द्वन्द्वकालीन यौन हिंसापीडितलाई न्याय खोज्दा समाजले तिरस्कार गर्ने डर

द्वन्द्वकालमा पीडित कैयन् महिलाले पहिचान सार्वजनिक हुने डरका कारण कतै उजुरी दिन सकेका छैनन्

फाल्गुन २६, २०८१

घनश्याम खड्का

Fear of social scorn for seeking justice for victims of conflict-related sexual violence

काठमाडौँ — संकटकालको समय थियो । अचानक गाउँमा सेना आए र घर खानतलासी गर्न थाले । खेतमा गएका उनका श्रीमान्लाई नियन्त्रणमा लिए र पिट्न थाले । ‘मेरा पति निर्दोष छन्, छाडिदेऊ भनेर मैले हात जोडें,’ उनले सुनाइन्, ‘उनीहरूले बदलामा मेरो शरीर मागे ।’

पतिको ज्यान बचाउन उनले सैनिक अधिकारीको ज्यादतीलाई आँसुको घुट्कोसँगै निलिन् । घटना भएकै दिन पतिले यसबारे थाहा पाए, त्यसपछि पारिवारिक समस्या पनि सुरु भयो । उता, गाउँ समाजले थाहा पाउलान् भन्ने पीरले पनि उनलाई उत्तिकै सताउन थाल्यो । 

दुई दशक बितिसक्दा पनि उनलाई यही मानसिक द्वन्द्व र पारिवारिक वैमनश्यताले थिलथिलो बनाइरहेको छ । होहल्ला होला भनेर उनी पीडितविरुद्ध उजुरी पनि गर्न सकिरहेकी छैनन् । उजुरी नै नगरेकाले राज्यको नजरमा उनी पीडितका रूपमा दर्ता भएकी छैनन् । परिणामतः उनले सशस्त्र संघर्षका दौरान पीडित बन्न पुगेका अन्यले झैं कुनै राहत, क्षतिपूर्ति वा सहयोग पाएकी छैनन् ।

आफूमाथि भएको बर्बरतालाई कतै नभनी कहालीलाग्दो जीवन बाँचिरहेका तिनै पीडित महिलालाई न्यायका लागि गोलबद्ध गर्दै अघि बढिरहेकी देवी खड्का भन्छिन्, ‘उनीहरूमा न्यायका लागि अघि बढौं भन्दा गोपनीयता भंग होला र आफू थप असुरक्षित भइएला भन्ने ठूलो पीर छ ।’ ‘इज्जत’ जाला भन्ने डरले पीडित महिलाले अनेक समस्या झेलेर निकै कष्टका साथ जीवन गुजारिरहेको उनले बताइन् । 

पीडित महिलाको न्याय र परिपूरणका लागि खड्काले खडा गरेको राष्ट्रिय सञ्जालले द्वन्द्वका समयमा बलात्कारमा परेका ३ हजारभन्दा बढी महिला समेटेको छ । तर उनीहरू कसैलाई पनि पीडित भनी राज्यले पहिचान दिएको छैन ।

आफूहरूले न्याय त परै जाओस्, पीडितका रूपमा स्वीकार्यतासमेत नपाएको भन्दै सञ्जालले आवाज उठाएपछि संक्रमणकालीन न्यायसम्बन्धी ऐनको पछिल्लो संशोधनमा तीन महिनाभित्र उजुरी दिन पाइने प्रावधान समावेश गरिएको छ । सत्यनिरूपण तथा मेलमिलाप आयोगमा फदाधिकारी नियुत्त  भएपछि पीडित महिलाले पीडकविरुद्ध उजुरी दिन सक्नेछन् । तर उजुरी दिँदा गोपनीयता खुल्ने र पीडकबाट थप असुरक्षा हुने भय उनीहरूमा छ । 

उजुरी दिँदा घटना विवरण सार्वजनिक भए घरपरिबार र समाजमा बस्ने अवस्था नै नरहने चिन्ता रहेको एक पीडित महिला बताउँछिन् । ‘हामीसँग पीडितविरुद्धको प्रमाण पनि छैन, उल्टै बेइज्जती र असुरक्षा हुने हो कि भन्ने डरले उजुरी गर्ने कि नगर्ने भन्ने दुविधामा छौं,’ उनले भनिन् । 

दोषीलाई सजाय गर्न चाहिने प्रमाणको भार पनि पीडितमाथि नै थोपर्ने हो भने उनीहरूले न्याय पाउने सम्भावना झनै क्षीण हुने कानुन व्यवसायीको भनाइ छ । ‘कानुनले पीडकलाई सजाय गर्नुअघि शंकारहित प्रमाण खोज्छ, तर पीडितमा यो प्रमाण जुटाउन सक्ने र अनुसन्धानमा सघाउने थप सूचना दिने अवस्था नै छैन,’ मानवअधिकारवादी अधिवक्ता इन्दिरा शर्मा भन्छिन्, ‘त्यसैले पीडितले विक्षिप्त मानसिक अवस्था, क्षतविक्षत शरीर र जीर्ण स्वास्थ्यलाई नै प्रमाणका रूपमा लिनुपर्छ भन्ने माग अघि सारेका छन्, राज्यले यसलाई गम्भीरताका साथ लिनुपर्छ ।’

सञ्जालकी अध्यक्ष खड्काले सत्यनिरूपण तथा मेलमिलाप आयोगमा विशिष्टीकृत इकाइ गठन हुनुपर्ने र त्यही इकाइले मात्रै गोपनीयता कायम रहने गरी यौन हिंसापीडित महिलाको उजुरी लिनुपर्ने आफ्नो माग रहेको बताइन् । ‘इकाइले उजुरी दुई खण्डमा लिनुपर्छ भन्ने हाम्रो माग छ,’ उनी भन्छिन्, ‘पहिलो खण्डमा घटना विवरण समेट्नुपर्छ, जुन खुला गर्न पनि फरक पर्दैन । दोस्रो खण्डमा चाहिँ पीडितको व्यक्तिगत विवरण लिनुपर्छ र त्यसलाई कोडिङ गरेर गोप्य राख्नुपर्छ, नत्र पीडितलाई उजुरी दिन नै समस्या पर्छ ।’

परिपूरण नीति संघले तर्जुमा गर्ने, प्रदेशले अनुगमन गर्ने र त्यसको कार्यान्वयन स्थानीय सरकारले गर्ने गरी भइरहेको गृहकार्यप्रति हिंसापीडित महिलाको विरोध रहेको सञ्जालकी अध्यक्ष खड्काले बताइन् । ‘संघ र प्रदेशमा कुरा पुग्यो भने पीडितको न गोपनीयता कायम हुन्छ न सुरक्षा नै,’ उनले भनिन्, ‘हामीलाई जे जति परिपूरण सरकारले दिन्छ, त्यो संघबाटै दिइनुपर्छ, होइन भने पीडित न्यायका लागि अघि सर्न सक्दैनन् ।’

घनश्याम खड्का खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully