धनगढी — सुदूरपश्चिम आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले आइतबार दिउँसो १ बजे सभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची तय भएको बताए ।
‘आवश्यक तयारी पूरा भएको छ,’ सभामुख भण्डारीले भने । यसअघि प्रदेशसभाको पहिलो कार्यकालमा पनि नेकपाको सरकार भएको बेला प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री ओली आइतबार नै सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । विश्वविद्यालयबाट एक हजार तीन सय ७७ जना दीक्षित गर्ने कार्यक्रम रहेको छ ।
आइतबार नै प्रधानमन्त्री ओलीले धनगढी उपमहानगरपालिकामा निर्मा भएको सिटी हल पनि उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा एमाले कैलालीका अध्यक्ष यज्ञ ढुंगानाले बताए ।
