पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री ओलीको प्रश्न : देश के भएको छ र बचाउनलाई ?

प्रधानमन्त्री ओलीको सुझाव : राजनीतिमा आउने हो भने ‘यू आर वेलकम’ 

फाल्गुन २५, २०८१

अर्जुन शाह

Prime Minister Oli's question to former King Gyanendra: What has happened to the country and to save it?

धनगढी — पोखराबाट काठमाडौं आउँदा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादीहरू सडकमा उत्रिएका बेला सुदूरपश्चिममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने पूर्वराजा र उनका समर्थकलाई लक्षित गर्दै कडा शब्दमा ‘मनलाई टुक्राटुक्रा पारेर देशलाई विभाजित नगर्न’ भनेका छन् । 

‘म भन्न चाहन्छु, यदि कसैले अराजकताकै बाटो हिँडेर कसैले केही हत्याइहाल्छु केही प्राप्त गरिहान्छु भन्ने सपना देखेको छ भने, त्यस्तो सपना नदेख्दा राम्रो,’ आइतबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री  ओलीले पूर्वराजाका गतिविधितर्फ लक्षित गर्दै भनेका छन् । 

प्रधानमन्त्री ओलीले आइतबार काठमाडौंमा राजावादीहरूले पूर्वराजाको स्वागतमा गरेको गतिविधितर्फपनि तिखो टिप्पणी गरेका छन् । ‘आज पनि पूर्वराजालाई लगेर सिंहासनमा बसाउने भन्ने, नारायणहिटीमा छिराउने भन्ने, के भन्या त्यो ?,’ उनले भने ‘कुर्सीमा लगेर राख्दा शासक हुन्छ मान्छे ?, मानिदिनु परेन ?, अनि राष्ट्रपति रामचन्द्र पौडेलजीलाई के गर्नुहुन्छ उहाँ एउटा कुर्सीमा बसेपछि ।?’ 

प्रधानमन्त्री ओलीले यो देशमा निर्वाचित राष्ट्रपति भएको उल्लेख गर्दै भने, ‘म निर्वाचित भएको छु । प्रतिनिधिसभाको अत्यधिक बहुमतले छानेको प्रधानमन्त्री छु । मैले बनाएको दुई दलको सहमतिको मजबुत सरकार छ । यो केही थाहा पाउनुहुन्न कि उहाँहरू ?’ 

ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लागेको बताए । ‘संविधान, कानुन, लोकतन्त्र, प्रणालीको प्रक्रियाको कुरा गर्नु हुन्न । मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु भन्नु हुन्छ,’ उनले भने ‘देश के भएको छ ?, उहाँहरूको यस्ता अस्थिरताका क्रियाकलापले, अराजक क्रियाकलापहरूले देश अप्ठेरोमा पर्दैछ ।’ प्रधानमन्त्री ओलीले अगाडि भने ‘ उहाँलाई सुझाव दिन चाहन्छु, एउटा पूर्वराजाको हैसियतले, उहाँले त्यति वर्ष पुस्तैनी सत्ता चलाएको हैसियतले, उहाँले देशलाई सभ्य सुसंस्कृत ढंगले लोकतान्त्रिक बाटोबाट, लोकतान्त्रिक विधिबाट, संविधान र कानुन अनुसार गर्नुपर्छ भनेर सिकाउनुपर्नेमा, के चुनावमा साथ माग्या कि, भोट माग्या कि, के मागेको ?, मलाई साथ देउ म आउँछु, के मा आउने ?, अराजनीतिमा आउने कि राजनीतिमा आउने ?’ 

त्यस्तै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र राजनीतिक प्रतिस्पर्धामा आउन थालेको भए स्वागत गर्ने बताए । उनले भने, ‘राजनीतिमा आउने हो भने ‘यु आर वेलकम’ आउनुस् स्वागत छ ।’ उम्मेदवार बन्न मज्जाले पाइने पनि उनले बताए । ‘तर के मा साथ माग्नु हुन्छ ?, अहिले बुझिएन मात्रै भनौं,’  उनले भने ।

देशलाई फेरि पछाडि फर्काउने प्रयासहरू पनि देखा परेको प्रधानमन्त्री ओलीले बताए । ‘देशलाई टुक्राटुक्रा पार्ने, जातका नाममा भूगोलका नाममा, अनेक नाममा देशलाई टुक्राटुक्रा पार्ने काम भइरहेको छ,’ उनले भने ‘मनलाई टुक्राटुक्रा पारेपछि देश त यसै विभाजित भएन, टुक्रिएन, जनताको मनलाई भाँड्ने प्रयास भइरहेको छ । मनैदेखि जनतालाई टुक्र्याउन प्रयास भइराख्या छ । यी बाटोहरू सही होइन ।’ 

राजावादी प्रवृत्ति, देशलाई पछाडि धकेल्न खोज्ने प्रवृत्तिलाई देखेर नै कांग्रेस र एमालेको सरकार बनेको समेत प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई ट्य्राकमा लैजाने पनि बताए । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully