्ने अवस्था आयो । त्यसले बढी चाप पर्‍यो,’ उनले भने, ‘अध्यक्ष जता गए पनि राम्रो उपस्थिति थियो । अभियानका क्रममा थकान एउटा सामान्य कारण भयो । अरु राजनीतिक तरलताका कारणले स्थगित हुनुपर्‍यो । नयाँ ढंगले सुरु हुनेगरी जाने भएको छौं ।’

उनले मधेश प्रदेशमा पार्टी विवाद भए पनि अभियानका क्रममा सबै सक्रिय भएको बताए । ‘विवादबाट माथि उठेर जनताको बीचमा सबै एक जुट भएर गएका छौं,’ उनले भने, ‘यसले विवाद मिलाउन सघाउ पुगेको छ ।’

०००

पूर्वराजा चलमलाउनुमा देशभित्र र बाहिरी शक्तिको प्रयास : माओवादी

माओवादी केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय हुन खोज्नु देशभित्र र बाहिरी शक्तिको प्रयास भएको निष्कर्ष निकालेको छ । सोमबार बसेको पदाधिकारी बैठकले पूर्वराजा शाह पोखराबाट काठमाडौं आउँदा स्वागतमा ठूलो मास आउनु राजावादी र बहिरी शक्तिको उक्साहट रहेको निष्कर्ष निकालेको हो ।

पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले देशभित्रका राजावादी मात्र नभएर बाहिरी शक्तिको उक्साहट रहेको बताएको एक नेताले जानकारी दिए ।

‘पूर्वराजा सक्रिय हुन खोज्नु देशभित्रको मात्र होइन, बाहिरको उक्साहट देखिन्छ,’ उनको भनाइ थियो, ‘यो संविधान र व्यवस्थाको रक्षा गर्ने सबै समाधान भनेको जनतालाई सचेत बनाएर जनपरिचालन गर्ने, आवश्यकता अनुसार ठूला प्रदर्शन गर्ने हो ।’

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले सरकारले प्रभावकारी काम गर्न नसक्दा राजावादीले सल्बलाएको, दुई दलीय निरंकुश व्यवस्थातिर जान खोजेकाले सर्वसाधारण रुष्ट भएको बताए ।

‘यो सडक प्रदर्शन राजावादीप्रति आकर्षण भएर होइन । सरकारको नालयकी हो,’ उनले पदाधिकारीको निष्कर्ष सुनाए, ‘सरकारले सुशासन दिन चुकेको, सरकारी सेवा प्रभावकारी नबनाएको, भ्रष्टाचार नियन्त्रण गर्न सकेकोले झन् आक्रोश बढेको छ । सडकमा आक्रोश बढ्नुमा सरकार सबभन्दा बढी जिम्मेवार छ ।’

माओवादीले संविधानको उल्लंघन गर्नेलाई दायरामा ल्याउने जिम्मेवारी सरकारको भएको बताएको छ । ‘संविधानले निर्देशित गरेको कुरा सबैले मान्नै पर्छ । संविधान मिच्नेलाई दायराभित्र ल्याउन सरकार र सदनले भूमिका खेल्नुपर्छ । अराजकता नियन्त्रण गर्ने जिम्मेवारी सरकारको हो ।’

माओवादीले संविधान रक्षाको लागि संसद्‌मा बहस गर्नुपर्ने जनाएको छ । ‘संविधान रक्षाका लागि सरकारले गहिरो गरी संविधानलाई आत्मसाथ गर्नुपर्छ । सदनमा संविधान रक्षार्थ बहस खोल्नुपर्छ,’ प्रवक्ता सापकोटाले भने, ‘अराजकता भनेको स्वतन्त्रता होइन । सरकार बढी जिम्मेवार, जनमुखी हुनुपर्‍यो, सुशासन कायम गर्नुपर्‍यो । मुख्य कुरा जनताको विश्वास लिनुपर्‍यो ।’

अध्यक्ष दाहालले संविधानको रक्षा, सरकारलाई खबरदारी गर्न मंगलबार संसद्‌मा विशेष समय लिएर सम्बोधन गर्ने निर्णय माओवादीले गरेको छ । संसद्‌मा उनले सरकारका कारण आक्रोश बढ्दै गएको, प्रतिगमनकारीले टाउको उठाएको भन्दै संविधानको रक्षाका लागि एकजुट हुन आह्वान गर्ने तयारी गरेका छन् ।

गंगा

Link copied successfully