राजावादीको प्रदर्शनले मन मुटु केही हल्लिएको छैन : अध्यक्ष दाहाल

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

The royalist's performance has not shaken the heart: President Dahal

काठमाडौँ — माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजावादीको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन् । सिंहदरबारमा सोमबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूको प्रश्न 'राजावादीको प्रदर्शनले मन, मुटु हल्लिएको हो ?' को जवाफमा दाहाले सरकारी रबैयाका कारण उनीहरूले प्रदर्शन गरेको बताएका हुन् । 

सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको समेत उनको भनाइ छ । 'राजावादीहरूको प्रदर्शनको काउन्टरमा जाने हो  ?' भन्ने प्रश्नमा उनले भने, ‘यो प्रदर्शनले केही मन मुटु हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाइँका बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ?'

जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित नभएको पनि अध्यक्ष दाहालले बताए । उनले अगाडि भने, 'सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टेसन छ । त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरुले त्यसलाई मौका पाएको जस्तो देखिन्छ ।’ अध्यक्ष दाहालले सरकार अझै पनि नागरिकप्रति उत्तरदायी नरहेको र त्यसको फाइदा प्रतिक्रियावादी शक्तिले लिएकोसमेत बताए । 

कान्तिपुर

Link copied successfully