उच्च शिक्षा रोजगारी खोज्ने होइन रोजगारी सिर्जना गर्ने हुनुपर्छ : प्रधानमन्त्री ओली

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

Higher education should create jobs and not find jobs: Prime Minister Oli

सुर्खेत — प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले अबको उच्च शिक्षा रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना हुनुपर्ने बताएका छन् ।

शुक्रबार मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले सरकारले गुणस्तरीय शिक्षालाई प्रवर्द्धन गर्ने गरी काम गरेको बताए ।

‘शिक्षा युगस्तरीय र गुणस्तरीय नभए मुलुक पछि पर्छ,’ उनले भने, ‘शिक्षा डिग्री प्राप्त गर्नु मात्र नभई जीवनलाई सही दिशा दिने हुनुपर्छ ।’  दीक्षित भएका विद्यार्थीलाई  आफ्नै देशमा नवीनतम काम गर्न पनि उनले सुझाव दिए ।

‘अपार प्राकृतिक स्रोत र सम्पदा, विविधतायुक्त सामाजिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक सन्दर्भलाई ध्यानमा राखी आफ्नो अध्ययन, अध्यापन र अनुसन्धानलाई अघि बढाउन सके मात्र विश्वविद्यालय स्थापनाको औचित्य पुष्टि हुन्छ,’ उनले भने, ‘मध्यपश्चिम विश्वविद्यालय अधिकतम विद्यार्थीको रोजाइको विश्वविद्यालय बन्दै जानेछ ।’ 

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा सबै सूचकमा पछाडि परेको पनि बताए  ।

कान्तिपुर

Link copied successfully