लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजावादीहरूको विरुद्धमा एकबद्ध हुन नेकपा एसको आह्वान

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

CPN S's call to unite against the monarchists to protect the democratic republic

काठमाडौँ — एकीकृत समाजवादीले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि राजावादीहरूको विरुद्धमा एकताबद्ध हुन आह्वान गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकले यस्तो आह्वान गरेको हो । बैठकमा वर्तमान परिस्थितिबारेमा लामो छलफल भएको र राजावादी, प्रतिगमनकारी, पुनःउत्थनवादी शक्तिहरू सलबलाइरहेको भन्दै गणतन्त्रका विरुद्धमा षड्यन्त्र हुन नदिन गणतन्त्रवादी शक्तिहरूलाई एक हुन आह्वान गर्ने निर्णय भएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले बताए । 

उनले भने, ‘यतिबेला राजावादी, प्रतिगमनकारी, पुनःउत्थनवादी शक्तिहरू जुन ढंगले सलबलाइरहेका छन्, चलखेल गरिरहेका छन्, गणतन्त्रका विरुद्धमा षड्यन्त्र भइरहेका छन् । यो गणतन्त्रको विकल्प अझ उन्नतस्तरको समाजवादी गणतन्त्र हो । पछाडि फर्किन सकिँदैन, पश्चगमन स्वीकार्य छैन र त्यस्ता गतिविधिको विरुद्धमा हामी छौँ । यस्ता गतिविधिका विरुद्धमा एकताबद्ध हुन, संविधान, गणतन्त्रको रक्षा गर्न गणतन्त्रवादी शक्तिहरूले आत्मसमीक्षा गर्नुपर्छ, प्रतिगमनकारी, यथास्थितिवादी शक्तिहरूका षड्यन्त्रलाई परास्त गर्नुपर्छ भन्ने निष्कर्ष छ ।' 

उनले गणतन्त्रको विकल्प अझ उन्नत स्तरको समाजवादी गणतन्त्र भएको निष्कर्ष पार्टीको रहेको बताए । प्रतिगमनकारी, यथास्थितिवादी शक्तिहरूका षड्यन्त्रलाई परास्त गर्न सबै गणतन्त्रवादी शक्तिहरू एक हुनुपर्ने बताए ।

उनले भने, 'प्रतिगमनकारी शक्तिहरूको विरोध गर्दै सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू, गणतन्त्रवादी जनसमुदायलाई गणतन्त्रको रक्षाको लागि एकताबद्ध हुने निर्णय भएको छ । रोजगारी र सुशासनको निम्ति आन्दोलन अघि बढाउँदै छौँ, आन्दोलनको पक्षमा उभिन र आन्दोलनलाई सशक्त बनाउन आग्रह गर्ने निर्णय गरेका छौँ ।’

बैठकले रोजगारी र सुशासनको निम्ति आन्दोलन अघि बढाउने र आन्दोलनको रूपरेखाबारे जानकारी दिन चैत्र १ गते पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।

कान्तिपुर

Link copied successfully