समाजवादी मोर्चाले नागरिक समाजसँग अन्तरक्रिया  र जनप्रदर्शन गर्ने

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

Samajwadi Morcha will interact with civil society and hold public demonstrations

काठमाडौँ — समाजवादी मोर्चा नेपालले पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे नागरिक समाज, बुद्धिजीवी, विभिन्न पेसामा आबद्ध व्यक्तित्वसँग बृहत् अन्तरक्रिया गर्ने भएको छ ।

आलोकनगरस्थित नेकपा एसको केन्द्रीय कार्यालयमा मंगलबार बसेको मोर्चाको बैठकले प्रतिगामी शक्तिविरुद्ध कसरी एकताबद्ध भएर अगाडि बढ्न सकिन्छ भन्नेबारे सुझाव संकलन गर्न आगामी चैत १ गते अन्तरक्रिया गर्ने निर्णय गरेको नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै परिवर्तनकारी लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने विषयमा छलफल गरिएको र  बैठकमा गणतन्त्रात्मक व्यवस्थालाई थप समुन्नत र सुदृढ गर्ने विषयमा समीक्षा गरिएको उनले बताए । 

बैठकमा यही फागुन २५ गते राजावादीहरूले गरेको प्रदर्शन, पार्टीका गतिविधिहरूबारे छलफल गरिएको र मोर्चाले निर्माण गर्ने कार्ययोजना चैत १ गते पत्रकार सम्मेलनमार्फत जानकारी दिनेसमेत निर्णय गरिएको छ ।

मोर्चाले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनपरिचालन कार्ययोजनामा तथा समसामयिक राजनीति तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा गरेको पनि नेता विश्वकर्माले जानकारी दिए। बैठकले आगामी चैत १५ गते काठमाडौँमा गणतन्त्र रक्षाका लागि विशाल प्रदर्शन तथा आमसभा गर्ने निर्णयसमेत गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully