गैरसरकारी संस्थालाई नियमन गर्न तीन कानुन गाभ्ने तयारी

गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीको नेतृत्वमा विधेयक मस्यौदा कार्यदल गठन

फाल्गुन २७, २०८१

मातृका दाहाल

Preparing to merge three laws to regulate NGOs

काठमाडौँ — राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नियमन प्रभावकारी बनाउन सरकारले तीनवटा ऐनलाई गाभ्ने तयारी गरेको छ । राष्ट्रिय निर्देशन ऐन २०१८, संस्था दर्ता ऐन २०३४ र समाज कल्याण ऐन २०४९ लाई गाभेर एकीकृत विधेयकको मस्यौदा बनाउन गृह मन्त्रालयले कार्यदल बनाएको छ ।

सामाजिक कार्य, विकास सहायता, सुशासनलगायत नाममा विभिन्न मुलुकबाट भित्रिएको अनुदान गैससले अपचलन गरेका तथ्य भेटिएपछि एउटै छातामुनि ल्याएर नियमन गर्न कानुन निर्माणको गृहकार्य थालिएको गृह मन्त्रालयले जनाएको छ । एकीकृत विधेयकको मस्यौदा निर्माणका लागि गृहमन्त्री रमेश लेखकले गठन गरेको कार्यदलमा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारी संयोजक छन् । कार्यदलमा गृहसहित कानुन, न्याय तथा संसदीय मामिला र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकारी सदस्य छन् ।

संयोजक तिवारीले गैसससँग सम्बन्धित कानुनलाई संशोधन र एकीकरण गरी एउटै विधेयकको मस्यौदा तयार पार्न गृहकार्य थालिसकेको जानकारी दिए । गैससका गतिविधि नियमन र अनुगमन नहुँदा सरकारले आर्थिक अपचलन, कानुनले बर्जित गरेका गतिविधि गरिँदा पनि कारबाहीको दायरामा ल्याउन सकेको छैन ।

पछिल्ला नौ वर्षमा मात्रै विभिन्न परियोजनाका नाममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससले नेपालमा करिब ३ खर्ब रुपैयाँ खर्च गरेका छन् । तर अधिकांशले अपारदर्शी रूपमा खर्च गर्ने गरेको र आफ्ना कर्मचारीको सेवा/सुविधामै बढी केन्द्रित हुने गरेको भनी आलोचना हुँदै आएको छ ।

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि २०७४/७५ सम्मको ३ वर्षको कारोबारसम्बन्धी कार्यमूलक लेखापरीक्षण गर्दा सरकारी संयन्त्रलाई छलेर गैससले २९ हजार ८ सय ६० वटा बैंक खातामार्फत विभिन्न बैंकमा १ खर्ब २ अर्बभन्दा बढी रकम लुकाएको तथ्य फेला पारेको थियो । सरकारलाई गलत खर्च विवरण देखाएर अन्तर्राष्ट्रिय गैससले २८ वटा वाणिज्य बैंकमा उक्त रकम लुकाएको भेटिएको थियो । त्यसरी पत्ता लागेको रकम जफत गर्न महालेखाले सरकारलाई निर्देशन दिएको थियो । तर पछि त्यसमा थप खोजबिन हुन सकेन । कतिपय गैससले राष्ट्रहित विपरीत गतिविधि गरेको भन्दै प्रभावकारी नियमन गर्न महालेखाले नै परीक्षकको निर्देशन दिएको थियो ।

सरकारद्वारा गठित जाँचबुझ आयोग र अरू समितिका प्रतिवेदनले पनि गैससमाथि नियमन गर्न र गैरकानुनी गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सुझाव दिने गरेका छन् । समाज कल्याण परिषद्मा भएको आर्थिक अनियमितता र गैससले सरकारी संयन्त्रलाई छलेर गरेका कामकारबाहीमाथि जाँचबुझ गर्न २०७६ सालमा सरकारले पूर्वन्यायाधीश मोहनरमण भट्टराईको नेतृत्वमा आयोग गठन गरेको थियो । आयोगले गैससले अनुदानका नाममा भित्र्याएको रकम अपचलन एवं राष्ट्र हितविपरीत प्रयोग गर्ने गरेको निष्कर्ष निकाल्दै यसलाई प्रभावकारी नियमन–अनुगमन गर्न सरकारलाई सुझाव दिएको थियो ।

अमेरिकाले यूएसएआईडीमार्फत दिँदै आएको सहयोग ‘स्थगन’ गरेपछि गृह मन्त्रालयले राष्ट्रिय–अन्तर्राष्ट्रिय गैससमार्फत सञ्चालित सबै परियोजनाको लगानी, खर्च र प्रतिफल अध्ययन गरी विस्तृत प्रतिवेदन पेस गर्न गत २७ माघमा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । त्यसपछि राष्ट्रिय निर्देशन ऐनमार्फत हुने कामकारबाहीलाई नियमन, अनुगमन र निर्देशन दिने अधिकार पनि सरकारले गृह मन्त्रालयका सचिवलाई प्रत्यायोजन गरेको थियो ।

Preparing to merge three laws to regulate NGOs

राष्ट्रिय निर्देशन ऐन २०१८ को दफा ५ मा ‘नेपाल सरकारले नेपालका वर्गीय तथा व्यावसायिक संगठन र अन्य संगठनलाई तिनीहरूको कार्य तथा गतिविधिका सम्बन्धमा राष्ट्रिय हितलाई ध्यानमा राखी समय/समयमा आवश्यक देखेका निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित संगठनको कर्तव्य हुनेछ’ भनिएको छ । यही निर्देशन दिने गरी मन्त्रिपरिषद्ले गृह मन्त्रालयका सचिवलाई अधिकार प्रत्यायोजन गरेको हो ।

‘विभिन्न वर्ग, पेसा वा क्षेत्रका जनताका बीच सुसम्बन्ध, सर्वसाधारण जनताको सदाचार, सुविधा, आर्थिक हित, शिष्ट्राचार र नैतिकता राख्नका निमित्त वर्गीय तथा व्यावसायिक संगठनहरूको शक्तिलाई वर्गीय तथा व्यावसायिक हित तथा विकासका साथसाथै राष्ट्रको निर्माण र विकास कार्यमा ल्याउन’ भन्दै १३ पुस २०१८ मा राष्ट्रिय निर्देशन ऐन जारी गरिएको थियो । त्यस्तै ‘सामाजिक, धार्मिक, साहित्यिक, सांस्कृतिक, वैज्ञानिक, शैक्षिक, बौद्धिक, शारीरिक, आर्थिक, व्यावसायिक तथा परोपकारी संस्थाहरूको स्थापना तथा दर्ता गर्न’ भन्दै २७ भदौ २०३४ मा संस्था दर्ता ऐन जारी भएको थियो ।

१७ कात्तिक २०४९ मा भने ‘नेपाल र नेपाली समाजको सर्वाङ्गीण विकासका लागि समाज कल्याण कार्य र सेवासँग सम्बन्धित विभिन्न क्रियाकलापलाई विकास निर्माण कार्यसँग सम्बद्ध गराई समाजका कमजोर तथा असहाय व्यक्ति, वर्ग र समुदायलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन, समाजसेवी संघसंस्था तथा व्यक्तिको मर्यादा र प्रतिष्ठा बढाउन तथा गैरसरकारी सामाजिक संघसंस्थाको कामकारबाहीमा समन्वय गर्न’ भन्दै ‘समाज कल्याण ऐन’ ल्याइएको थियो । यी तीनवटै ऐनबमोजिम खुलेका कतिपय संस्थाले सर्त र सम्झौताअनुसार काम गरेका छैनन् ।

आर्थिक वर्ष २०८०/८१ को विवरणअनुसार समाज कल्याण परिषद्मा १ सय ३५ अन्तर्राष्ट्रिय गैसस र करिब ५७ हजार राष्ट्रिय गैसस दर्ता छन् । अमेरिका, बेलायत, जर्मन, फिनल्यान्ड, डेनमार्क, दक्षिण कोरिया, जापानलगायत विभिन्न मुलुकबाट अन्तर्राष्ट्रिय गैससले अर्थ मन्त्रालय र समाज कल्याण परिषद्बाट स्वीकृति लिएर हरेक वर्ष अर्बौं रुपैयाँका परियोजना सञ्चालन गर्दै आएका छन् । खासगरी स्वास्थ्य, शिक्षा, सामुदायिक विकास, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, मुस्लिम तथा पिछडिएका वर्ग/समुदाय तथा लक्षित राहत–उद्धार तथा पुनर्निर्माणलगायत कार्यक्रम देखाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससले अनुदान रकम परिचालन गर्दै आएका छन् । यसरी आएको रकमको ठूलो हिस्सा साधारण खर्चमा लगाएर सहायता/अनुदान दुरुपयोग गरिएको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाउँदै आएको छ ।

‘परियोजना सम्झौतासम्बन्धी निर्देशिका २०७१’ मार्फत गैरसरकारी संस्थालाई नियमन गर्ने अधिकार समाज कल्याण परिषद्लाई दिइएको छ । तर परिषद्को अनुगमन र नियमन फितलो छ । अन्तर्राष्ट्रिय गैससबाट प्राप्त सहयोग विकास सहायता नीति २०७६ ले निर्धारण गरेको राष्ट्रिय प्राथमिकताअनुसार पनि देखिएको छैन ।

गैससले सरकारी ढुकुटी छलेर ‘छाया अर्थतन्त्र’ चलाएको भन्दै एकद्वार प्रणालीबाट सहायता परिचालन गर्न ७ वर्षअघि महालेखाले सरकारलाई दिएको निर्देशन पनि पालना भएन । गैससका परियोजनाका लागि संघसंस्था दर्ता ऐन र नियमावली, २०३४, समाज कल्याण ऐन र नियमावली, २०४९, कम्पनी ऐन २०६३, विकास सहायता नीति २०७१, परिषद्को परियोजना सम्झौतासम्बन्धी निर्देशिका २०७१, सामाजिक संघसंस्थाको अनुदान, सुपरिवेक्षण एवं मूल्यांकन निर्देशिका २०७१ लगायत कानुनी प्रावधान छन् ।

अब भने जिल्ला प्रशासन कार्यालयले पठाएको विवरण र अध्ययन कार्यदलको सुझावका आधारमा एकीकृत विधेयकको मस्यौदा तयार गरिने गृह मन्त्रालयका एक अधिकारीले बताए ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully