काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य सचिव नियुक्तिको निर्णयप्रति आपत्ति जनाएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव नियुक्त गर्दा वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेकी डा. संगीता मिश्रालाई पन्छाएर अर्कै व्यक्तिलाई सचिव नियुक्त गरिएको उनले बताइन् ।
यस विषयमा प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र स्वास्थ्यमन्त्रीले सदनलाई स्पष्ट पार्न आग्रह गरिन् ।
'मन्त्रिपरिषद् बैठकले किन यस्तो गर्यो, पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्नै नसक्ने हो कि महिला नेतृत्व स्वीकार नगरिएको हो ?' प्रतिनिधिसभाको आजको बैठकमा उनले प्रश्न गरिन् ।
बिहीबार सरकारले स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्ति गरेको छ । नयाँ सचिव नियुक्तिका लागि बढुवा समितिले डा. मिश्रासहित डा. देवकोटा र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो । वरिष्ठलाई पन्छाएर सचिव नियुक्ति गरिएको भन्दै सरकारको आलोचना पनि सुरु भएको छ ।
२५ जनाको मन्त्रिपरिषद्मा ३३ प्रतिशत नपुग्ने गरी महिला मन्त्री सहभागी गराइने र निर्वाचनमा महिलालाई जानजान ‘उप’ र ‘सह’ पदमा मात्र टिकट दिइने गरेकामा पनि उनले गुनासो गरिन् । 'प्रत्यक्षबाट नभई समानुपातिकबाट महिला प्रतिनिधित्वको संख्या पुर्याउन मात्रै महिलालाई सांसद बनाइन्छ । यो महिलामाथिको विभेद भएन ?' उनले भनिन् ।
