‘सरकारले सबैलाई शिक्षा पुर्याउन सक्ने अवस्था अहिले छैन । शिक्षामा लगानी गर्नुस् । त्यो सम्पत्ति कसैले पनि खोस्न पाउँदैन । नियम, कानुन प्रचलन बमोजिम सम्पत्तिको संरक्षण हुन्छ ।’
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयमा गरिएको लगानी गुठीमा रूपान्तरण हुन नसक्ने बताएका छन् । उनले शिक्षामा गरिएको लगानीबाट अत्यधिक मुनाफा नलिन पनि निजी विद्यालय सञ्चालकहरूलाई आग्रह गरे ।
सोमबार काठमाडौँमा निजी विद्यालयहरूको छाता संस्था प्याब्सनको १६ औँ अधिवेशन उद्घाटन गर्दै उनले शिक्षामा गरिएको लगानीलाई सामाजिक सेवाको रूपमा लिनुपर्ने बताए । ‘भवितव्यले विद्यालयमा शिक्षामा गुठीको कुरा आयो, ५ वर्षभित्र गुठीमा परिणत गर्ने । पैसा खर्च गर्ने तपाईँ, लगानी गर्ने तपाईँ, सम्पत्तिमा हक जमाउने अर्कै यस्तो हुन सक्दैन,’ उनले भने, ‘सरकारले सबैलाई शिक्षा पुर्याउन सक्ने अवस्था अहिले छैन । शिक्षामा लगानी गर्नुस् । त्यो सम्पत्ति कसैले पनि खोस्न पाउँदैन । नियम, कानुन प्रचलन बमोजिम सम्पत्तिको संरक्षण हुन्छ ।’
शिक्षामा गरिएको लगानीबाट अत्यधिक मुनाफा कमाउने उद्देश्य नराख्न पनि प्रधानमन्त्री ओलीले सचेत गराए । ‘यो उद्योग हैन । आइटी कम्पनी होइन । अलिकति लगानी गरेर धेरै नाफा निकाल्न मिल्दैन । पैसा कमाउने मूल उद्देश्य होइन । जोगी पनि नहुनुस् । नाफाका लागि गरेको पनि नसोच्नु सामाजिक सेवा हो,’ उनले भने ।
विद्यालयका लागि जमिन किन्दा, भवन बनाउँदा बैंकबाट ऋण लिएर लगानी गरेकाले त्यो सम्पत्तिलाई गुठीकरण गर्न नमिल्ने उनले औँल्याए । ‘कहाँबाट आयो यो गुठी म छक्क पर्छु । गुठीसुठीका कुरा भवितव्यमा आए । नाफा निकाल्न नपाउने कुरा आए । यसले निरन्तरता पाउँदैन । ढुक्कले अघि बढ्नुस्,’ उनले थपे, ‘शिक्षामा लगानी गर्नुस् । तपाईँको सम्पत्ति कसैले खोस्न पाउँदैन । व्यक्तिले खोलेको विद्यालय छ । तपाईँको गुठी तपाईँ नै हो । गुठीसुठीको भ्रममा नपर्नुहोस् । सरकार एक्कैले गरेको लगानी पर्याप्त हुँदैन । सक्षम नागरिक उत्पादन गर्न निजी क्षेत्रको पनि लगानी चाहिएको छ । सरकारको लगानी अपुग हुने भएकाले निजी विद्यालयको भूमिका पनि आवश्यक रहेको उनले औँल्याए ।
‘निजी क्षेत्रले लगानी गरिरहेको छ । लगानी गर्न पाउँदैनौँ भनेर छुटाउने । जो सँग लगानी नै छैन । उसले लगानी गर्छु भन्ने ?,’ उनले प्रश्न गर्दै थपे, ‘ट्याक्टर भएको, सीप पनि भएकोलाई ट्याक्टर चलाउन जोत्न नदिने । ट्याक्टर नभएकोले म जोत्छु भनेर खेत चाहिँ बाझै राख्ने ?’
संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयकमा सत्तारुढ र प्रतिपक्षी सांसदहरूले निजी विद्यालयलाई ५ देखि २० वर्षभित्रमा गैरनाफामुलक बनाउनुपर्ने संशोधन दर्ता गराएका छन् । प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्र एक किसिमको हमलाको चपेटामा परेर यस्ता कुरा आएको टिप्पणी समेत गरे । ‘एउटा यस्तो समय आयो । मैले भन्न त नहुने हो । कन्सल्टेन्सी प्रभावितहरू धरै छ । कोही साधु, सन्त मान्छेलाई उचाल्यो । मिडियाबाजी गरायो । भोकै सुताइदियो । सन्त बुढालाई सुताएर अरूले फाइदा लिए । ज्यान गयो भने सन्त बुढाको जाने भयो । फाइदा अर्कैले लिने थियो,’ डाक्टर गोविन्द केसीप्रति इङ्गित गर्दै प्रधानमन्त्री ओलीले भने । केसीको अनशन र आन्दोलनपछि चिकित्सा शिक्षा ऐनमा निजी मेडिकल कलेजलाई १० वर्षपछि गैरनाफामुलक बनाउने व्यवस्था उल्लेख छ ।
प्रधानमन्त्रीले अन्य क्षेत्रमा जस्तै शिक्षा स्वास्थ्यमा पनि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता दोहोर्याए । ‘निजी क्षेत्रसँग सर्वत्र पब्लिक प्राइभेट, पार्टनर सिपमा हामी काम गर्न चाहन्छौँ,’ उनले थपेँ, ‘निजी क्षेत्रलाई शिक्षामा लगानी गर्न आग्रह गछौं । राज्यले जसले सक्दैन उसलाई सहयोग गर्ने हो । सक्नेलाई पनि सहयोग गर्नुपर्छ भन्ने सेन्टिमेन्टेल कुरा गरेर हुँदैन ।’ खर्च गर्न सक्ने नागरिकलाई शिक्षा र स्वास्थ्यमा राज्यले लगानी नगर्ने उनले बताए । ‘पछाडि पढेको वर्ग, समुदायलाई सहयोग गर्ने हो । खान नपाएकोलाई खान दिने हो,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा क्षेत्री भोकै छ । अर्को एउटा जनजातिले टन्न खाएको छ भनेर हुँदैन । जातको कुरा गरेर हुँदैन ।’
शिक्षा, स्वास्थ्यलाई संविधानअनुसार पूर्ण निःशुल्क गर्न राज्यको क्षमता हुनुपर्ने उनले औँल्याए । ‘देशको आम्दानी कति छ । राजश्व कति उठ्छ ? ढुकुटी र बचतको स्थिति कस्तो छ त्यो हेर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो यात्रा र व्यवस्था समाजवाद तर्फको हो । धनी हुन खोजेको हो । समाजवाद उन्मुख भनेको हो । धनी हुन भन्दा पहिल्यै छोराले गाडी खोइ भन्न मिल्दैन । धनी भएपछि पो गाडी किनौँला भनेको हो त ।’
देशको अर्थतन्त्र सबल भएपछि शिक्षा, स्वास्थ्यलाई निःशुल्क गर्न सकिने संकेत उनले गरे । ‘भन्नलाई सजिलो छ । शिक्षा त निःशुल्क दिनुपर्यो नि । सरकारले गर्न सक्ने भनेको यस्तो देशमा कमसेकम बालबालिका खाजा, पाठ्यपुस्तक, सेनेटरी प्याडको सुविधा दिएको छ । सुधारहरू भएका छन् । सरकारले गर्न सक्ने जति गरेको छ,’ उनले भने ।
