दाहाललाई राप्रपाको चेतावनी : भविष्यमा सदनमा नपस्ने व्यवस्था जनताले गर्छन् भन्ने हेक्का होस्

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

RPP's warning to Dahal: Be aware that the people will arrange for him not to enter the House in the future

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले राजाको नामले सदन तरंगित हुनु खुसीको कुरा भएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गैरजिम्मेवारपूर्ण कुराहरू राखेको भन्दै आपत्ति जनाए । भविष्यमा जनताले सदनमा नपस्ने व्यवस्था गर्न सक्ने कुराको हेक्का राख्न चेतावनी दिए । उनले संविधानमा व्यवस्था परिवर्तन नहुने भन्ने कुरा नरहेको उल्लेख गरे । अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न नसक्ने जिकिर गरे । 

उनले भने, ‘आज सदन राजाको नामले तरंगित छ, अति खुसीको कुरा हामी हर्षित छौँ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा फागुन ७ गत राजाबाट शुभकामना व्यक्त हुँदै आफ्नो अभिभावकीय भूमिका बिर्सिबक्सिएन । आफ्नो बाटोबाट अन्यत्र लगिरहेको अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न सक्दैन, जनताको हित गर्न सक्दैन, त्यस कारण यो सन्दर्भमा सबै जना एकसाथ जुटौँ भन्ने सन्देशलाई सबै नेपालीले आत्मसात् गरे । २५ गते पोखराबाट फिर्ती सवारी हुँदा स्वतःस्फूर्त जनता स्वागत गर्न एयरपोर्टबाट निर्मल निवाससम्म सरिक रह्यो ।’

उनले आफूहरूले राम्रोसँग संविधान अध्ययन गरेको पनि बताए । उनले राजसंस्थाको उपस्थिति नभएसम्म लम्पसार वादी व्यवहार जारी रहने बताए । अरूको बुई चढेर आएको पार्टीले देशको हित गर्न नसक्ने बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully