अमेरिका र न्युजिल्यान्ड पठाइदिने प्रलोभनमा सवा करोड ठगी

फाल्गुन २६, २०८१

मातृका दाहाल

Fraud of 150 million in temptation to send to America and New Zealand

काठमाडौँ — अमेरिका पठाइदिने प्रलोभनमा संगठित गिरोहले रुकुम पश्चिमका १० जनाबाट करिब सवा करोड रुपैयाँ ठगी गरेको पाइएको छ । गिरोहले नेपालस्थित अमेरिकी दूतावास तथा उच्च पदस्थ व्यक्ति र परिवारसँग आफूहरूको ‘निकट सम्बन्ध’ रहेको भ्रममा पारेर सजिलै विदेश पठाइदिने भनी रकम असुलेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

सोही गिरोहले रुकुम पश्चिमकै थप ७ जनालाई न्युजिल्यान्ड पठाउने लोभ देखाएर १० लाख रुपैयाँ पनि ठगी गरेको पाइएको छ । रकम बुझाएर पनि विदेश जान नपाएपछि पीडितले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । ललितपुर प्रहरीले ७ जनाविरुद्ध ठगी, किर्ते र संगठित अपराध आरोपमा जिल्ला अदालत ललितपुरबाट अनुमति लिएर अनुसन्धान गरिरहेको छ । 

प्रहरीले गिरोहका ‘मुख्य व्यक्ति’ मनोज सिंह भनिने इमाडोलका अनुप सिंह, उनका सवारी चालक ललितपुरका सचिन व्यञ्जनकार, काभ्रे स्थायी घर भई कलंकीस्थित दिव्यज्योति कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राजकुमार केसी र अनुपको वकिल भनी चिनाउने दीपकराज खनाललाई पक्राउ गरेको छ । अरू तीन जना किरणसिंह कार्की, रामचन्द्र खनाल र अभिषेकराज खनाल फरार छन् ।

 ललितपुर जिल्ला प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार १२ वर्षीया एक बालिकाका नाममा अमेरिकी दूतावासबाट जारी भएको देखाइएको ‘नक्कली भिसा’ पनि बरामद गरिएको छ । नक्कली भिसा पाउने ती बालिका रुकुम पश्चिमकी सुभद्रा दाहालकी छोरी हुन् । सुभद्रा तीन सन्तानकी आमा हुन् । भिसा पाउने बालिका सुभद्राकी जेठी छोरी हुन् । सुभद्राले गत असोज २ मा मात्रै पतिसँग सम्बन्धविच्छेद गरेकी थिइन् ।

 इमाडोलमा कोठा भाडामा बस्दै आएकी उनले आफ्ना दुई छोरी र एक छोरासहित चार जनालाई अमेरिका पुर्‍याउने आश्वासन पाएपछि चेक र नगद गरी ९३ लाख बुझाएको जाहेरीमा उल्लेख गरेकी छन् । न्युजिल्यान्ड जान अरू ७ जनाले १० लाख र अमेरिकाकै लागि भनेर थप ६ जनाले २४ लाख ८० हजार रुपैयाँ गिरोहलाई बुझाएको जाहेरीमा उल्लेख छ । 

‘हामीले प्रेम विवाह गरेका थियौं, सुरुमा राम्रो थियो, छोराछोरी जन्मिएपछि पतिसँग सम्बन्ध सुमधुर हुन सकेन, सँगै बस्न सकिँदैन भन्ने भएपछि सम्बन्धविच्छेद गर्न बाध्य भएँ, छोराछोरीलाई के गरी हुर्काउने भन्ने तनाव थियो,’ पीडित सुभद्राले कान्तिपुरसँग भनिन्, ‘त्यसकै लागि बाटो खोज्ने क्रममा रामचन्द्र खनाल र मनोज सिंहसम्म पुगेकी थिएँ । तर, पैसा लिएपछि काम भएन, आज–भोलि भन्दै अलमल्याउँदै अमेरिका उड्ने मिति पछि धकेलिन थालेपछि आफू ठगिएको चाल पाएँ अनि उजुरी दिएँ ।’

सिंहले ‘आफू पूर्वराजपरिवारको नातेदार हुँ’ भनेर अमेरिका लैजाने आश्वासन दिएको सुभद्राले जाहेरीमा उल्लेख गरेकी छन् । खनालसँग सुभद्राले २०७९ चैतमा ललितपुरको लगनखेलमा भेटेकी थिइन् । त्यसपछि खनाल र सिंहले नै नक्कली कागजात बनाएर अमेरिका लैजाने तानाबाना बुनेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । हाल प्रहरी हिरासतमा रहेका सिंहले रकम असुल्न आफू नेपाली सेनाको विमान चालक (क्याप्टेन) भएको र ‘उच्च घरानियाँ’ व्यक्तिसँग सम्बन्ध रहेको झूटा विवरण देखाएर अमेरिका जाने तयारीमा लाग्न आश्वस्त पारेका थिए ।

‘अनामनगरको एउटा घरमा बोलाएर कुराकानी पनि भएको थियो, त्यस क्रममा एक जना सेनाको बर्दी लगाएका व्यक्तिलाई पनि उपस्थित गराइएको थियो,’ सुभद्राले भनिन् । गिरोहले पूर्वयुवराज्ञी हिमानी शाहका नाममा खोलिएको ‘हिमानी ट्रस्ट’ ले अमेरिकाको वासिङ्टन डीसीमा ‘नेपाल–अमेरिका सम्बन्ध’ का विषयमा गोष्ठी आयोजना गर्ने र त्यही कार्यक्रममा सहभागी हुन अमेरिका जाने’ र त्यसका लागि वासिङ्टन डीसीमा ठेगाना देखाइएको ‘कम्फर्ट होटल’ पनि बुकिङ गरिएको व्यहोराको नक्कली कागजात आफूहरूलाई देखाइएको सुभद्राले बताइन् । त्यसका लागि सिंहले नै डीसीमै ‘मुना राज्यलक्ष्मी राणा’ नाम गरेकी महिलाले ‘आर्थिक व्यवस्थापन’ गरेको अर्को नक्कली कागजात पनि तयार पारेका थिए । 

सन् २०२४ को डिसेम्बर २७ मा अमेरिका गएर त्यसको अर्को साता जनवरी ४ मा आयोजना हुने कार्यक्रमलाई भनेर नक्कली टिकट नै काटिसकिएको विवरण पनि तयार पारेको खुलेको छ । अमेरिकामै जनवरी ६ मा ‘पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिकाको वैवाहिक इङ्गेजमेन्ट छ, त्यसमा पनि सहभागी हुने कार्यक्रम तय भएको छ’ भनेर पनि गिरोहका मुख्य व्यक्ति सिंहले नै फर्जी कागजात तयार पारेको जाहेरीमा उल्लेख छ । 

न्युजिल्यान्ड जानेहरूका लागि पनि श्रम स्वीकृति लिएको नक्कली कागजात यो गिरोहले तयार पारेको भेटिएको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी अधिकारीले ठगीका लागि विभिन्न गिरोहले संगठित समूह बनाई किर्ते र ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र अहिले थप अनुसन्धान जारी रहेको बताए । एसएसपी अधिकारीले भने, ‘योसँग सम्बन्धित अरू के–कस्ता अपराध भए ? अनुसन्धान टुंगिएपछि मात्रै खुल्छ ।’ असम्बन्धित व्यक्तिसमेतका नाम लिएको विषयमा बुझ्ने काम भइरहेको अधिकारीले बताए । 

पीडित सुभद्राका अनुसार गिरोहले अमेरिका जाने भिसाका लागि सोल्टी होटल र इमाडोलको इन्द्रेणी भवनमा रहेको फेम्ली क्याफेमा लगेर भिसाका लागि फर्म भराएको, आफूहरूको औंठा छाप पनि गराएको र फोटो खिचाएका थिए । ललितपुरको बालकुमारी नजिकैको माम्सा क्याफेमा लगेर न्युजिल्यान्ड जानेहरूका लागि बायोमेट्रिक गराएका थिए । त्यही नक्कली बायोमेट्रिक गराएर सुभद्राकी १२ वर्षीया छोरीको केही समयमै नक्कली भिसा आएको थियो । त्यो भिसाको फोटो खिचेर सुभद्राले अमेरिकामा हुने आफन्तलाई पठाएकी थिइन् । उताबाट भिसा नक्कली भएको खबर गरेपछि गिरोहको खोजीमा रकम बुझाउनेहरूले रकम फिर्ताका लागि प्रयास गरेका थिए । त्यसमा सफल नभएपछि आफू ठगिएको भन्दै उपलब्ध विवरणहरूसहित प्रहरीमा पुगेका थिए ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully