काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रान्तिकारीहरूलाई पूर्ण रूपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीहरुको काँधमा आएको बताएका छन् ।
पार्टीको सहायक संगठन वाईसीएल नेपालको बैठक उद्घाटनका क्रममा उनले विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिक रूपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वाभाविक नभएको बताएका हुन् ।
अध्यक्ष दाहालले त्यस्ता प्रयासविरुद्ध अझ बढी संगठित र सशक्त भएर उनीहरूलाई पूर्ण रूपमा परास्त गर्नु क्रान्तिकारीहरूको दायित्व हुने बताए । अहिलेको सरकारले गरिरहेको गलत क्रियाकलापका कारण प्रतिगामी र प्रतिक्रान्तिकारीहरूले आफूलाई स्पेस पाएको पनि दाहालको भनाइ छ ।
यसलाई क्रान्तिकारीहरूले क्रान्ति पूरा गर्ने अवसरका रूपमा लिनुपर्ने दाहालले बताए । आफ्नो पार्टीले २०६२ सालमै गणतन्त्र स्थापनापछि पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच बेलाबेला टक्कर चलिरहने र समाजवादी गणतन्त्रका लागि थप संघर्ष गर्नुपर्छ भन्ने विश्लेषण गरिएको पनि उनले बताए ।
