‘एउटै दलले बहुमत नल्याउँदा प्रदेश अस्थिर’

केन्द्रीकृत मानसिकताले संघीयताको उच्चतम अभ्यास स्विकार्न समस्या देखियो : मुख्यमन्त्री कार्की

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

”Province is unstable when no single party brings majority”

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक दलहरू केन्द्रीय मानसिकताबाट हुर्किएकाले संघीयताको उच्चतम् अभ्यास स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् । प्रशासनिक र सुरक्षा निकाय पनि एकात्मक राज्य प्रणालीको अभ्यासबाटै आएकाले संघीयता स्वीकार गर्न हिच्किचाइरहेको उनले बताए ।

कान्तिपुर टेलिभिजनको ‘मुख्यमन्त्रीसँग कान्तिपुर’ कार्यक्रममा मुख्यमन्त्री कार्कीले बहुदलीय व्यवस्थाको प्रारम्भदेखि नै स्थापित राजनीतिक दलहरूमा केन्द्रीकृत मानसिकता हावी रहेको बताए । यही कारण केन्द्रको राजनीतिमा केही परिवर्तन हुँदा प्रदेशमा हलचल हुने गरेको उनको भनाइ थियो । ‘केन्द्रमा पानी पर्दा प्रदेशमा बाछिटा आइहाल्ने, प्रदेशमा छाता ओढ्नैपर्ने स्थिति छ,’ मुख्यमन्त्री कार्कीले भने । 

प्रदेशसभामा एउटै दलले स्पष्ट बहुमत नल्याउँदा प्रदेश सरकार अस्थिर बनेको मुख्यमन्त्री कार्कीले बताए । ‘सरकार अस्थिर भएका कारण प्रदेशको विकास निर्माणले गति लिन सकेको छैन, राजनीतिक स्वायित्व र सेवा प्रवाहलाई प्रभावकारी बनाउन दुई ठूला दल मिलेर सरकार गठन गरिएको हो,’ उनले भने । 

कार्यक्रममा कांग्रेसको कोशी प्रदेश संसदीय दलका उपनेता तथा पूर्वमन्त्री हिमाल कार्कीले प्रदेशको राजनीतिक निर्णयका लागि पनि केन्द्रकै मुख ताक्ने प्रवृत्तिले प्रदेश सरकार अस्थिर बनेको बताए । प्रमुख प्रतिपक्ष माओवादीका नेता तथा कोशीका पूर्वसभामुख बाबुराम गौतमले प्रदेशको विकास र आर्थिक वृद्धिको बाधक नै राजनीतिक अस्थिरता भएको बताए । 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशसभाको चालु अधिवेशनका लागि सरकारले पर्याप्त बिजनेस दिएको दाबी गरेका थिए । ‘राजनीतिक अस्थिरताका कारण विगतका अधिवेशनले धेरै विधेयक पारित गर्न सकेनन्’, उनले भने, ‘चालु छैटौं अधिवेशनका लागि प्रदेश सरकारले प्रशस्त बिजनेस दिएको छ ।’ प्रदेशसभामा छवटा विधेयक दर्ता भइसकेको भन्दै मन्त्री भण्डारीले अरू विधेयक पनि प्रदेशसभामा दर्ता हुने प्रक्रियामा रहेको जानकारी दिए ।

पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले आर्थिक वृद्धिका लागि पर्यटन क्षेत्रको योगदान महत्त्वपूर्ण हुने भएकै कारण सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको जानकारी दिए । पर्यटन वर्षमा पर्यटकीय क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन गर्नुका साथै नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी तिनको विकास विस्तार र प्रवर्द्धन गरिने उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले आर्थिक वृद्धिका लागि कृषिको आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए । अर्थविद् प्रमोदकुमार झा र बलराम पौडेलले रोजगारी सिर्जना गर्ने र आर्थिक वृद्धिमा योगदान गर्ने रणनीतिक योजनामा लगानी गर्न प्रदेश सरकारलाई सुझाव दिए । 

विराटनगर–५ की आकृति रानी फुयालले अपांगता भएकालाई स्वरोजगार बनाउने र सीप विकास र अपांगता भएकाको खेलकुद प्रतियोगिता आयोजना गर्न प्रदेश सरकारसँग माग गरिन् । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ लका विद्यार्थी करणकुमार चौरसियाले पुष्पलाल चोक जस्तो व्यस्त सडकबाट दिनहुँ मुख्यमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्ति आउजाउ गर्ने गरे पनि सुधारमा चासो नदिएको आरोप लगाए । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका विद्यार्थी योगराज दाहालले महेन्द्र मोरङ क्याम्पसको जग्गा अतिक्रमण भएको भन्दै जमिन संरक्षण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । 

कान्तिपुर

Link copied successfully