काठमाडौँ — नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवाल र नेपालका लागि इटालीका राजदूत एन्तोनियो बार्तोलीबीच भेटवार्ता भएको छ ।
शुक्रबार भएको भेटका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन तथा विकासलाई प्रवर्द्धन गर्ने सम्भावनाका बारेमा छलफल भएको हो ।
नेपाल र इटालीबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै आपसी हितका लागि आफू सधैं तयार रहेको राजदूत बार्तोलीले बताए । उनले भने, ‘नेपाल आफैँमा एउटा पर्यटकीय महत्त्व बोकेको देश हो । पर्यटन, पूर्वाधार तथा प्रविधि क्षेत्रमा नेपालसँगको आर्थिक सहकार्य जरुरी छ ।’
बैठकले नेपाल र इटालीबीच आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्ने विषयमा छलफल गर्यो । भेटमा दुवै देशबीच द्विपक्षी व्यापार प्रवर्द्धन, व्यावसायिक सञ्जाल विस्तार तथा प्रमुख क्षेत्रहरूमा लगानी अभिवृद्धि गर्ने विषय रहेका थिए । दुवै देशबीच व्यापार र लगानी बढाउन इटालीले मद्धत गर्ने राजदूत बार्तोलीले बताए ।
नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवालले नेपाल र इटालीबीच व्यापारिक समुदायलाई जोड्ने विषय महत्त्वपूर्ण रहेको बताए । नेपाल र इटालीबीचको सम्बन्धलाई आगामी वर्षमा रणनीतिक पहल तथा सहकार्य पूर्ण कार्यक्रमहरूमार्फत थप सुदृढ गर्ने जिकिर पनि उनले गरे ।
भेटवार्तामा कोलकत्ताका लागि इटालीका मानार्थ महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टा, नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका मानार्थ संरक्षक राजेशकाजी श्रेष्ठ, नेपालका लागि इटालीकी मानार्थ महावाणिज्यदूत प्रतिमा राणा पाँडे र संघका बोर्ड सदस्यको पनि उपस्थिति थियो।
