महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हुन्छ : मन्त्री सुडी

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

A house without respect for women is like 'hell': Minister Sudi

काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हुने टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने पनि बताए । 

‘जुन घरमा महिलाको सम्मान छैन, आदर छैन, त्यो घर नरक हो । त्यो घरमा कहिले पनि श्री हुन सक्दैन । लक्ष्मीको बास हुन सक्दैन । तर यो पनि ध्यान राख्नुपर्छ । हाम्रो छोरी रानी, अरुको छोरी नोकरानी गर्नु हुँदैन । यदि तपाईं आफ्नो घरमा श्री हेर्न चाहना राख्नुहुन्छ भने अरुको छोरी पनि रानी बनाउनुपर्छ,’ मन्त्री सुडीले भने, ‘आमाले छोरीलाई खान नदिने, वर्तन धुहाउन लगाउने काम हुन्छ तर छोरालाई मजाले यश, आराम गर्न दिने । यदी तपाईं आफ्नो बुहारीलाई छोरी समान मान्नुहुन्छ भने उसले पनि आमा मान्छ ।’

पुरुष र महिलामा कानुनी रुपमा कुनै विभेद नभए पनि व्यवहारिक रुपमा भने अझै विभेद कायम रहेको उनले बताए । विभेदलाई हटाउन सरकार लागिरहेको उनको भनाइ थियो । 

मन्त्री सुडीले महिलाहरुको अधिकारको आन्दोलन अझै नसकिएको उल्लेख गरे । उनले सबैले एकजुट भएर महिलाका हक, अधिकारका लागि काम गर्नुपर्ने बताए । महिलालाई पुरुषसरह समान अधिकार दिनुपर्ने बताए । 

कान्तिपुर

Link copied successfully