काभ्रे — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी भित्रको आन्तरिक किचलो अन्त्य नभएसम्म जनताको मन जित्न नसकिने बताएका छन् ।
काभ्रेको मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेंसीमा शनिबार कांग्रेस मण्डनदेउपुर नगरपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा शुभेच्छुक र भ्रातृ संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको मन जित्ने खालका कार्यक्रमहरु अगाडि सार्न पार्टी नेतृत्वलाई आग्रहसमेत गरे ।
कांग्रेसले २०८४ सालमा हुने चुनावको कहिल्यै चिन्ता नगरेको बरु सधैं देशको चिन्ता गरेको उनको दाबी छ । पार्टीमा नेतृत्वको अपेक्षा धेरैको हुनु स्वाभाविक भन्दै उनले आगामी चुनावमा कांग्रेस एकढिक्का भएर जाने बताए । कांग्रेसले देशमा भएका सबै राजनीतिक परिवर्तनको नेतृत्वकर्ता गरेको बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शिव हुमागाईं, मधु आचार्य, वाग्मती प्रदेशका महामन्त्री कन्चनचन्द्र वादे, काभ्रे कांग्रेस सभापति तीर्थ लामा, पाँचखालका मेयर महेश खरेललगायतले संगठनका बारेमा बोलेका थिए ।
सोही अवसरमा मण्डनभेगमा जन्मिएर, स्थानीय, जिल्ला हुँदै राष्ट्रिय राजनीतिमा समेत चर्चामा रहेका राजनीतिज्ञ एवं समाजसेवी स्वर्गीय हरिप्रसाद पौडेलको अर्धकदको प्रतिमा अनावरण गरिएको थियो । पौडेलको प्रतिमा अनावरण गर्दै महामन्त्री शर्माले पौडेलको जीवनीबाट नयाँ पुस्ताले धेरै कुराहरु सिक्ने र उहाँको आदर्शमा सबै अघि बढ्न सक्ने अवस्था नआएसम्म उहाँप्रति सच्चा सम्मान नहुने बताए ।
