पूर्वराजालक्षित नेपालको टिप्पणी : इतिहासको रथ पछाडि फर्किन सक्दैन

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

Commentary on former royal Nepal: The chariot of history cannot turn back

काठमाडौँ — नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार्य रहेको बताएका छन् । सोमबार सिंहदरबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले  राजतन्त्र फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार रेहको र इतिहासको रथ अब पछाडि फर्किन नसक्ने बताएका हुन् ।

आइतबार पोखराको एक हप्ताको बसाइपछि काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरूको उल्लेख्य उपस्थिति थियो ।

पूर्वराजा शाहको अभिनन्दनमा जम्मा भएको भीडपछि सोही विषयमा छलफल गर्न माओवादी, एसलगायतका राजनीतिक दलका पदाधिकारी र सचिवालय बैठकसमेत बसेका छन् । साथै राजतन्त्रवादी समूहहरुलाई प्रतिगामी शक्तिको संज्ञा दिँदै यस्तो कार्य स्वीकार्य नहुने र गणतन्त्रवादीहरु एकजुट हुनुपर्ने आह्वानसमेत गरिसकेका छन् ।

सोही विषयलाई लिएर सिंहदरबारमा पनि दुई नेताहरूबीच छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले जनतालाई प्रगति र परिवर्तन चाहिएको राजाबाट सम्भव नरहेको बताए । ‘यस्तो गतिविधि अस्वीकार्य छ । इतिहासको रथ पछाडि फर्किन सक्दैन । प्रगति चाहियो, परिवर्तन चाहियो । जनताको हित र कल्याणको शासन चाहियो । त्यो राजाबाट सम्भव छैन । इतिहासले बताइसकेको छ । २४० वर्षको इतिहासले बताइसकेको छ । फेरि त्यो निरंकुश शासन जनता चाहँदैनन् । हामीले गल्ती गरेका छौं भने हामी सँच्चिनुपर्छ,’ उनले भने । अध्यक्ष नेपालले जनताको हित र कल्याणको शासन आवश्यक भएको बताए ।

कान्तिपुर

Link copied successfully