काठमाडौँ — सरकारले सुशासन दिन नसक्दा व्यवस्था विरोधीहरू खुसी हुन लागेको माओवादी उपाध्यक्ष अग्नि सापकोटाले बताएका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता सापकोटाले सरकारका नराम्रा कामको फाइदा उठाएर व्यवस्थाविरोधीले अभियान सञ्चालन गरेको बताए ।
बैठकमा तराई/मधेश अभियानको प्रारम्भिक समीक्षा, वर्तमान राष्ट्रिय राजनीति परिस्थिति र स्ववियु निर्वाचनको बारेमा छलफल भएको सापकोटाले जानकारी दिए । अभियान झापादेखि रौतहटसम्म आइपुग्दा जनतामा नयाँ खालको जागरण पैदा गरेको उनको दाबी थियो । ‘अभियानको प्रारम्भिक समीक्षा भयो । वर्तमान राष्ट्रिय राजनीति परिस्थितिबारे छलफल भयो । स्ववियु निर्वाचनको बारेमा पनि छलफल भयो । झापादेखि रौतहटसम्म आइपुग्दा जनतामा नयाँ खालको जागरण पैदा भएको छ,' उनले भने,'अभियान निकै प्रभावकारी भएको छ । बहुआयामिक सन्देश छोडेको छ ।'
अलिकति प्रतिगामी सलबलाए पनि जनतालाई धेरै प्रभाव नपरेको उनले बताए । 'पहिलादेखि चाहनेहरुले केही आशा गरेको पाइयो तर नेपाली जनता लोकतन्त्रको पक्षमा छन् । लोकतन्त्रलाई अझ विकसित, सुदृढ गर्नुपर्छ भन्नेमा हुनुहुन्छ,’ उनले भने ।
जनताका आशा र अपेक्षा पूरा गर्न माओवादीले सदन र सडकमा प्रभावकारी काम गर्ने निर्णय भएको सापकोटाले जानकारी दिए ।
