३४ दिनदेखि ‘ग्राउन्डेड’ जहाज पोखरा लग्न खोजिएको, मर्मतका लागि गरिएको ‘फेरि फ्लाइट’ मा गैरप्राविधिक व्यक्तिलाई राखिएको र ४ वर्षीय बालकलाई पनि बयस्क भनेर उडाइएको भन्दै बिमा कम्पनीले गर्यो प्रश्न
काठमाडौँ — सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेका आफन्तले सात महिना बित्दासमेत बिमा क्षतिपूर्ति पाएका छैनन् । गत साउन ९ मा पोखराका लागि उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुर्घटनाग्रस्त हुँदा एयरलाइन्सका प्राविधिकसहित १८ जनाको ज्यान गएको थियो ।
‘फेरि–फ्लाइट’ (नन–रेभिन्यु) उडानमा रहेको सौर्य एयरलाइन्सको सीआरजे–२०० विमान १०० मिटर उचाइ लिएपछि असन्तुलित भई ४ सेकेन्डमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलछेउमै झरेको थियो । दुर्घटनामा ३५ वर्षीय क्याप्टेन मनीषरत्न शाक्यको जीवितै उद्धार गरिएको थियो भने एक बालकसहित १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । शाक्य दिल्लीमा उपचार गरेर हाल घरमा आराम गरिरहेका छन् । थप उपचारका लागि उनलाई सिंगापुर लैजाने तयारी भइरहेको सौर्यले जनाएको छ ।
सरकारले दुर्घटना जाँचबुझका लागि प्राधिकरणका पूर्वमहानिर्देशक तथा एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगले ७ महिना बितिसक्दा पनि पूर्ण प्रतिवेदन सार्वजनिक गरेको छैन । घटनालगत्तै पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेले ९० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्ने अभिव्यक्ति दिएका थिए । तर २२७ दिनसम्म पनि पूर्ण प्रतिवेदन नआउँदा पनि सरकार मौन छ ।
बेलायतको पुनर्बिमा कम्पनीमार्फत जिम्मा पाएको नेपालको प्रधान एन्ड एसोसिएट्स प्रालिले ६ जनाको परिवारलाई भने केही दिनभित्रै क्षतिपूर्ति दिने दाबी
आयोगले भदौ २० मा सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा तीन वटा कमजोरीका कारण दुर्घटना भएको उल्लेख छ । विमानको उडान तौलको सम्भावित असन्तुलन, ‘टेकअफ’ हुँदै गर्दा ‘रन–वे’ मा अपनाउनुपर्ने गतिमा कमी र ‘फेरि उडान’ मा अपनाउनुपर्ने मापदण्ड पालना नभएको विषयलाई दुर्घटनाको प्रमुख कमजोरीका रूपमा औंल्याइएको छ । तर विस्तृत र पूर्ण प्रतिवेदन खुलाउन भने आयोगले ढिलाइ गरिरहेको छ ।
सौर्य एयरलाइन्सले बिमा गरेको प्रभु इन्स्योरेन्स र प्रभुले पुनर्बिमा गरेको बेलायती कम्पनीले उडानको वैधतामा प्रश्न गरेकाले भुक्तानीमा ढिलाइ भइरहेको स्रोतको भनाइ छ । प्रभु इन्स्योरेन्सले बेलायतको लोयड समूहको एक्सा एक्सएल कम्पनीसँग पुनर्बिमा गरेको छ । सौर्यको उक्त उडान वैधानिक भए/नभएको, जहाजको रेडियो मोबाइल लाइसेन्स र वायुयोग्यता प्रमाणपत्र वैध भए/नभएको विषयमा पुनर्बिमा कम्पनीले प्रश्न गरेको छ ।
कम्पनीले ‘फेरि–फलाइट’ का लागि उडान अनुमति जारी गर्ने क्रममा अपनाइएका प्रक्रिया पर्याप्त नभएको, नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रकाशित गरेका उडान अनुमति प्रक्रियाका मापदण्ड पालना नभएको भन्दै बिमा रकम रोकेको प्राधिकरणका अधिकारीले जानकारी दिएका छन् ।
‘यो फेरि–फ्लाइट थियो वा स्पेसल फ्लाइट भनेर पुनर्बिमा कम्पनीले नागरिक उड्डयन प्राधिकरणलाई दुई पटक जवाफ मागिसकेको छ,’ एक अधिकारी भन्छन्, ‘स्पेसल र फेरि–फ्लाइटमा टिकट बिक्री गरेर यात्रु वा असम्बन्धित यात्रु राख्न पाइँदैन । यो उडानमा कर्मचारीबाहेक एक महिला र बालकका विषयमा पुनर्बिमा कम्पनीले नेपालको नियमनकारी निकायलाई प्रस्ट पार्न भनिरहेको छ ।’
पुनर्बिमा कम्पनीले यो दुर्घटनाका सम्बन्धमा कानुनी अध्ययनको जिम्मा सिंगापुरको एक कम्पनीमार्फत नेपालको प्रधान एन्ड एसोसिएट्स प्रालिलाई दिएको छ ।
ललितपुरको बखुन्डोलमा रहेको एसोसिएट्स कार्यालयले यो हवाई दुर्घटनामा मृत्यु भएका १८ मध्ये पुण्यरत्न शाही, श्याम बिन्दुकार, अमितमान महर्जन, सर्वेश मरासिनी, अश्विनकुमार निरौला र सागरकुमार आचार्य गरी ६ जनाको परिवारबाट क्षतिपूर्ति रकम दाबी भइआएको जनाउँदै माघ २४ मा क्षतिपूर्तिउपर अन्य कसैको दाबी लाग्ने भए ३५ दिनभित्र प्रमाणसहित आउन सूचना जारी गरेको थियो । ‘अन्यको हकदाबी नपरेकाले केही दिनमै ६ जनालाई पुनर्बिमा कम्पनीले दिने क्षतिपूर्ति दिलाइनेछ,’ सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेल भन्छन् । प्रधान एन्ड एसोसिएट्स प्रालिका पदाधिकारीले भने बिमालगायतका विषयमा बोल्ने अधिकार नभएको भन्दै प्रतिक्रिया दिन चाहेनन् ।
नेपालमा आन्तरिक उडानमा वार्सा महासन्धि १९२९ तथा त्यसअन्तर्गतको हेग प्रोटोकल १९९५ अनुसार हवाई दुर्घटनामा मृत्यु हुने यात्रुका परिवारले २० हजार (२७ लाख ९७ हजार रुपैयाँ) अमेरिकी डलर प्रतियात्रु क्षतिपूर्ति दायित्व पाउँछन् भने चालकदल (पाइलट, क्याबिन–क्रू, इन्जिनियर वा डिस्प्याचर) ले ५० हजार अमेरिकी डलर (६९ लाख ९३ हजार रुपैयाँ) प्रतिव्यक्ति क्षतिपूर्ति दायित्व पाउने व्यवस्था छ ।
तर पुनर्बिमा कम्पनी एक्सा एक्सएलले दुर्घटनामा मृत्यु भएका कोपाइलट सुशान्त कटवाल र इन्जिनियर सन्तोष महतोका परिवारलाई मात्र ५० हजार अमेरिकी डलर प्रतिव्यक्ति क्षतिपूर्ति दिने जनाएपछि बाँकी १६ मृतकका परिवारले असन्तुष्टि व्यक्त गरेका छन् । दुर्घटनामा परेका कर्मचारीका आफन्तले ‘क्रू–मेम्बर’ का परिवारले प्राप्त गर्नेसरह नै क्षतिपूर्ति माग गर्दै आइरहेको सौर्यका अध्यक्ष पोखरेलको भनाइ छ । ‘केही परिवारले बिमा क्षतिपूर्ति नियमअनुसार कम भएको भन्दै मुद्दामा जाने भनिरहनुभएको छ, केहीको अबको साता भुक्तानी हुँदै छ,’ उनी भन्छन् ।
दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज ३४ दिनदेखि ‘ग्राउन्डेड’ थियो, जसलाई मर्मतका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा लगिँदै थियो । दुर्घटनामा ज्यान गुमाएकी ३० वर्षीया प्रिजा खतिवडाका बुबा प्रकाशकुमार खतिवडाले ३४ दिनदेखि उडानमा नरहेको जहाजलाई उडान अनुमति जारी गरेकामा प्राधिकरणको भूमिकाप्रति शंका व्यक्त गरेका छन् ।
सौर्य एयरलाइन्सका आईटी इन्जिनियर मनुराज शर्मा, पत्नी प्रिया र नाबालक छोरा अधिराजको उक्त दुर्घटनामा मृत्यु भएको थियो । ‘घटना भएको जहाजको उडान नै गैरकानुनी हो, २१ वर्ष पुरानो र ३४ दिनदेखि ग्राउन्डेड जहाजलाई फेरि उडान भनिएको छ,’ खतिवडाले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिलाई लेखेको पत्रमा उल्लेख गरेका छन्, ‘फेरि उडान गर्दा ५ जनाभन्दा बढी र उडानसँग असम्बन्धित यात्रु बोक्न पाइन्न, गैरकानुनी उडानमा कानुनविपरीत यात्रु बोकेर १८ जनाको नरसंहार गरियो ।’
खतिवडाले त्यस दिन जारी भएको लोडसिटमा नाति अधिराजलाई एडल्ट (वयस्क) यात्रु र वायुसेवाकै कर्मचारी बनाएको भनी सम्बन्धित अधिकारीलाई कारबाहीको मागसमेत गरेका छन् । ‘मैले यो दुर्घटनामा ५ वटा विषयमा प्रश्न उठाएको छु, यी विषयका लागि न्यायिक लडाइँमा छु, संवैधानिक आयोगमार्फत यो जहाज दुर्घटनाको पुनः अनुसन्धान हुनुपर्छ,’ उनले मंसिर ५ मा प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनेका छन् ।
सौर्यका उपमहाप्रबन्धक उमेश आचार्यले भने उडानमा ‘लोडसिट’ तयार गर्दा अधिराजलाई ‘मास्टर’ लेखिनुपर्नेमा गल्तीले ‘एडल्ट’ लेखिन गएको बताए । ‘यो ठूलो त्रुटि होइन, त्यसले फरक पार्दैन,’ आचार्य भन्छन् । तर प्रिजालाई पति शर्माले नै कम्प्युटरको काम लगाउने भएकाले उनलाई ‘स्टाफ’ नै लेखिएको आचार्यको भनाइ छ ।
