भेडाका ऊनबाट हातैले बुनिएका कोट, राडी, कम्बल, डसना कोसेलीका लागि किनिन्छन्
रुकुम पश्चिम — रुकुम पूर्वको पुथाउत्तरगंगा–११ तकसेराबाट ६ सय भेडाको बथान लिएर उनीहरू रुकुम पश्चिमको मुसीकोट–७ ठूलीदह झरेको तीन महिना भयो । हिउँदमा लेकाली भेगमा हुने चिसो छल्न पुस पहिलो साता यहाँ आएका उनीहरू कोही भेडा रेखदेखमा खटिएका छन् भने कोही ऊनबाट कपडा बुन्न व्यस्त छन् ।
पुरुष भेडा चराउन गोठाला जान्छन् भने महिला ऊन कात्दै विभिन्न पहिरन बनाइरहेछन् । ‘भेडाको ऊनबाट कोट, राडी, कम्बल, डसनालगायत कपडा बुनेका छौं,’ तकसेराकी मनकुमारी बुढा भन्छिन्, ‘पुस र असोजमा गरी वर्षमा दुई पटक भेडाको ऊन निकाल्छौं, एउटा भेडाबाट एक पटकमा ३ किलोसम्म ऊन निक्लने गर्छ, यसैलाई परम्परागत तरिकाबाटै प्रशोधन गरेर कपडा बुन्छौं ।’
गत कात्तिक अन्तिम साता रुकुम पूर्वको पुथाउत्तरगंगा तकसेराबाट हिँडेका उनीहरू रोल्पाको थवाङ हुँदै नौ–बहिनी लेकको बाटो भएर पुस पहिलो साता ठूलीदह आइपुगेका हुन् । फागुन अन्तिमतिर यहाँबाट फर्कने उनीहरूको तयारी छ । यहाँबाट ढोरपाटन आसपासका बुकीमा जाने उनीहरू भदौसम्म त्यहीं रहनेछन् भने असोज–कात्तिकमा मूल घरमा फर्केर चाडबाड मनाउँछन् ।
‘लेकबेंसी गरिरहने हाम्रो यो पेसालाई व्यावसायिक बनाउँदै आम्दानी वृद्धिका लागि सरकारले खासै वास्ता गरेको छैन,’ करबहादुर बुढा भन्छन् । छिमेकी जिल्ला रुकुम पश्चिमका भेडापालकलाई कर्णाली प्रदेश सरकारले वार्षिक १८ हजार रुपैयाँ गोठालो भत्ता दिँदै आएको छ । लुम्बिनी प्रदेशमा भेडापालक लक्षित कुनै कार्यक्रम नभएको उनको गुनासो छ ।
भेडाको ऊनबाट पहिरन बनाउने काम सजिलो नभएको उनको भनाइ छ । ‘समय र श्रमको हिसाब गर्ने हो भने यसबाट हुने आम्दानीले खर्च पनि उठ्दैन,’ उनी भन्छन्, ‘तर एकातिर ऊनको सदुपयोग हुने र अर्कोतिर आफैंलाई प्रयोग गर्न कपडा किनिरहनु नपर्ने भएकाले मात्र यो काम गर्छौं ।’
केही वर्षअघिसम्म ऊनका राडीपाखीलगायत कपडाको बिक्री राम्रै हुने गरे पनि अहिले त्यो अवस्था नरहेको गुनासो अर्की भेडापालक धनकुमारी बुढाको छ । ‘बजारमा सस्तो मूल्यमा कपडा पाउन थालेपछि हामीले बुनेका कपडा किन्ने घटेका छन्,’ उनी भन्छिन्, ‘उहिले कपडाको भारी बाकेर गाउँ–गाउँ बेच्न जाथ्यौं, बिक्री पनि हुन्थ्यो र फाइदा पनि । अब त खासै बिक्दैन । यसो रहर गरेर चिनो र कोसेलीका लागि किन्ने एकाध व्यक्ति मात्र भेटिन्छन् ।’
भेडाको ऊनबाट बनाइएका कपडा निकै बलियो हुने उनको भनाइ छ । हावापानी छेक्ने भएकाले हिमाली भेगमा बस्ने गोठाला र अरूले पनि स्थानीय भेडाकै ऊनका कपडाको प्रयोग गर्दै आएका छन् । यसरी बनाएको कपडा दशकसम्म टिक्ने गरेको मनकुमारी बताउँछिन् । ‘यसको महत्त्व हामीलाई मात्र थाहा छ, अरूलाई यसतर्फ वास्ता पनि छैन, हामीले बुझाउन पनि सकेका छैनौं,’ उनी भन्छिन्, ‘यसकारण हाम्रा मिहिनेत यसै खेर गइरहेको छ ।’
